‘अहिले सुन्ने र घोक्ने होइन, देखिने र प्रयोग गर्न हुने गणित चाहिएको छ’
नेपाल गणित समाजका केन्द्रीय सदस्य डा. काफ्ले भन्छन्- विद्यार्थीले विषयअनुसारको गणित रोज्न पाउने गरी पाठ्यक्रम परिमार्जन गर्नुपर्छ
काठमाडौं । गणित विषयमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षक अभाव हुन थालेको छ । के कारणले गणित पढाउने शिक्षक कम भए ? गणित विषय पढ्न विद्यार्थीहरु किन आकर्षित छैनन् ?
यसको जवाफ पाउन सरकारले ११ र १२ कक्षाको पाठ्यक्रम प्रारुप तयार गरेको छ । तर, यसको कार्यान्वयनमा भएको समस्याबारे नेपाल गणित समाजका केन्द्रीय सदस्य तथा गणित केन्द्रीय विभागका उपप्राध्यापक डा.जीवन काफ्लेसँग नेपाल प्रेसकर्मी राजाराम न्यौपानेले गरेको कुराकानीः
– गणितमा विद्यार्थी किन आकर्षित छैनन् ? गणितविना शिक्षा पूर्ण हुन्छ र ?
गणित विषय पढ्ने विद्यार्थी अभाव हुनुको मूल कारण हाम्रो पाठ्यक्रम प्रारुप र यसको कार्यान्वयनमा भएको समस्या हो । साथै हाम्रो शिक्षण विधि पनि यसको जड हो । राज्यले गणितमैत्री पाठ्यक्रम निर्माणमा जोड दिनुपर्ने हो । तर, त्यस्तो देखिँदैन ।
– प्रारूपमा के छ समस्या ?
विगतमा राज्यले गणित विषयलाई ओझेलमा पार्ने गरी माध्यमिक तह ९ र ११ कक्षामा १२० को पाठ्यक्रम लागू गरेपछि गणित प्रेमीहरुको सशक्त अभियान तथा दबाबका कारण कक्षा ११ र १२ को प्रारूपमा गणित विषयलाई सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको सट्टामा राखेर केही हदसम्म समाधान निकाले पनि अझ यस प्रारूपलाई परिमार्जन गर्नु आवश्यक छ ।
– कस्तो परिमार्जन गर्ने, किन गर्ने ?
सबै विषय पढ्ने विद्यार्थीहरुलाई एउटै गणित लाद्नु आफैंमा राम्रो कुरा होइन । त्यसैले विद्यार्थीले रोज्ने विषयअनुसारको गणित व्यवस्था गर्नुपर्ने देखिन्छ ।
यसका लागि गणित विषयभित्र कम्तीमा तीन वटा बास्केट बनाउनुपर्छ । पहिलो गणित विज्ञान सङ्कायका विद्यार्थीहरूका लागि, दोस्रो व्यवस्थापन र तेस्रो मानविकी तथा अन्य सङ्कायका विद्यार्थीहरूले पढ्ने व्यवस्था गरेर आफ्नो विषयअनुसारको गणित विद्यार्थीलाई रोज्न दिन सकियो भने गणितप्रति विद्यार्थीको आकर्षण बढ्छ । यसले विद्यार्थीले छनोट गरेका मूल विषयहरूलाई समेत सहयोगी भूमिका खेल्छ ।
आजको समाजले सुन्ने र घोक्ने गणित होइन, सुन्ने, देख्ने र प्रयोग गर्ने गणित चाहेको छ । यसरी विषयअनुसार विद्यार्थीहरूले फरक फरक प्रकृतिको गणित विषय छान्ने अवसर पाएमा उनीहरूलाई भोलि आफ्नो कार्यक्षेत्रमा गएर काम गर्ने सिलसिलामा समेत गणित उपयोगी हुनेछ । त्यसैले गणित विषयलाई व्यवहारिक बनाउन विद्यमान पाठ्यक्रम प्रारूप परिमार्जन गर्नु अपरिहार्य छ ।
– पाठ्यक्रमले गणितलाई कसरी असहज बनाइरहेको छ ?
पहिलो कुरा, पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्दा सम्बन्धित विषय र क्षेत्रका विज्ञहरूलाई सहभागी गराउनु आवश्यक छ । विद्यार्थीको सामर्थ्य, भविष्य, रुचि तथा समकालीन विश्वका विभिन्न देशहरूमा भएका सफल प्रयोग र प्रचलनमा ध्यान दिइनुपर्छ ।
यस सन्दर्भमा नेपालमा गणित विषयको मात्रै होइन अन्य विषयमा समेत समस्या छ । विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रम तथा पाठ्यपुस्तकहरू कार्यशालाबाट बन्नुपर्नेमा कार्यदलबाट बन्नु आफैंमा विडम्बना हो ।
अर्को कुरा, पाठ्यक्रम कार्यान्वयनमा समस्या छ । जस्तो कि विद्यालय तहमा अहिले पनि पूर्णाङ्कको आन्तरिक मूल्याङ्कन छ । क्रियाकलाप तथा परियोजना कार्यका माध्यमबाट गणितलाई रसिलो, सरल, सहज र जीवनोपयोगी बनाउने मूल मर्मका साथ ल्याइएको आन्तरिक मूल्याङ्कन विधिको मर्मलाई बेवास्ता गरी विद्यालयहरूले आन्तरिक मूल्याङ्कनलाई सही ढङ्गले कार्यान्वयन गरेका छैनन् ।
साथै राज्यका सम्बन्धित निकायले प्रभावकारी रूपमा अनुगमन नगर्दा यसको प्रभावकारिता नगन्य देखिन्छ । कतिपय विद्यालयहरूले त विनामूल्याङ्कन अङ्क दिने गरेकोसमेत पाइन्छ । यस्ता कार्यलाई निरुत्साहन गर्न बाह्य मूल्याङ्कनको समेत व्यवस्था गरी राज्यले कडाइका साथ अनुगमन गर्नु आवश्यक छ ।
– गणित विषयलाई लोकप्रिय बनाउन गणित समाजले के के गरिरहेको छ ?
गणित विषयलाई लोकप्रिय बनाउन शिक्षकहरूको क्षमता अभिवृद्धि गराउनु पहिलो आवश्यकता ठानेर नेपाल गणित समाजले काम गरिरहेको छ ।
शिक्षक तथा विद्यार्थीहरूको परियोजना कार्य गर्ने, क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन, शिक्षण सिकाइ र अनुसन्धानलाई जोड्ने गरी विभिन्न सम्मेलन, कार्यशाला गोष्ठी, तालिम तथा अन्तरक्रिया कार्यक्रम भइरहेको छ ।
– यति गर्दा पनि गणित शिक्षण सिकाइ किन प्रभावकारी हुन नसकेको हो र ?
हामीले सञ्चालन गरेका कार्यक्रमहरूले आजको भोलि नै गुणात्मकता अभिवृद्धि हुन्छ भन्ने होइन । यो त एउटा दीर्घकालीन योजना हो । यस्ता तालिमले विस्तारै शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै लैजान्छ ।
हाम्रा कार्यक्रमहरूले गर्दा केही हदसम्म भए पनि शिक्षकहरूमा शिक्षण कौशल अभिवृद्धि भएको छ । फलस्वरुप विद्यार्थीहरुको नतिजामा समेत केही परिवर्तन देखिन थालेका छन् ।
– रोजगारीको क्षेत्रमा गणितको उपयोगिता कत्तिको छ ?
उच्च शिक्षाका क्षेत्रमा मात्र होइन, रोजगारीका क्षेत्रको उपयोग गर्ने अवसरबाट पनि प्रस्तावित पाठ्यक्रमको प्रारूपले विद्यार्थीलाई वञ्चित गर्ने स्थिति सृजना भएको छ ।
जागिरका लागि विभिन्न पदमा परीक्षा दिँदा गणित र आईक्यू विधा समावेश गरिने तर ११ र १२ कक्षाको पाठ्यक्रमको प्रारूपमा गणितलाई महत्त्व नदिने विरोधाभासपूर्ण कार्य भएको छ ।
– गणितको कारणले एसईईमा धेरै फेल वा डी ग्रेड आइरहेको भन्ने छ नि ?
फेल भयो भन्दैमा कहाँ विषय हटाउन पाइन्छ र ! बरु गणितलाई कसरी सरल, सहज र सबैको लोकप्रिय बनाउने भन्ने बारेमा पो पहल गर्नुपर्छ ।
गणित तथा विज्ञान विषयको धरातल अतिशय दुर्बल हुने गरी पाठ्यक्रमको प्रारूप तयार गर्नुको पछाडि सम्बद्ध पक्षले विज्ञान प्रविधि जस्तो विधा पढ्न सकेनन्, रुचि भएन, उत्तीर्ण प्रतिशत ज्यादै कम भयो भन्ने असङ्गत तर्क अघि सार्ने गरेको छ ।
– नेपाल गणित समाजका आगामी कार्यक्रम के के छन् ?
राज्यले गर्नुपर्ने काम हामीले गरिरहेका छौं । देशमा शिक्षाको अवस्था कस्तो छ र कुन विषयमा सुधार गर्नुपर्ने हो भनेर राज्यले खोज्नुपर्ने हो । तर, गणित विषयमा हामीले राज्यले गर्ने काम गरिरहेका छौं ।
हामी पाठ्यक्रम, पाठ्यपुस्तक तथा परीक्षा प्रणालीका विषयमा पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परीक्षा बोर्डसँग छलफल गर्नेर्छौं । आवश्यकताअनुसार शिक्षामन्त्री र प्रधानमन्त्रीलाई पनि यी विषयमा ध्यानाकर्षण गराई कार्यान्वयन गर्न पहल गर्नेछौं ।
केही वर्ष पहिले ११ र १२ कक्षाबाट गणित विषय हटाउने भनेर सरकार लागेको थियो । हामीले त्यसको विरोध गर्यौं । हाम्रो विरोधका कारणले राज्यले गणित हटाउन सकेन । अझै गणित विषय कसरी सशक्त बनाउने भनेर हामी लाग्नेछौं ।
आशा छ, सरकारले गणितप्रेमी विद्यार्थी, शिक्षक तथा अभिभावकहरूका भावनाअनुसार पाठ्यक्रम प्रारूपलाई परिमार्जन गर्नमा सकारात्मक कदम चाल्नेछ ।
❤️❤️❤️