दुर्गा प्रसाईंका दाइ भन्छन्- काठमाडौं आएका मानिसहरू व्यवस्था परिवर्तन नहुञ्जेल फर्किँदैनन् – Nepal Press

दुर्गा प्रसाईंका दाइ भन्छन्- काठमाडौं आएका मानिसहरू व्यवस्था परिवर्तन नहुञ्जेल फर्किँदैनन्

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले आज काठमाडौंमा ‘नागरिक बचाउ अभियान’ का नाममा मुलुकको शासन व्यवस्था परिवर्तनका लागि आन्दोलन सुरू गर्दैछन् । संघीय लोकतान्त्रिक .गणतन्त्र खारेज गरेर राजतन्त्रमा फर्किनुपर्ने उनको मुख्य माग हो ।

प्रसाईंले काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी गराउन उपत्यका बाहिरबाट हजारौं मान्छे ओसारेका छन् । उनीहरूलाई तत्काल घर नफर्काउने उनको योजना छ । आन्दोलनको विस्तृत कार्यक्रम घोषणा नगरिएको भए पनि आजदेखि दैनिक राजधानीमा प्रदर्शन गर्ने बताइएको छ ।

यो अभियानमा सक्रियरुपमा संलग्न दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंले व्यवस्था परिवर्तन नहुँदासम्म आन्दोलन नरोकिने बताए ।

नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘आज सुरुवात हुने हो, यो निरन्तर चल्छ । जबसम्म शासन व्यवस्था परिवर्तन हुँदैन, तबसम्म हामी सडक छाड्दैनौं ।’

उनले काठमाडौं आएकाहरूलाई व्यवस्था परिवतन नहुँदासम्म घर नफर्काइने पनि बताए ।

‘उहाँहरू यतै रहनुहुन्छ र दिनहुँ प्रदर्शनमा सामेल हुनुहुनेछ,’ उनले भने ।

प्रसाईंको आन्दोलनमा सहभागी हुन कति मान्छे काठमाडौं आएका छन् भन्ने एकिन छैन । उनीहरूले एक लाखभन्दा बढी मान्छे उपत्यकाबाहिरबाट आएको दाबी गरिरहेका छन् । प्रहरीले भने यो संख्या पाँच हजारको हाराहारीमा मात्रै भएको जनाएको छ । आज हुने प्रदर्शनमा कति मानिसहरु जुट्छन् भन्नेले दुर्गा प्रसाईंको आन्दोलनको भविष्य निर्धारण हुन सक्छ ।

प्रसाईंको आन्दोलनलाई कुनै बलियो राजनीतिक शक्तिले साथ दिएका छैनन् । राजतन्त्रको हिमायति पार्टी राप्रपासमेत उनीप्रति सशंकित छ । प्रसाईंको व्यानरमा राजसंस्थाको एजेन्डा कतै पनि नरहेको भन्दै राप्रपाले उनलाई नैतिक समर्थन जनाउन समेत अस्वीकार गरेको छ । यद्यपि, राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले भने आन्दोलनलाई सघाउन आफ्ना कार्यकर्तालाई अपिल गरेका छन् ।

प्रसाईंको आन्दोलनको एजेन्डा ‘राजसंस्था पुन:स्थापना’ को साटो ‘व्यवस्था परिवर्तन’ भनिएको छ, जसलाई कतिपयले अर्थपूर्ण मानेका छन् । प्रसाईंले विभिन्न अन्तरवार्तामा राजसंस्थाको वकालत गरे तापनि अब कसलाई राजा बनाउने भन्ने प्रश्नमा मौनता साँध्ने गरेका छन् ।

हिजो प्रसारित भुषण दाहालसँगको अन्तरवार्तामा पनि उनले राजा को हुन् र प्रधानमन्त्री को हुने भन्नेमा आफ्नो चासो नरहेको बताए । व्यवस्था परिवर्तनपछि आफू नेतृत्व लिन तयार रहेको र अरुलाई पनि छोड्न तयार रहेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘आन्दोलन सफल वा असफल जे भए पनि म खप्तड गएर ध्यान गरेर बस्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर