तीनकुनेमा प्रहरी तैनाथ, दुर्गा प्रसाईँसहित समर्थकमाथि निगरानी बढाइयो
काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आन्दोलनका थप कार्यक्रम निस्तेज पार्न सुरक्षा तैनाथी बढाइएको छ । प्रसाईँले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए ।
अहिले तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । त्यहाँ हिँड्डुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ । प्रहरीले पैदलयात्रीलाई जम्मा हुन र सडक किनारमा रोकिन दिएको छैन । शंकास्पद व्यक्तिमाथि चेकजाँच गर्दै केहीलाई पक्राउसमेत गरिएको छ ।
भक्तपुरदेखि नै चोकचोकमा प्रहरी निगरानी बढाइएको छ । आज बिहान प्रहरीले दुर्गा प्रसाईँका केही समर्थकलाई पक्राउ गरेको थियो ।
प्रसाईँको भक्तपुर थिमीस्थित निवासबाहिर अहिले प्रहरी तैनाथ गरिएको छ । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा प्रसाईँको घरलाई वरपरबाट घेरेको छ ।
सुरक्षा स्रोतका अनुसार उनलाई त्यहाँबाट निस्कन नदिने रणनीतिमा प्रहरी छ ।
काठमाडौं जिल्ला प्रशासनले भने तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिएको थियो ।
तस्बिरहरु : उमेश कार्की