सबै दलमा शुद्धीकरण नभए विद्रोह हुन्छ : सांसद भण्डारी
रुपन्देही । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पुराना र नयां सबै दलहरुमा शद्धिकरण जरुरी रहेको अन्यथा विद्रोह हुने बताएका छन् । रूपन्देहीको तिलोत्तमास्थित मणिग्राममा तेस्रो औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्दै उनले सबै दलमा शुद्धिकरण आवश्यकता रहेकोमा जोड दिएका हुन् ।
‘ठूला भनिएका पुराना दलहरु र आशा गरिएका नयां दलहरु सबैमा शुद्धिकरण जरुरी छ,नेताका वरिपरि गलत मान्छे हुँदा राजनीति बिग्रिएको छ’, भण्डारीले भने, ‘दलहरुमा सामूहिक भावना भन्दा नेता विशेष हावी हुंदा सबैतिर विद्रोहको खतरा छ, विद्रोह रोक्न दलहरु शुद्धिकरण हुन जरुरी छ ।’
लोकतन्त्रको नाममा लुटतन्त्र हुंदा उद्योगी व्यवसायी र आम नागरिक निराश भएका,युवा शक्तिको विदेश पलायन भएको उल्लेख गर्दै नेता भण्डारीले युवा पलायन रोक्न तीनै तहका सरकारको ध्यान जानुपर्ने बताए । खुल्ला सीमाबाट हुने तस्करी र भन्सार छलीले नेपाली व्यवसायी मारमा परेको औंल्याउंदै उनले तस्करी र खुला सिमा नियन्त्रणमा निर्मम भएर लाग्न सरकारको ध्यानाकर्षण गराए ।
विदेशबाट आयात हुने तरकारी,फलफूल र पशुपंक्षीको क्वारेन्टाइन गर्न पनि नसक्ने सरकारले मुलुक बनाउन नसक्ने उनले तर्क गरे । विश्वका विकसित देशहरुमा जनता धेरै र कार्यकर्ता एकदमै थोरै हुने गरेको तर नेपालमा जनता ज्यादै कम र दलका कार्यकर्ता धेरै भएकाले पनि मुलुकको विकास हुन नसकेको उनको भनाई थियो ।
ऋणीलाई थाहै नदिई ८ प्रतिशतको बैंक ब्याज दर १६ प्रतिशत पु¥याइएको भन्दै सांसद भण्डारीले यस्तो गर्न नपाइने बताए । ‘ब्याज दर ८ प्रतिशत बाट १६ प्रतिशत बनाउन पाइन्न’, उनले भने, ‘बैंकहरुलाई ऋणीको घर जग्गा लिलाम गर्न दिइन्न, लिलामीविरुद्ध म आफैं सडकमा उत्रिन तयार छु ।’
कमिसनका लागि महंगो ब्याज दरमा विदेशबाट ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनाइएको तर विमानस्थल नचल्दा होटल र पर्यटन क्षेत्रमा भएको अरबौं लगानी डुब्ने जोखिममा परेको बताए ।
स्थानीय तहले राम्रो काम गरिरहेको तर प्रदेश सरकारप्रति नागरिक तहमा ठूलो विरोध रहेकाले यसबारे समीक्षा गर्नुपर्ने सांसद भण्डारीले बताए ।
नेता भण्डारीले आफूले पार्टीको महाधिवेशनमा उपसभापति पदमा जितेको भए यतिबेलासम्म तस्कर र भ्रष्टहरुलाई ठेगान लगाइसकेको हुने दावी गरे । नेता भण्डारीले सरकार बनाउन कांग्रेसको भूमिका भएपनि सरकार एकलौटी ढंगले चलेको समेत बताए ।
मेला आयोजक तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले स्वदेशी र स्थानीय उत्पादनलाई प्रोत्साहन,बजारीकरण, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवर्द्धनका लागि आयोजित मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत विभिन्न प्रकृतिका तीन सय स्टलहरू रहेका बताए । मेलामा ५ लाख दर्शक र १० करोडको आर्थिक कारोबार हुने उनले बताए ।