टीमका लागि खेल्ने रोहित शर्मा, शतकका लागि मरिमेट्ने विराट कोहली
विश्वकपमा कोहलीको ‘स्वार्थी ब्याटिङ’ का ३ दृष्टान्त
काठमाडौं । अहिलेको पुस्ताका सर्वोत्कृष्ट ब्याट्सम्यानका रुपमा चिनिन्छन् भारतका विराट कोहली । तर, उनीमाथि एउटा गम्भीर आरोप के छ भने उनी टीमको जीतका लागि भन्दा व्यक्तिगत कीर्तिमानका लागि मरिहत्ते गर्ने गर्छन् ।
हालै भारतमा सम्पन्न भएको एक दिवसीय विश्वकपमा कोहलीको व्यक्तिगत प्रदर्शन उत्कृष्ट रह्यो । उनले कुनै पनि विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाए । साथै आफ्नै देशका हस्ती सचिन तेन्दुलकरको नाममा रहेको एक दिवसीय क्रिकेटमा सर्वाधिक शतकको कीर्तिमान तोड्न पनि विराट सफल भए । तर, उनले भारतलाई विश्वकप जिताउन सकेनन् ।
यो विश्वकपमा पनि कोहलीले उही आरोप झेल्नुपरेको छ कि उनको ध्याउन्न टीमलाई जिताउनेभन्दा शतक बनाउनेमा बढी केन्द्रित थियो । कोहलीले ११ म्याच खेल्दा ३ वटा शतक र ६ वटा अर्धशतक बनाएका थिए, जुन आफैंमा गजबको आँकडा हो । कोहलीले ९५ भन्दा बढीको औसतमा रन बनाए, जुन एक दिवसीयमा एकदमै दुर्लभ मानिन्छ । यति हुँदा पनि उनको ब्याटिङमाथि धेरै दिग्गजहरुले प्रश्न उठाइरहेका छन् । यसको कारण हो, उनले मैदानमा देखाएको स्वार्थी प्रवृत्ति ।
भारतका हरेक म्याचमा कोहली व्यक्तिगत शतकका लागि खेलिरहेका थिए । केही म्याचलाई फर्केर हेरौंः
भारतविरुद्ध बंगलादेश
विश्वकपमा भारतको यो चौथो खेल थियो । यसअघिका तीन खेल लगातार जिते पनि भारतले सेमिफाइनलमा स्थान बनाइसकेको थिएन । बंगलादेश भने लगातार हारेर दबाबमा थियो ।
खेलमा पहिलो ब्याटिङ गरेको बंगलादेशले २५६ रनको स्कोर खडा गर्यो । दोस्रो ब्याटिङमा भारतले सहजै लक्ष्य हासिल गर्यो । भारतका लागि विरोट कोहलीले अविजित शतक बनाएका थिए ।
भारतले १७८ रन बनाउँदा दोस्रो विकेट गुमाएपछि केएल राहुल क्रिजमा आएका थिए । त्यसबेला ५६ रन बनाएर कोहली खेलिरहेका थिए । भारतलाई जीतका लागि ७९ रनमात्रै चाहिएको थियो भने कोहली शतकबाट ४४ रन टाढा थिए । भारतको जीत लगभग निश्चित देखिँदा कोहलीको ध्यान व्यक्तिगत शतकमा थियो ।
खेलको ३७औं ओभरमा केएल राहुलले लगातार छक्का र चौका प्रहार गरेपछि कोहली चिन्तामा परे । उनले शतक हान्न नभ्याउने जस्तो भयो । भारतलाई जीतका लागि अब ३४ रनमात्रै चाहिएको थियो र कोहली ७० रन बनाएर खेलिरहेका थिए । कोहलीले शतक बनाउन सक्ने अवस्था देखिएको थिएन । तर, त्यसपछि स्ट्राइक फार्मिङ गर्न थाले । अर्थात्, सकेसम्म धेरै स्ट्राइक आफूले लिने र अर्को ब्याट्सम्यानलाई रन बनाउन रोक्ने रणनीति ।
केएलले पनि कोहलीलाई शतक बनाउन सहयोग गरे । उनले सकेसम्म कोहलीलाई स्ट्राइक दिए । उनीहरुको चाला देखेर स्टेडियममा उपस्थित र टेलिभिजनमा लाइभ हेर्ने दर्शकहरु पनि चकित परेका थिए । हो, भारतको जीत निश्चित भइसकेको थियो । तर, विश्वकपको समूह चरणमा रनरेटको पनि महत्व हुन्छ । भारतले जति छिटो जीत हासिल गर्यो, उसको रनरेट त्यति नै राम्रो हुन्थ्यो । तर, कोहलीले आफ्नो शतकका खातिर रनरेटलाई दाउमा राखे । ४१.३ ओभरमा छक्का हान्दै शतक पूरा गर्न सफल पनि भए ।
भारतविरुद्ध न्युजिल्यान्ड
बंगलादेशलगत्तै भारतको म्याच थियो, न्युजिल्यान्डसँग । यो खेलमा पनि कोहलीको शतक मोह राम्रैसँग छचल्कियो । यद्यपि, यसपालि उनी चुके ।
न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै भारतलाई २७३ रनको लक्ष्य दिएको थियो । ब्याटिङमैत्री पिचमा यो लक्ष्य भारतका लागि ठूलो भएन । कोहलीले ९५ रन बनाउँदै टीमलाई जीतको बाटोमा डोर्याएका थिए । तर, उनी शतक हान्न नपाउँदा निकै चुक्चुकाए ।
कोहलीले यहाँ पनि आफ्नो स्वार्थी प्रवृत्ति देखाएका थिए । एउटा दृश्य सामाजिक सञ्जालमा पनि भाइरल भएको थियो । दोस्रो इनिङको ४२औं ओभरमा कोहलीका साथ रवीन्द्र जडेजा क्रिजमा थिए । जडेजा आक्रामक मुडमा देखिन्थे भने कोहली शतकको ध्याउन्नमा । जीतका लागि ३५ रन बाँकी छँदा कोहली शतकका लागि २५ रनले टाढा थिए । भारतसँग ५ विकेट हातमा थियो । भारत बलियो अवस्थामा भए पनि जीत निश्चित भइसकेको थिएन ।
४२.१ ओभरमा जडेडाले लेगतिर आएको बललाई फाइन लेगतिर फ्लिक गरे र दुई रनका लागि दौडिए । सजिलै दुई रन हुन सक्थ्यो । तर, एक रनमात्रै लिने मुडमा रहेका कोहली भने आरामसँग विस्तारै हिँडिरहेका थिए । उनी ओभरको बाँकी ५ बल आफैं सामना गर्न चाहन्थे । जडेजाले एक रन लिएर दोस्रो रनका लागि आधाउधी कुदिसकेका थिए । तर, कोहलीले बीचमै रोके । जडेजा फर्किन बाध्य भए । यो दृश्यले दर्शक स्तब्ध भएका थिए । जडेजा कुनै ‘टेलइन्डर’ थिएनन्, जो कि कोहलीले स्ट्राइक फार्म गर्नु परोस् ।
कोहलीले केवल आफ्नो शतक पूरा गर्न जडेजालाई कम स्ट्राइक दिन चाहेका थिए । त्यसमा सफल पनि भइरहेका थिए । तर, यसपालि उनको इच्छा पूरा भएन । भारत जीतबाट ५ रन टाढा रहेको अवस्थामा कोहली पनि शतकबाट ५ रनले चुके । ४८औं ओभरको चौथो बलमा उनी ९५ रनमा आउट भए । क्रिजमा फर्किंदा आफैंसँग निकै आक्रोशित देखिएका थिए कोहली ।
यही खेलमा सूर्यकुमार यादव पनि कोहलीको स्वार्थी प्रवृत्तिको शिकार भएका थिए । ३३.५ ओभरमा उनले कोहलीका लागि आफ्नो विकेट बलिदान गर्नुपर्यो । ट्रेन्ट बोल्टले फ्याकेको बललाई कभरको दिशामा प्रहार गरेर सूर्यकुमार रनका लागि दौडिए । कोहली पनि दौडिए । तर, सान्टनरले द्रुत गतिमा बल समातेको देखेपछि कोहली रोकिए । सूर्यकुमार अलपत्र परे । यदि दुवैजना दौडिएको भए कोहली रनआउट हुन सक्थे । तर, कोहलीले आफू जोगिएर सूर्यकुमारलाई पेभिलियन फर्काइदिए ।
भारतविरुद्ध दक्षिण अफ्रिका
कोहलीले विश्वकपमा आफ्नो तेस्रो शतक हानेका थिए दक्षिण अफ्रिकाविरुद्ध । तर, उनको यो शतक पनि आलोचनाको घेरा बाहिर रहन सकेन । कारण थियो कोहलीको स्ट्राइक रेट ।
ब्याटिङका लागि स्वर्ग थियो इडन गार्डेनको पीच । टस जितेर पहिले ब्याटिङ रोजेको भारतलाई रोहित शर्मा र शुभमन गिलले विस्फोटक सुरुवात दिलाएका थिए । अरु ब्याट्सम्यानहरुले पनि आक्रामक ब्याटिङ गरेर भारतलाई ३२६ रनको स्कोर खडा गरेको थियो । यो स्कोर योभन्दा धेरै विशाल हुन सन्थ्यो, यदि कोहलीले पनि ‘नेचुरल ब्याटिङ’ गरेको भए ।
कोहलीले ब्याटिङमैत्री पिचमा १२१ बलको सामना गर्दै १०१ रन बनाए । एउटा पनि छक्का उनको ब्याटबाट निस्किएन । उनले कुनै पनि बलमा जोखिम उठाउन चाहेनन् । उनलाई जसरी पनि आफ्नो ४९औं शतक पूरा गरेर सचिन तेन्दुलकरको बराबरी गर्नु थियो । उनी आफ्नो जन्मदिनमै यो ‘कारनामा’ गर्न चाहन्थे । सफल पनि भए ।
‘कीर्तिमानप्रेमी’ देश
क्रिकेटको सन्दर्भमा कुरा गर्दा भारत एउटा ‘कीर्तिमानप्रेमी’ राष्ट्र हो । त्यहाँका खेलाडीहरु कीर्तिमानका भोका हुन्छन् । किनकि जसले धेरै कीर्तिमान राखेको छ, उसैलाई ‘लिजेन्ड’, ‘गड’ भन्दै पूजा गर्ने गर्छन् समर्थकले ।
भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर सर्वाधिक शतकको कीर्तिमान राखेर महान बनेका हुन् । अहिले उनलाई विराट कोहलीले कीर्तिमानकै बलमा पछ्याइरहेका छन् । यी दुईपछि कीर्तिमानको दौडमा छन् युवा ब्याट्सम्यान शुभमन गिल । उनलाई भविष्यको कोहलीको रुपमा हेर्ने गरिएको छ ।
भारतीय खेलाडीले व्यक्तिगत आँकडालाई कति महत्व दिन्छन् भन्ने एउटा उदाहरण यो विश्वकपमा केएल राहुलले देखाए । विश्वकपको पहिलो म्याचमा भारत बलियो अष्ट्रेलियासँग भिड्दै थियो । अष्ट्रेलियाले दिएको २०० रन पार गर्दै भारतले खेल जित्यो । ४१.२ ओभरमा केएल राहुलले हानेको बल छक्का भएपछि भारतको जीत भएको थियो । तर, जीतलगत्तै सेलिब्रेसन गर्नुपर्नेमा राहुल निराश भएर थचक्क भुईंमा बसे । उनको निराशाको कारण थियो, शतक बनाउन नसक्नु । राहुल ९७ बलमा आउट भएका थिए ।
जुन बलमा राहुलले छक्का हानेका थिए, त्यो चौकामात्र भएको भए स्कोर बराबरी हुन्थ्यो र उनले अर्को बलमा छक्का हान्दै शतक पूरा गर्न सक्थे । उनले छक्काका लागि प्रहार गरेका पनि थिएनन् । तर, भइदियो । ९७ रनमा राहुल रोकिए । विश्वकपको पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध शतक बनाउन चुकेको दुःख उनले मैदानमै पोखे ।
खासमा भारतले आफ्नो देशका क्रिकेट पीचहरु प्रायः ब्याटिङ फ्रेन्डली बनाउँछ । इंग्ल्यान्ड र अष्ट्रेलियाको जस्ता ‘बाउन्सी’ पिचहरु भारतमा हुँदैनन् । त्यसैले घरेलु मैदानमा हुने खेलमा भारतीय ब्याट्सम्यानहरु भक्कु रन बनाउँछन् । उनीहरुले बनाउने कीर्तिमानमा घरेलु खेलहरुकै मुख्य भूमिका हुने गर्छ । ‘सब कन्टिनेन्ट’ बाहिरका खेलहरुमा भारतका महान भनिने ब्याट्सम्यानहरुको पनि आँकडा साधारण छ । फास्ट बलरलाई थोरैमात्र सहयोग गर्ने पीच छ भने भारतको ब्याटिङ सहजै लड्खडाउँछ ।
अपवाद रोहित शर्मा
सबै खेलाडीलाई एउटै डालोमा हालेर हेर्नु पनि हुँदैन । कीर्तिमानप्रेमी ब्याट्सम्यानहरुको बीचमा रोहित शर्मा पनि छन्, जो केवल टीमका लागि खेल्छन् । यो विश्वकपको आँकडा हेर्दा पनि रोहितले व्यक्तिगत शतक, अर्धशतकलाई उति महत्वमा राखेको देखिँदैन ।
रोहितले हरेक खेलमा भारतलाई आक्रामक सुरुवात दिलाउन खोजे । उनले आफ्नो विकेट जोगाउने भन्दा पनि टीमलाई बलियो स्थितिमा पु¥याउने रणनीति लिए । शतक र अर्धशतकको नजिक पुग्दा पनि उनले सम्हालिएर खेल्न चाहेनन् । आफ्नै अन्दाजमा ब्याट चलाइरहे । फलस्वरुप अधिकांश म्याचमा उनी शतक र अर्धशतकको नजिक पुगेर आउट भएका छन् ।
विश्वकपमा विराटपछि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान रोहित नै हुन् । उनले ११ खेलमा ५९७ रन जोड्दा १ शतक र ३ अर्धशतक बनाएका थिए । कोहलीकै जस्तो स्वार्थी प्रवृत्ति देखाएको भए रोहितको शतक र अर्धशतक योभन्दा धेरै हुन सक्थ्यो । उनी बंगलादेशविरुद्ध ४८ रनमा, न्युजिल्यान्डविरुद्ध ४६ रनमा, इंग्ल्यान्डविरुद्ध ८७ रनमा, दक्षिण अफ्रिकाविरुद्ध ४० रनमा आउट भएका थिए ।
यस्तै न्युजिल्यान्डविरुद्ध ४७ रनमा र फाइनलमा अष्ट्रेलियाविरुद्ध पनि ४७ रनमै आउट भए । सबै खेलहरुमा उनको स्ट्राइक रेट १०० भन्दा माथि थियो ।
सोयब अख्तरले ठिकै भनेका हुन्, ‘यदि रोहितले पनि कोहलीकै शैलीमा खेलेको भए एक दिवसीयमा उनले ७०-८० शतक हानिसक्ने थिए ।’