सुखी र सफल जीवनको आधार स्वस्थ सम्बन्ध – Nepal Press

सुखी र सफल जीवनको आधार स्वस्थ सम्बन्ध

मानिस स्वभावैले एक सामाजिक प्राणी हो । जङ्गली युगदेखि नै हाम्रा पुर्खाहरुले आफ्नो अस्तित्व जोगाउन वा बाँच्न समूहमा बस्ने, श्रम वा कामको समुचित विभाजन गर्ने, तनावलाई कम गर्न सुरक्षा र सहयोग आदानप्रदान गर्ने संस्कार अँगाले । यही संस्कार विकास हुँदै आजको यो मानव सभ्यता र समाज सम्भव भएको हो । त्यसैले हरेक संस्कारले आपसी सहयोग र अन्तरनिर्भरतालाई बुझाउन खोजेको छ, जसलाई नैतिकताको रुपमा प्रोत्साहन गरिरहेको पाउँछौं । यस अन्तरनिर्भर संसारको पहिलो आधार आत्मनिर्भरता हो । तर, आत्मनिर्भर हुनु भनेको आफूमात्रै बलियो हुनु वा एक्लै बाँच्नु पक्कै होइन । आत्मनिर्भरताबाट अन्तरनिर्भरतातर्फ बढ्न नसकी परनिर्भरतामै अल्झिरह्यौं भने हामीले खोजेको सुख र सफलता असम्भव छ । भौतिक सम्पन्नता वा सफलताले मात्र सुख प्राप्त हुँदैन, यो हामीले व्यवहारिक रुपमा पनि भोगेको र अहिले वैज्ञानिक खोजहरुले पनि पुष्टि गरिसकेको कुरा भयो । सुख आत्मिक कुरा हो र सुखी मानिसमात्रै अरुको खुशीको कारण बन्नसक्छ । सफलता अरुलाई खुशी बनाएर मात्र प्राप्त हुन्छ । किनकि हामीलाई सफल अरुले बनाउने हो । त्यसैले हामीले भोगिरहेको दुःख र असफलताको मूल कारण मानवीय सम्बन्धमा आएका समस्या हुन् । मनोवैज्ञानिकहरुको दाबीअनुसार सुखी र सफल जीवनको आधार स्वस्थ मानवीय सम्बन्ध हो ।

सम्बन्ध कति महत्त्वपूर्ण छ भन्ने कुरा हाम्रो आफ्नै जन्मले पनि सिद्ध गरेको छ । हामीले जन्मिँदा बोकेर आएको वंशाणुगत गुण र जन्मेपछिको हाम्रो पहिलो सम्बन्ध (आमाबावु वा आफूलाई स्याहार गर्नेसँगको) ले हाम्रो ‘म’ बन्ने कुराको निर्धारण गरेको हुन्छ । संसारका अपरिचित र अञ्जान कुरासँगै जीवनलाई अगाडि बढाउँदै गर्दा कसरी आफ्नो अस्तित्व जोगाउने र आफूलाई सुरक्षित महसुस गराउने भन्ने ज्ञान र सीप सिक्न जरुरी हुन्छ । यसरी हामीले हाम्रा वरिपरिहरुसँगको सम्बन्धहरुको अनुभवले आफूप्रति र आफ्नो वरिपरिको दुनियाँप्रति एउटा धारणा विकास गर्न पुगेका हुन्छौं, एउटा भेद (म र अरु) को निर्माण गर्न पुगेका हुन्छौं । आफ्नो वरिपरिको दुनियाँबाट आफ्नो आवश्यकता पूर्ति हुँदा आफू सुरक्षित महसुस गरी हाम्रो अहंले आफ्नो म र मेरोको दायरालाई ठूलो बनाउन पुग्ने हुन्छ । तर, बाल्यकालका हाम्रा सम्बन्ध (विशेषगरी परिवारसँग) मा उतारचढाव र असुरक्षित महसुस हुँदा आफ्नो सुरक्षा कवचको रुपमा म र मेरोको दायरा साँघुरो बनिदिन्छ र त्यहाँ अरुमात्र नअट्ने होइन, आफैंलाई पनि उकुसमुकुस हुने हुन्छ ।

हामीभित्रको आन्तरिक द्वन्द्व र असुरक्षाका बीच अरुसँग असली रुपमा जोडिन असमर्थ हुन्छौं, जसका कारण हामी जीवनका तनावहरुसँग पनि जुझ्न असफल हुन्छौं र हामीलाई एक्लोपन र दुःखले गाँज्दै लान्छ । वैज्ञानिक खोज तथा अनुसन्धानहरुले पुष्टि भएका छन् कि एक्लोपनले शारीरिक र मानसिक समस्याहरु निम्त्याउने गर्छ । अहिले यो सम्पूर्ण विश्व नै एक्लोपन र विच्छेदनको महामारीले ग्रस्त हुन पुगेको छ । तर, यो संसारको यथार्थलाई पनि बुझ्नु जरुरी छ कि यो संसारको भीडमा हामी सबै एक्लाएक्लै नै हौं र एक्लोपन हाम्रो मानसिकताको उपज हो । अरुसँग जोडिन नसक्नुको कारण हो (कोही किन एक्लो हुन्छ ?) । हाम्रा भौतिक, मानसिक र भावनात्मक आवश्यकता पूर्ति गर्न मात्र नभइ हाम्रो आध्यात्मिक आवश्यकता प्राप्त गर्न पनि मानवीय सम्बन्ध अनिवार्य आवश्यकता हो । यसरी बुझ्दा हाम्रो आफ्नो अस्तित्व जोगाउन मात्र होइन, आफूलाई चिन्न पनि सम्बन्ध अपरिहार्य आवश्यकता हो ।

हामीभित्रको आन्तरिक द्वन्द्व र असुरक्षाका बीच अरुसँग असली रुपमा जोडिन असमर्थ हुन्छौं, जसका कारण हामी जीवनका तनावहरुसँग पनि जुझ्न असफल हुन्छौं र हामीलाई एक्लोपन र दुःखले गाँज्दै लान्छ । वैज्ञानिक खोज तथा अनुसन्धानहरुले पुष्टि भएका छन् कि एक्लोपनले शारीरिक र मानसिक समस्याहरु निम्त्याउने गर्छ ।

यो दुनियाँ र समाज भनेको आफू स्वयंको विस्तारित रुप मात्र हो र हाम्रा सम्बन्धहरु आफ्नै जीवनको ऐना हो । किनकि हामी जे हौं नि, हामीले अरुलाई पनि त्यही व्यवहार गर्छौं । हाम्रो अहंकार सम्बन्धलाई पनि उपयोगितावादको औजारको रुपमा आफ्नो व्यक्तिगत फाइदाको लागि प्रयोग गर्नमा तत्पर रहन्छ । अरुलाई पनि आफू जस्तै बनाएर आफूलाई सुरक्षित महसुस गराउन त्यसकै प्रयत्नमा लागिरहन्छ । प्रेमको नाममा आफू मालिक बनेर अरुलाई परनिर्भर बनाउनमा खुशी मान्छ । आफूले सोचे जस्तो भएन भने आफ्नो अहंकारलाई आत्मसम्मानको नाम दिएर सम्बन्धबाट नै टाढिन पनि पछि पर्दैन । एकअर्कालाई चिन्नभन्दा पनि एकअर्कामा भुलेर रमाउन खोज्छ । उपयोगितावादमा अल्झिएको सम्बन्ध कुन बेला चुँडिने हो भर नै हुँदैन । आफ्नो अहंकारको पत्रभित्र लुकेको आफ्नो असली ‘म’ लाई चिन्न नसकेसम्म वा भनौं आफैसँगको सम्बन्धलाई बुझ्न नसकेसम्म बाहिरी दुनियाँसँग पनि सम्बन्ध गाँस्न सकिँदैन (म को खोज) ।

हाम्रो अहंकारले बनाएका संस्कारजन्य विचारका पर्खालहरुलाई भत्काएर मानसिक दूरीबाट मुक्त हुन सक्यौं भने मात्रै अरुसँग पनि जोडिन सक्छौं । यसरी जोडिन सम्भव भएपछि भौतिक दूरीको पनि केही हिसाब हुँदैन । तर, सम्बन्धलाई सँगै हुनु र नितान्त आफ्नो व्यक्तिगत खुशी र प्रगतिको नजरबाट मात्र हेर्दा वा आफ्ना आवश्यकतालाई मारेर सम्बन्धलाई टिकाउनमा लाग्दा आफ्नो मात्र होइन अरुको खुशी र प्रगतिमा पनि बाधा आउँछ, जसले सम्बन्ध नै एक बोझ बन्न पुग्छ । स्वस्थ र राम्रो सम्बन्धको मापन सँगै हुँदा र नहुँदा पनि दुबैको जीवनमा प्रगति र खुशी हुनुले मात्र गर्नसक्छ ।

हामीले हाम्रा आवश्यकताअनुसार सम्बन्धलाई जुनसुकै नाम दिए पनि ती सम्बन्धहरुको जग आपसी प्रेम र विश्वासमा अडेका हुन्छन् । आफूलाई प्रेम गर्न नसक्ने, आफूलाई विश्वास गर्न नसक्नेले अरुलाई पनि प्रेम र विश्वास गर्न सक्दैन । आफैंलाई प्रेम गर्ने र विश्वास गर्नेले मात्रै अरुलाई प्रेम र विश्वास गर्नमा मूल्य चुकाउन पनि साहस गर्न सक्छन् । तर, यो सत्यलाई बुझ्नु जरुरी छ कि अरुलाई प्रेम र विश्वास गर्दा जति घाटा छ नि त्यो भन्दा बढी घाटा नगर्दामा छ । जहाँ भय छ, त्यहाँ पवित्र प्रेम पलाउनै सक्दैन । पवित्र प्रेम भनेको एकअर्कालाई स्वतन्त्रता दिनु हो । जस्तैः गल्तीमा पनि त्यस्तै सहजता र स्नेहका साथ हार्दिकतापूर्वक स्वीकार गर्न सक्नु हो । गल्तीबाट सिक्ने अवसर र उदारता देखाउनु हो । यस्तो प्रेमको अभावमा सँगै भएर पनि एक्लोपन र खालीपनको महसुस हुने हुन्छ ।

हामीले हाम्रा आवश्यकताअनुसार सम्बन्धलाई जुनसुकै नाम दिए पनि ती सम्बन्धहरुको जग आपसी प्रेम र विश्वासमा अडेका हुन्छन् । आफूलाई प्रेम गर्न नसक्ने, आफूलाई विश्वास गर्न नसक्नेले अरुलाई पनि प्रेम र विश्वास गर्न सक्दैन । आफैंलाई प्रेम गर्ने र विश्वास गर्नेले मात्रै अरुलाई प्रेम र विश्वास गर्नमा मूल्य चुकाउन पनि साहस गर्न सक्छन् ।

स्वस्थ सम्बन्धले एकअर्कालाई अझै परिस्कृत र परिपक्व बन्न एउटा आधार उपलब्ध गराउँछ । एकअर्कामा भएका र आएका मतभेद र द्वन्द्वको उचित व्यवस्थापन गर्ने ऊर्जा प्रदान गर्छ । अरुको महत्त्व र भावनालाई कदर गर्न सिकाउँछ । मानिसहरु धेरै मूल्यवान छन् र मानिसहरुलाई पशु वा यन्त्र जसरी व्यवहार गर्न मिल्दैन न तिनीहरुलाई व्यक्तिगत उद्देश्य प्राप्त गर्न गोटी बनाउन हुन्छ भन्ने सोचको विकास गराउँछ । लिनु दिनुभन्दा माथि उठेर आफू हुनुमा आनन्दित हुन सिकाउँछ । आफ्नो अहंकारलाई कुनै आग्रह पूर्वाग्रह नराखी साक्षीभावले हेर्न सकेर अरुको अहंकारलाई पनि स्वीकार गर्न सिकाउँछ । धेरैले मतभेदरहित सम्बन्धलाई स्वस्थ र राम्रो सम्बन्धको रुपमा कल्पना गर्छन् । तर, स्वस्थ र राम्रो सम्बन्ध भनेको एकअर्काको अहंकारले खडा गरेका विविधताभित्रबाट पनि एकता खोज्ने अवसर हो, जुन आपसी प्रेम र विश्वासले मात्र साकार हुन्छ ।

अन्तमा, आफ्नो जीवनमा खुशी र प्रगति पाइरहेको छैन भने एकचोटि आफ्नो व्यक्तिगत र सामाजिक सम्बन्धहरुलाई नियाल्न समय निकालौं । कतै हामी आफ्नै अहंकारलाई पोस्न सम्बन्धलाई पनि उपयोग त गरिरहेका छैनौं ? उदाहरणका रुपमा आफ्नो परिवारमा माथि भनिए जस्तो प्रेम र विश्वासको अभाव छ भने त्यसको असर अब उसको व्यवसायिक र सामाजिक सम्बन्धहरुमा पनि पर्नसक्ने हुन्छ । व्यवसाय सफल हुनलाई साझेदारबीच र कर्मचारीबीच पारस्परिक प्रेम र विश्वासको वातावरण हुनु जरुरी हुन्छ, जसले मात्रै बजारबाट उसले प्रेम र विश्वास कमाउन सफल हुन्छ । तर, आफ्नो व्यक्तिगत कमजोरीले क्षणिक फाइदाको पछि लाग्दा त्यसको नकारात्मक असर सम्पूर्ण समाजमा पर्ने हुन्छ । आफ्नो ‘असली म’सँग सम्बन्ध गाँस्न नसकेर अशान्त बनेको मन नै आज समाजमा फैलिँदो घृणा र अविश्वासको कारण हो । सम्बन्धलाई कुनै आदर्शकृत गर्न खोजेको होइन । तर, आजको यस संसारमा धनसम्पत्ति होइन, मानवीय सम्बन्ध कमाउन सकिएन भने दुःख पाउँछौं । यो चाँहि पक्का हो । कोरोना महामारीमा हामीले देखेको र भोगेको हौंला, मानवीय सम्बन्धभन्दा धनसम्पत्तिलाई प्राथमिकतामा राख्नेहरु धनसम्पत्ति भएर पनि आफ्नो मान्छे नभएर दुःख पाएको । अहिले हामीले मनाइसकेको दशैँतिहारको पर्व पनि सम्बन्धको उत्सव हो, जसले अन्तरनिर्भरतालाई प्रोत्साहन गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *