पार्टी प्यालेसमा सुतिसकेका महिलालाई बाहिर निकालेको भिडिओबारे के भन्छन् युवा संघका अध्यक्ष
काठमाडौं । सामाजिक सञ्जालमा मंगलवार रातिदेखि भाइरल भइरहेको भिडिओका कारण एमाले र युवा संघको आलोचना भइरहेको छ ।
भिडिओमा पार्टी प्यालेसजस्तो देखिने ठाउँमा बसेका महिलासहितलाई बाहिर निकालिएको छ ।
मंसिर ७ गते दुर्गा प्रसाईँको कार्यक्रममा आएका मान्छेहरूलाई बाहिर निकालिएको आवाज सुनिने सो भिडिओमा सुतिसकेका महिलाहरूलाई उठाएर बाहिर पठाइएको छ । यो अमानवीय कार्य गरेको भन्दै सामाजिक सञ्जालमा युवा संघको आलोचना भएको छ ।
भिडिओ कहाँ खिचिएको हो भन्ने अझै प्रष्ट खुलेको छैन । प्रहरी स्रोतले मनोहरा खोला नजिक एक पार्टी प्यालेसमा भएको भने पनि यसको आधिकारिकता नभएको जनाएको छ । घटना भने मंगलवार राति भएको थियो, जुन भिडिओ एक जनाले लाइभ नै खिचेका थिए । घटनामा युवा संघकै कार्यकर्ता संलग्न रहेको प्रसाईँ पक्षले जनाएको छ ।
युवा संघ यस्तो अमानवीय हर्कत गरेर राता मण्डलेमा परिणत भएको हो ? नेपाल प्रेसको यो प्रश्नमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भने सो घटनामा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन् । उनले भिडिओको वास्तविकता बुझ्ने काम भइरहेको भन्दै प्रहरीसँग पनि सहयोग मागिएको बताए ।
थेबेले भने- युवा संघले संस्थागत रूपमा त्यस्तो अमानवीय काम गर्दैन र गर्ने निर्देशन पनि छैन । कतै कसैले व्यक्तिगतरुपमा गरेको हो वा स्थानीयले गरेका हुन् यसबारे पनि हामीले बुझ्न खोजिरहेका छौँ । शान्तिपूर्ण विरोध प्रदर्शनबाहेक हाम्रो अरू कुनै नीति छैन, नीतिविपरीत कसैले त्यस्तो गरेको पुष्टि भएमा सह्य हुँदैन ।
प्रसाईँको कार्यक्रममा सहभागीहरू विभिन्न ठाउँमा काठमाडौं आएर होटल तथा पार्टी प्यालेसहरुमा समेत राखिएका छन् । मंसिर ७ गते युवा संघले तीनकुने र दुर्गा प्रसाईँ नेतृत्वको मातृभूमि बचाउ अभियानले बल्खुमा प्रदर्शन गर्दैछन् ।