मध्य पहाडी लोकमार्ग अभियानको तयारीमा जुट्यो डोटी एमाले – Nepal Press

मध्य पहाडी लोकमार्ग अभियानको तयारीमा जुट्यो डोटी एमाले

डोटी । मंसिर १४ गतेदेखि सञ्चालन गर्ने झुलाघाट-चिवा भन्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ को लागि नेकपा एमाले डोटी तयारीमा जुटेको छ ।

जिल्ला कमिटीको बैठकले एक मूल र ११ वटा उपसमिति गठन गरेको छ । पार्टीका जिल्ला इन्चार्ज लीला भण्डारीको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन भएको एमाले डोटीका सचिव शेरबहादुर मल्लले जानकारी दिए ।

‘जिल्ला इन्चार्ज संयोजक रहने गरी मूल व्यवस्थापन समिति गठन भएको छ’, मल्लले भने, ‘समितिमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय संगठनका केन्द्रीय पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटीका अध्यक्षहरु र पार्टीका पालिका कमिटी अध्यक्षहरु सदस्य रहेका छन् ।’

यस्तै अभियान व्यवस्थापनका लागि ११ वटा उपसमिति गठन गरिएको मल्लले बताए । जसअन्तर्गत जिल्ला कमिटी उपाध्यक्ष मञ्जु मलासीको संयोजकत्वमा आर्थिक व्यवस्थापन, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सिद्धराज जोशीको संयोजकत्वमा आवास व्यवस्थापन, जिल्ला अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्रबहादुर मल्लको नेतृत्वमा जनपरिचालन, जिल्ला कमिटी सदस्य झलक पालीको संयोजकत्वमा प्रचारप्रसार र जिल्ला कमिटी उपसचिव कृष्णबहादुर खड्काको संयोजकत्वमा यातायात व्यवस्थापन उससमिति गठन गरिएको छ ।

पार्टी जिल्ला कमिटी सदस्य डम्मरसिं डौडीको संयोजकत्वमा स्वयंसेवक परिचालन, प्रदेश समिति सदस्य भरत बोहराको संयोजकत्वमा मञ्च व्यवस्थापन, जिल्ला कमिटी सचिव मल्लको नेतृत्वमा खाद्य व्यवस्थापन, उपसचिव तेजबहादुर डुम्रेलको नेतृत्वमा अतिथि सत्कार, प्रदेश कमिटी सदस्य पदमराज भट्टको संयोजकत्वमा स्वागत द्वार व्यवस्थापन र प्रदेश कमिटी सदस्य मदन भण्डारीको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको सचिव मल्लले बताए ।

अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लाका ९ वटै पालिकाका कमिटीलाई मंसिर ९ गतेभित्र बैठक बसी आवश्यक योजना बनाउनसमेत बैठकले निर्देशन दिएको उनलले जानकारी दिए ।

बैतडीको झुलाघाटबाट सुरु हुने अभियानअन्तर्गत मंंसिर १५ गते डोटीमा आमसभा हुने एमाले डोटीका अध्यक्ष चक्र मल्लले बताए । आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

जिल्ला अधिवेशन सर्‍यो

अभियानले गर्दा एमाले डोटी जिल्ला अधिवेशन ३ महिना पर धकेलिएको छ । नेताहरु सबै अभियानमा व्यस्त हुने भएका कारण अधिवेशनलाई पर सार्नु परेको सचिव मल्लले बताए ।

यसअघि मंसिर २१ र २२ गते तय भएको अधिवेशन अब चैत २ र ३ गते गर्ने निर्णय भएको उनले जानकारी दिए ।

पहाडी क्षेत्रको विकासका समस्याहरूको पहिचान गर्दै पहाडको समृद्धिलाई अगाडि बढाउने, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने, कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको सन्दर्भमा पार्टी स्थापनायता गरेका कामहरूका बारेमा नागरिकलाई सुसूचित गर्ने, समाजमा देखिएको निराशा र असन्तुष्टि चिर्ने उद्देश्यले मध्य पहाडी लोकमार्ग अभियान ३ सातासम्म चल्ने एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर