कार्तिकसम्म एक अर्ब बराबरको छुर्पी ‘डग च्यू’ निर्यात, अमेरिकामा सबैभन्दा बढी माग – Nepal Press

कार्तिकसम्म एक अर्ब बराबरको छुर्पी ‘डग च्यू’ निर्यात, अमेरिकामा सबैभन्दा बढी माग

काठमाडौं । नेपालले कार्तिक महिनासम्म एक अर्ब बराबरको कुकरलाई खुवाइने आहार ‘डग च्यू’ निर्यात गरेको छ ।

चालू आर्थिक वर्षको कार्तिक महिनासम्ममा नेपालले १९ वटा देशमा ९७ करोड ८९ लाख ४९ हजार रुपैयाँको ‘डग च्यु’ अर्थात कुकुरको आहारा निर्यात गरेको हो । गत असोज महिनासम्म नेपालबाट ७६ करोड ११ लाख ६ हजार रुपेयाँको डग च्यू विदेश निर्यात भएको थियो ।

हाल अन्तराष्ट्रिय बजारमा डग च्यूको माग ब्यापक रहेको छ । नेपालबाट सबैभन्दा बढी अमेरीमा डग च्यू निर्यात हुने गरेको छ । जहाँ गत आर्थिक वर्ष २०७९/०८० मा नेपालबाट ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँको निर्यात भएको थियो । भने, चालू आर्थिक वर्षको कार्तिक महिनासम्म मात्रै ४ लाख ९४ हजार १०२ किलोग्राम ‘डग च्यु’ निर्यात गर्दा नेपालमा ९७ करोड ८९ लाख ४९ हजार रुपैयाँ भित्र्याएको छ ।

नेपालबाट सबैभन्दा बढि अमेरीकामा ८६ करोड ३३ लाख ५० हजार रुपैयाँको ‘डग च्यु’ निर्यात भएको छ । त्यस्तै, नेपालले क्यानडालाई ६ करोड ५८ लाख ५४ हजार, युकेलाई १ करोड ४६ लाख ३४ हजार, कोरीयालाई ७२ लाख ७० हजार, ताइवानलाई ४४ लाख ९६ हजार, हंकङलाई ४२ लाख, जापानलाई ४० लाख ३ हजार, ग्रिसलाई ३० लाख ५६ हजार, नेदरल्याण्ड्सलाई २९ लाख ५८ हजार, मलेसिया २८ लाख १२ हजार, सिंगापूर १५ लाख ८२ हजार, दुबई १५ लाख ४४ हजार, थाइल्याण्ड ११ लाख ८३ हजार, फिलिपिन्स ११ लाख, चाईना ३ लाख ७६ हजार, फ्रान्स १ लाख ९५ हजार, न्युजल्याण्ड १ लाख ६३ हजार, कतार १ लाख ३४ हजार रुपैयाँ र इटालीलाई ४० हजार रुपैयाँको ‘डग च्यू’ छुर्पी निर्यात गरेको हो ।

‘डग च्यु’ चौरी गाई तथा गाईको दुधबाट बनाइने छुर्पी हो । जसको प्रयोग पश्च्मिा मुलुकहरुमा कुकुर तथा बिरालोको आहारका रुपमा गरिन्छ । यसको माग अन्तराष्ट्रिय बजारमा ब्यापक रहेको छ । ‘डग च्यू’ नामक कुकुर/बिरोलोको आहाराका रुपमा प्रयोग गरीने छुर्पी नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा तथा पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर