‘फ्र्याक्चर्ड’ हात लिएर विश्वकप खेल्न आएका हेड, जसले अस्ट्रेलियालाई उपाधि जिताए
काठमाडौं। एकदिवशीय विश्वकपको लिग चरणअन्तर्गत अस्ट्रेलिया आफ्नो छैटौँ खेलमा न्युजिल्यान्डविरुद्ध उत्रँदै थियो, अक्टोबर २८ तारिखमा। ट्राभिस हेड बायाँ हातमा ब्यान्डेज गरेर क्रिजमा उत्रिएका थिए । विश्वकपमा उनको त्यो पहिलो खेल थियो। अस्ट्रेलियाले खेलका सुरुका ५ खेलमा ट्राभिस हेड प्लेइङ सेटमा थिएनन्। यो न अस्ट्रेलियाको इच्छा थियो नत हेड नै त्यो चाहन्थे।
दुई देशबीच भएको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत सेप्टेम्बर १६ तारिखमा दक्षिण अफ्रिकाविरुद्ध उत्रने क्रममा हेड नमज्जाले घाइते भएका थिए।
दक्षिण अफ्रिकाका युवा पेसर जेराल्ड कोएट्जीले गरेको बलिङ उनको बायाँ हातमा लाग्यो। दुखाई सहन नसकेर उनी थचक्कै बसे।
हेड केवल ९ रनमा मात्र खेल्दै थिएन। दुखाइका बाबजुद उनले क्रिज छाड्न मानेनन्। तर तीन बलपछि उनले निर्णय लिनै पर्योव, रिटायर्ड हट भए। यो चोट केवल एक खेलका लागि थिएन। सामुन्ने आइपुगेको विश्वकपमा उनको सहभागिता नै अन्योलपूर्ण बनेको थियो।
लिग चरणका सुरुका दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हार ब्यहोरेपछि अस्ट्रेलियाले हेडको अनुहार हेर्न थालिसकेको थियो। हेड प्रारम्भिक ब्याट्सम्यान थिए र उनको महत्त्वपूर्ण टोलीले राम्रोसँग बुझेको थियो।
न्युजिल्यान्डसँग खेल्नुअघि अस्ट्रेलियाले श्रीलङ्का, पाकिस्तान र नेदरल्यान्ड्सविरुद्ध उत्रिएर लगातार तीन खेल जितेको थियो। लगातार उच्च प्रदर्शन गरिरहेको न्युजिल्यान्डसँग अस्ट्रेलियाको वास्तविक परीक्षण हुनेवाला थियो।
यस पटक निको हुने क्रममै रहेका हेडमाथि अस्ट्रेलियाले दाउ लगायो। टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको अस्ट्रेलियाले डेभिड वार्नर र हेडलाई ओपनिङ ब्याटिङमा पठायो।
यो जोडीले वास्तविक अस्ट्रेलियाको अनुहार देखाइ दियो र पछिल्ला प्रदर्शनहरूलाई समेत बिर्साई दिए। उनीहरूले पहिलो विकेटका लागि एक सय ७५ रनको साझेदारी गरे, अस्ट्रेलियाले ३ सय ८९ रनको विशाल लक्ष्य दियो। विश्वकपको आफ्नो पहिलो खेलमै हेडले शतकीय पाली खेले।
न्युजिल्यान्डका होनाहार बलरहरुविरुद्ध उनले ६७ बल खेल्दै ७ छक्का र १० चौका प्रहार गरेका थिए। न्युजिल्यान्डले पनि यो खेलमा ३ सय ८३ रनसम्म जोडेको थियो। हेड प्लेयर अफ दी म्याच घोषित भए। त्यसपछि लिग चरणमा बाँकी रहेका तीन खेलमा हेडले खासै उल्लेख्य प्रदर्शन गर्न सकेनन् तर अस्ट्रेलियाले सबै खेल जित्यो।
सेमिफाइनलमा दक्षिण अफ्रिकासँग भिड्नुअघि हेडले लिगको अन्तिम खेलमा बंगलादेशविरुद्ध केवल १० रन बनाएका थिए। तर नकआउट चरणमा उनी खरो उत्रिए।
फाइनल पुग्नका लागि भएको भिडन्तमा उनले दक्षिण अफ्रिकाविरुद्ध ६२ रन जोडे। २ सय १३ रनको लक्ष्य पछ्याउनेक्रममा हेडले खेलेको यो पाली फाइनल पुग्न महत्त्वपूर्ण रहेको थियो। तर उनी त्यत्तिमै सीमित भएनन्। फाइनलमा एक लाखभन्दा बढी भारतीय घरेलु दर्शकलाई स्तब्ध बनाए।
भारतले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याउनेक्रममा हेडले जीवनभर सम्झिरहने पाली खेले। हेडले एक्लै एक सय ३७ रन जोडे। त्यसमा पनि ४७ रनमा तीन विकेट गुमाएर भारतीय बलरले बनाएको दबदबाबाट उनी फुत्कँदै अस्ट्रेलियालाई छैटौँ पटक विश्व विजेता बनाउन सफल भए।
उनले खेलभर प्रहार गरेका ४ छक्का र १५ चौकामध्ये हरेकलाई भारतीय समर्थकले वर्षौँसम्म भुल्ने छैनन्। २९ वर्षीय हेड सन् २०१६ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन्।
त्यसको दुई वर्षअघि सेन वार्नले गरेको एउटा ट्विट सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ। एक वर्षअघि दिवंगत भएका महान् स्पीनर वार्नले त्यतिबेला लेखेका थिए, ‘क्रिकेटरका रूपमा म हेडको ठुलो फ्यान हुँ। मलाई विश्वास छ की भविष्यमा सबै फर्म्याटमा उनी अस्ट्रेलियाको स्टार हुनेछन्।‘
अस्ट्रेलियाको सिनियर राष्ट्रिय टोलीमा डेब्यु नगर्दै वार्नले हेडमाथि त्यस्तो के सम्भावना देखेका थिए, उल्लेख भने गरेका थिएनन्। त्यसको दुई वर्षअघि अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलसम्म पुग्दा हेडले महत्त्वपूर्ण पाली खेलेका थिए।
एडिलेडमा जन्मिएका हेडले विश्वकपको फाइनलमा शानदार पाली खेलेपछि दश लाख वर्षमा पनि यस्तो दिन आउँछ भनेर कल्पना गर्न नसकिने प्रतिक्रिया दिएका थिए। विश्वकप र टेस्ट च्याम्पियनसिपको फाइनल दुवैमा आफू प्लेयर अफ दी म्याच भएको र अस्ट्रेलियाले उपाधि जितेको स्मरण गर्दै थिए।
हेडले ४२ टेस्टमा ६ शतक र १६ अर्धशतक तथा ६४ एकदिवशीय अन्तर्राष्ट्रियमा ५ शतक र १६ अर्धशतक प्रहार गरेका छन्।