दलित महिला सदस्यलाई छुवाछुत गर्ने पोखराका वडाध्यक्षलाई दोब्बर सजाय,कैद र जरिवानाको फैसला
पोखरा । आफ्नै वडासदस्यलाई जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका- २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले ३ महिना कैद र ५० हजार जरिवानाको फैसला सुनाएको छ ।
आफूमाथि विभेद गरेको भन्दै वडा सदस्य मैयाँ नेपालीले गत माघ ५ गते अधिकारीविरुद्ध उजुरी दिएकी थिइन् ।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८अनुसार ३ महिना कैद र ५० हजार जरिवानाको फैसला भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार वडाध्यक्ष अधिकारीलाई ५० प्रतिशत सजाय थप हुने सूचना अधिकारी अधिकारीले बताए ।
वडाध्यक्ष अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने सदस्य मैया सार्की नेकपा एमालेबाट निर्वाचित हुन् । सो वडामा अध्यक्षबाहेक पद एमालेले जितेको थियो ।