भैरहवा विमानस्थल सञ्चालनको वातावरण बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह – Nepal Press

भैरहवा विमानस्थल सञ्चालनको वातावरण बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

भैरहवामा शुरु छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।

अध्यक्ष मल्लले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्वौँ रुपैयाँ लगानी जोखिममा परेको समेत बताए ।

अध्यक्ष मल्लले भने, ‘विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन, अहिले निजी क्षेत्रको मात्र हैन सरकारकै लगानी पनि जोखिममा परेको छ ।’

विमानस्थल सञ्चालनसँगै गौतमवुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण केन्द्र बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

‘विमानस्थल बनेपछि, व्यावसायिक गतिविधि बढ्ला भनेर आसपासमा करोडौँ रुपैयाँ लगानी गरेकाहरूको लगानी जोखिममा परेको छ । यतातर्फ सरकार र सम्बन्धित सबै निकायको ध्यान जान जरुरी छ’, अध्यक्ष मल्ले भने ।

त्यस्तै, अध्यक्ष मल्लले सार्वजनिक निजी साझेदारी मार्फत भैरहवा सेजलाई सञ्चालनमा ल्याउनुपर्नेमा समेत जोड दिए ।

भैरहवा सेजमा उद्यमी व्यवसायीको सहभागिता गराउनका लागि विभिन्न नीतिगत समस्याहरू रहेको उनको भनाई छ । यद्यपि भैरहवा सेजमा साना तथा मझौला उद्यमी एवं घरेलु उत्पादनहरूको प्रवर्द्धन गर्नुपर्ने विषयमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर