झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रापछि सरकार परिवर्तन हुन सक्ने ओलीको संकेत
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गतेबाट सुरु हुने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानपछि सरकार परिवर्तन हुनसक्ने संकेत गरेका छन् ।
पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले एमाले अरु पार्टीजस्तो परिवर्तनको एजेण्डालाई यथार्थमा नबोकेर शाब्दिक अर्थमा बोके झैं गर्ने नक्कली कुरा गर्ने पार्टी नभएको जिकिर गरे ।
ओलीले भने, ‘हामीले बनाएनौं भने देश कसैले बनाउँदैन । हामी देश बनाउने पार्टी तदअनुसार नै अगाडि बढ्नुपर्छ । त्यसका लागि पार्टीभित्रको एकता र सक्रियता आवश्यक छ । हामी यो यात्राबाट फर्किएपछि आन्दोलनकारी ढंगले अगाडि बढ्ने आवश्यकता म देखिरहेको छु । यसै हिसाबले देश बिग्रिरहन दिन सकिँदैन । हामीले हिंसाको बाटो अपनाएका छैनौं अपनाउँदैनौं । शान्तिपूर्ण ढंगले परिवर्तन आवश्यक भएपछि गर्न त पर्यो नि ! सरकारलाई सुझाव दिनुपर्यो, दबाब दिनुपर्यो । मानेन भने देशभन्दा ठूलो सरकार हुँदैन । देशको रक्षाको लागि एमाले जस्तोसुकै कदम चाल्न तयार हुन्छ ।’
हिंसाको बल नभई जनताको बल प्रयोग गर्नसक्ने बताए । यात्राबाट फर्किएपछि पार्टी नेतृत्वको विभिन्न तहमा छलफल गरेर आवश्यक निर्णय लिने बताए । सही र सर्वसम्मत निर्णय गरेर देशलाई निकासको बाटो दिने उनको भनाइ छ ।