सद्भाव र एकताको सन्देश छोडेर क्यालेण्डर बदलेका पर्वहरु
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाएसँगै यस वर्षका मूल पर्वहरु सकिएका छन् । हरेक वर्ष झैं यस वर्ष पनि आआफ्नो समुदाय, समूह तथा धार्मिक परिधिभित्रका मानिसहरुले चाडपर्व धुमधामले मनाए, मनाउँदै आएका छन् ।
यस वर्षको लागि सकिएका हामी नेपालीका मूल पर्वहरुले एकताका केही पदचाप भने छाडेर गए । जसलाई अझ केही उदाहरणले स्पष्ट पार्न सकिन्छ ।
चितवनको नारायणी किनारमा २०२२ साल अघिदेखि छठ पर्व मनाउन थालिएको थियो । त्यो समयदेखि छठ मान्दै आएका राजकुमार गुप्ता जस्ता मानिसलाई थाहा छ, जम्मा पाँचसात परिवारका मानिसमात्रै छठ पर्व मनाउँथे ।
अहिले नारायणी नदीमा आएर छठ पर्व मनाउनेको संख्या करिब ३० हजार पुग्यो । अझ रोचक के भने ती ३० हजारमध्ये ४५ प्रतिशत मानिस पहाडी मूलका भए । अहिले को तराईका, को पहाडका नारायणी किनारमा एकै लहरमा उभिएर उदाउँदो र अस्ताउँदो सूर्यलाई जल चढाउँछन्, पर्वको सद्भाव बाँड्छन् । अनि आफ्नो आस्था प्रकट गर्छन् ।
केही दिनअघि तिहार र दाजुबहिनीको प्रगाढ सम्बन्धको प्रतीक भाइटीका पनि सकियो । करिब १०-१५ वर्षअघिसम्म चितवन, दाङ, नेपालगञ्ज, सुनसरीलगायतका पूर्वदेखि पश्चिमका क्षेत्रसम्म फैलिएका थारुहरुलाई तिहारको कुनै फरक अनुभूति हुन्थेन । किनकि यही समय अर्थात् लक्ष्मीपूजादेखि उनीहरु सोहराई मनाउँथे । अहिले सोहराई तिहार भइसक्यो । अझ चितवनलगायत तराईका केही जिल्लामा त राप्ती दुनको समिति बनेर बस्ती विकास सुरु हुँदा थारुहरुले विद्रोह नै गरेका थिए । उनीहरुले पहाडियाले थारुहरुको पहिचान खतरामा पार्छन् भनेर विद्रोह गरेका थिए ।
२०१५ सालदेखि सुरु भएको त्यो बसोबासको विस्तार अब संस्कृति विस्तारमा पुगेर मिसिएको छ । अहिले चितवनलगायत स्थानका थारुहरु सोहराईसँगै तिहार मनाउँछन् । थारु कल्याणकारी सभाका पूर्वअध्यक्ष चन्द्रकुमार थारुले थारुहरुले भाइटीका लगाउने चलन नभए पनि अहिले सोही समयमा पर्ने सोहराई तिहारमै मिसिएको बताए । अहिले थारु समुदायका मानिस तिहारमा टीका लगाउँछन् । केही सोहराई र केही तिहारको चलन सबैजसो थारु परिवारमा मिसिएको छ ।
अर्को एउटा उदाहरण पनि हेरौं । नेपालगञ्जमा त केही वर्षअघि धार्मिक सद्भावका लागि अन्तरधार्मिक सञ्जाल नै गठन गरिएको छ । एकापसमा सद्भाव बाँड्न हरेक वर्ष चाडपर्वमा समाजका अगुवाहरु नै अन्तरधार्मिक पर्व मनाउँछन् । एकताको सन्देश दिन्छन् । तीन वर्षअघिको तिहारमा तत्कालीन शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको घरबाट युवाहरुले भैलो खेल्न थालेका थिए । मन्त्रीले पनि उनीहरुसँगै देउसी खेलेका थिए ।
सद्भाव देखाउनमात्रै होइन नेपालगञ्जका धेरै मुस्लिम परिवारहरुले दसैँतिहार जस्ता पर्व हिन्दू जस्तै गरी मनाउँदै आएका छन् । नेपालगञ्जकै व्यवसायी अब्दुल वाहिद मन्सुरीले दुई दशक अघिदेखि दसैँतिहार मनाउँदै आएका छन् । उनले हरेक वर्ष दसैँतिहार मनाएको तस्वीर सामाजिक सञ्जालमा समेत पोष्ट गर्ने गरेका छन् ।
पर्वको मूल सन्देश सद्भाव हो । आफ्नोपन फैलाउने र खुशी बाँड्ने अवसर हो पर्व । हुन त समाज परिवर्तनशील छ । ढुंगे युगबाट सुरु भएको समाज विकासको प्रक्रिया आजसम्म निरन्तर छ । समयअनुसार विभिन्न माध्यमबाट समाज परिवर्तनका विशेषता प्रकट हुने गर्छन् ।
नेपाली समाज त बल्ल आधुनिक विकासको चरणमा प्रवेश गर्दैछ । हामी अझै पनि आधुनिक समाज परिवर्तनको संक्रमणमा नै छौं । त्यसैले बेलाबेला धर्म, समुदाय र धार्मिक एकतामा केही हलचल पैदा भइरहन्छन् ।
यद्यपि, हामी र हाम्रा सामाजिक परिस्थितिले परसांस्कृतिक ग्रहण सर्वव्यापी बनाउँदै लगेको छ । यसै पनि विश्व साँघुरो भइसक्यो । हरेकजसो देशमा अर्को भूगोल, धर्म, संस्कृति बोकेका मानिसहरु पुगिसकेका छन् । राष्ट्रियतालाई देशको सीमा वा परिधिले बाँध्ला । तर, संस्कृति प्रसारको यात्रालाई कुनै पासपोर्ट वा नियमगत वैधानिकताले बाँध्दैन । यो त सीमाविहीन छ । जहाँ मानिसको अपनत्वको भाव र सौहार्दले बाँधिएको मनोभाव प्रकट हुन्छ ।
समाजशास्त्रले भन्छ, धर्म स्वयंलाई नैतिकतामा बाँध्ने एउटा सामाजिक संस्था हो । जसभित्र प्रथाजन्य क्रियाकलाप र मान्यताजन्य विश्वासका अवयव छन् । त्यसैले हाम्रा पर्वहरुले हरेक पटक आफ्नै सांस्कृतिक माध्यमबाट बताउने गरेका छन्, धर्म वा सांस्कृतिक कसैको एकल स्वामित्वको चिज होइन । यो त भूगोलको दूरदूरसम्म फैलिने एकताको डोरी हो ।
आत्माबाटै नजिक मानिसलाई एकअर्काको उत्सव मनाउन फरक फरक पहिचानका नाममा बाँधिएका धार्मिक डोरीले छेक्न सक्दैन । बरु यसले थप कसिलो बनाउन सक्छ । त्यसैले हाम्रा पर्वहरुले अघिल्ला वर्षहरुमा झैं सामाजिक एकता, अपनत्व, स्नेह र सौहार्दको पदचाप छाडेर क्यालेण्डर बदलेका छन् ।