भीष्मले युधिष्ठिरलाई व्याख्या गरेको गणराज्य र नेपालको गणतन्त्र
गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र आदि जे जे भनेर व्याख्या गरिएको भए पनि मूलतः ती सबै शब्दका अर्थ जनताको शासन भन्ने नै हुन्छ । केवल आफूखुशी व्याख्या वा शब्दको प्रभावले अनेक व्याख्या गरिएकोमात्रै हो । जे जे भने पनि उत्तम शासन व्यवस्था त्यही नै हो, जसमा जनसहभागिता अधिकभन्दा अधिक रहन्छ, जनमतको कदर हुन्छ र जनता नै सर्वोपरि हुन्छन् । नेपाली राजनैतिक इतिहास हेर्दा हामीले २००७ सालमा प्रजातन्त्रका लागि, २०४६ तथा २०६२÷२०६३ मा लोकतन्त्रका लागि गरेका संघर्षको परिणाममा २०६५ बाट देश गणतन्त्रात्मक शासन व्यवस्थामा चलिरहेको छ । यस आलेखमा गणतन्त्रका बारेमा केही शास्त्र मत प्रस्तुत गरिएको छ ।
प्राचीन सनातन शास्त्रहरूमा राजतन्त्रका बारेमा निकै व्याख्या पाइन्छ । तिनै प्राच्य शास्त्रहरुमा गणतन्त्रका बारेमा पनि उल्लेख भएको पाउन सकिन्छ । सनातन धर्मशास्त्रहरूले राजतन्त्रलाई सुव्यवस्थित शासन प्रणाली भनेर व्याख्या गरेको सर्वत्र भेटिन्छ । राजधर्मको व्याख्या पनि धेरैतिर पाइन्छ । राजाविनाको देशमा न्याय नपाइने तथा धर्मको स्थापना र सञ्चालन पनि राम्रोसँग हुन नसक्ने जस्ता कुरा शास्त्रमा पाइन्छन् । आदर्श राजतन्त्रात्मक व्यवस्थालाई अंगीकार गरिएको राज्य व्यवस्था दक्षिण एसियामा अझै पनि जीवित छ । राजामा हुनुपर्ने गुण र राजालाई शासन सञ्चालनसम्बन्धी उपदेश गरिएका शास्त्रहरू हाम्रो समाजमा प्रचलित छन् ।
गणतन्त्रका बारेमा प्राच्य ग्रन्थहरूमा अति नै कम विश्लेषण गरिएको पाइन्छ । उतिसारो प्रचलित र लोकप्रिय हुन नसकेका कारणले हुन सक्छ, गणतन्त्रको खासै व्याख्या भेटिँदैन । तत्कालीन समयमा गणतन्त्रको लोकप्रियता कम भए पनि गणतान्त्रिक राज्य व्यवस्थाका गुण र अवगुणलाई लिएर प्राच्य ग्रन्थहरूमा यथाशक्य वर्णन गरिएको भने पाइन्छ ।
गणतान्त्रिक व्यवस्थाको व्याख्या हेर्दै जाँदा महाभारतको सभापर्वमा उल्लेख भएको पाइन्छ । सभापर्वमा अर्जुनले निकै गणराज्यहरूलाई जितेको प्रसङ्ग उल्लेख हुनुका साथै शान्ति पर्वमा शरशैय्यामा रहेका पितामह भीष्म र राजा युधिष्ठिरका बीचमा संवादका रूपमा गणतन्त्रप्रधान राज्यको वर्णन र त्यस्ता राज्यका नीति अनि त्यस्ता गणतन्त्रात्मक राज्य पतन हुनुका कारणहरूका बारेमा व्याख्या गरिएको पाइन्छ । महाभारतमै गणतन्त्रको उल्लेख भएकाले महाभारतकालमा पनि केही गणराज्यहरू विद्यमान रहेको अनुमान गर्न सकिन्छ । कलिंग, कपिलवस्तु आदि गणराज्यहरू निकै पछिसम्म पनि गणतान्त्रिक विधानअनुरुप नै चलेका थिए । यसो भन्नुको मुख्य आधार महाभारत नै हो ।
राजतन्त्रात्मक व्यवस्थाको यति बलियो जग शास्त्र आदिमा हुँदाहुँदै पनि शास्त्रले गणतन्त्रका बारेमा पनि उल्लेख गरेको पाइनुले विकल्पका रूपमा त्यसबेला पनि गणतन्त्र चलेको कुरा बुझ्न सकिन्छ । बौद्धकालसम्मको समयमा आइपुग्दा त अझ धेरै गणराज्यहरू रहेको पाइन्छ ।
हुन त शास्त्रहरूले मुख्य रूपले राजतन्त्रकै व्याख्या गर्ने गरेको पाइए पनि महाभारतकै भीष्म पर्वबाट लिइएको श्रीमद्भगवद गीतामा १०औं अध्यायको २७औं श्लोकमा भगवान श्रीकृष्णको वचन छ- ‘नराणां च नराधिपम्’ अर्थात् मनुष्यहरूमा म अर्थात् श्रीकृष्ण नराधिपति अर्थात् राजा हुँ । यही वचनको अनुशरणले गर्दा नै सनातन परम्परामा राजालाई भगवान विष्णुको अवतारको रूपमा लिइने गरिएको पाइन्छ । हाम्रा संस्कृतिमा पनि राजतन्त्रकै झलक पाइन्छ । हामीले गर्ने पूजा आदि कृत्यमा पनि वैवस्वत मनुको राज्य रहेको कुरा उल्लेख हुन्छ भने हाम्रा समाजमा बालबालिका राजारानीकै कहानी सुनेर हुर्कने गरेको कुरा सबैलाई थाहा भएकै हो । राजतन्त्रात्मक व्यवस्थाको यति बलियो जग शास्त्र आदिमा हुँदाहुँदै पनि शास्त्रले गणतन्त्रका बारेमा पनि उल्लेख गरेको पाइनुले विकल्पका रूपमा त्यसबेला पनि गणतन्त्र चलेको कुरा बुझ्न सकिन्छ । बौद्धकालसम्मको समयमा आइपुग्दा त अझ धेरै गणराज्यहरू रहेको पाइन्छ ।
महाभारत ग्रन्थको शान्ति पर्वअन्तर्गतको राजधर्मानुशासन पर्वमा गणतन्त्रात्मक राज्यका बारेमा व्याख्या गरिएको छ । आदर्श राजतन्त्रको निकै व्याख्यान सुनिसकेपछिको अवस्थामा राजा युधिष्ठिरले आफ्ना पितामह भीष्मलाई प्रश्न गर्छन्-
‘पितामह ! म अब गणतन्त्रको बारेमा सुन्न चाहन्छु । गणतन्त्रात्मक राज्यमा नागरिकहरू कसरी उन्नति गर्नमा सफल हुन्छन् ? के कति कारणले उनीहरूको (गणराज्यहरूको) पतन हुन जान्छ ? उनीहरू के गरेर शत्रुमाथि विजय प्राप्त गर्छन् र आफ्नो स्वाभीमान कसरी जोगाएर उन्नति गर्ने गर्छन् ? मैले देखेको छु कि त्यस्ता राज्यका विनाशका मुख्य कारण पनि आपसी फुट नै हुन् । मलाई यस कुरामा पक्का विश्वास छ कि अति गोपनीय चिजहरू संघीय गणराज्य व्यवस्थामा जोगाउन अत्यन्तै मुस्किल हुन्छ । त्यसैले गणराज्यमा गोपनीयता कम हुने हुनाले राज्य सञ्चालन अत्यन्तै दुष्कर छ । गणराज्यहरू कसरी फुट्छन् र कसरी एकबद्ध हुन्छन् ? यी सबै कुरा मलाई जान्न मन लागेको छ ।’
आफ्ना प्रिय नातिले सोधेको यस्तो प्रश्नको जवाफमा भीष्म भन्छन्-
‘हे नरेश्वर ! गण (समूह)मा, कुलमा तथा राजाहरूमा पनि आपसमा वैरभावको सृजना जम्मा दुई कारणले हुन्छन् । ती हुन्- लोभ र अमर्ष (ईर्ष्या) नै हो । मनुष्यले सुरुमा लोभको नै अनुसरण गर्ने गर्छ । लोभको वशमा परेर नै मान्छेहरू अर्काको धन लिन लोभ गर्छन् । त्यसको अन्तरालमा ईर्ष्याले एक-अर्कामा जलन गराउने कामको सुरुवात हुन्छ । ती दुवै खाले व्यक्तिहरू लोभ र ईर्ष्याले युक्त भएर अधिक धन र जनको क्षति गराउँदै आपसमै विनाशको खेल खेलेर पतनतर्फ उन्मुख हुन्छन् ।
गणराज्य भएका मुलुकमा आपसमा भारदारहरूबीच फुट हुने हुनाले आपसमा एक-अर्काको गुप्त तथ्य थाहा पाउन गुप्तचर पठाउने, गुप्त मन्त्रणाहरू गर्ने तथा सैन्य शक्तिसमेत आफू अनुकूल केन्द्रीकृत गर्नमा लाग्छन् । तिनीहरू आपसमा साम, दाम र भेद नीतिको प्रयोग गरेर जनसंहार, अपार धनराशिको व्यय तथा अनेक प्रकारका भयलाई निम्त्याउँदै विविध तरिकाले आफूलाई निर्बल तुल्याउन अग्रसर हुन्छन् ।
जुन राज्य सामूहिक बल र पुरुषार्थले सम्पन्न छन्, उनीहरूले अनायास नै धेरै कुरा प्राप्त गर्न सक्छन् । एकताले सम्पन्न राज्यसँग बाह्य राज्यहरूले पनि मैत्री गर्ने गर्छन् । सुसम्पन्न भएका गणराज्यका नागरिकहरूमा एक-अर्कामा ठग्ने प्रवृत्ति कम हुन्छ भने उनीहरू आपसमा मिलेर सुखपूर्वक उन्नति गर्ने हुन्छन् ।
संघीयताले युक्त गणराज्यमा निर्वाहमुखी जीवन बिताइरहेका सैनिक आदि राज्यका शक्तिहरू पनि समयमा भोजन तथा पारिश्रमिक नपाउँदा तिनीहरूमा पनि फुटको अवस्था आउने हुन्छ भने आपसी फुटले नै तिनीहरू एकापसमा विपरीत ध्रुवमा पुग्छन् र ती सबै भयका कारणले नै शत्रुको अधिनमा पर्न जान्छन् । आपसमा हुने फुटले नै संघात्मक गणराज्यहरू नष्ट हुन्छन् । आपसमा फुट हुनाले त्यस्ता राज्यहरू सहजै शत्रुका वशमा पर्न जान्छन् । अतः संघीय रूपमै आपसी मेल लिएर नै गणराज्यले उन्नति गर्न सक्छन् ।
जुन राज्य सामूहिक बल र पुरुषार्थले सम्पन्न छन्, उनीहरूले अनायास नै धेरै कुरा प्राप्त गर्न सक्छन् । एकताले सम्पन्न राज्यसँग बाह्य राज्यहरूले पनि मैत्री गर्ने गर्छन् । सुसम्पन्न भएका गणराज्यका नागरिकहरूमा एक-अर्कामा ठग्ने प्रवृत्ति कम हुन्छ भने उनीहरू आपसमा मिलेर सुखपूर्वक उन्नति गर्ने हुन्छन् ।
गणराज्यका नागरिकहरू धर्मानुसार व्यवहार गर्छन् । उनीहरू यथोचित दृष्टिले सर्वत्र देख्छन् र उन्नतिको दिशामा अघि बढ्ने खालका हुन्छन् । गणराज्यका विद्वानहरू आफ्ना पुत्र तथा दाजुभाइ पनि यदि कुमार्गमा लागेका रहेछन् भने तिनीहरूलाई यथोचित दण्ड दिने हुन्छन् भने शिक्षा र संस्कारको राम्रो विकास गर्ने हुन्छन् ।
हे महाबाहु युधिष्ठिर ! गणराज्यका नागरिकहरू सदा गुप्तचरका काम गर्न, राज्यहितका लागि गुप्त मन्त्रणा गर्नमा, विधान बनाउनमा, राज्यका लागि कोश संग्रह गर्न आदि कार्यका लागि सदैव तत्पर रहन्छन् । यसैकारण उनीहरू सबैतिरबाट उन्नति गर्ने हुन्छन् । गणराज्यका सदस्य सदा बुद्धिमान, शूरवीर, महान उत्साही र सबै कार्यमा दृढ पुरुषार्थका परिचय दिने व्यक्तिको सदैव प्रयत्नशील हुने भएकाले शीघ्र उन्नति गर्ने हुन्छन् ।
गणराज्यका नागरिक धनवान, शूरवीर, अस्त्रशस्त्रका ज्ञाता, शास्त्रका पारङ्गत विद्वान हुन्छन् । उनीहरू कठिन विपत्तिमा परेर मोहित भएकाहरूको उद्धार गर्ने हुन्छन् । गणराज्यमा जनतामा यदि क्रोध, भेद, भय, दण्ड प्रहार, अरूलाई दुर्बल बनाउने, बन्धक बनाउने वा हत्या गर्ने प्रवृत्ति पैदा हुन गएमा त्यस्ता गर्ने व्यक्तिलाई सजाय दिने हुन्छन् ।
शत्रु पक्ष सदैव गणराज्यका व्यक्तिमा फुट ल्याउने कोसिस निरन्तर गर्ने हुन्छन् । उनीहरूमध्ये कसैलाई धन दिएर पनि समस्त गणराज्यमा फुट ल्याउन सक्ने हुन्छन् । संघात्मक गणराज्यमा जनस्तरमा एकताको अभाव ज्यादा देखिने हुँदा गणराज्यको अस्तित्व सदैव जोखिममा रहेको हुन्छ ।
गणराज्यका सबै अधिकारी गुप्त मन्त्रणा सुन्न आधिकारिक हुँदैनन् । सूचनाको जथाभावी प्रयोगले गणराज्य विनाशतर्फ उन्मुख हुन्छ । त्यसैले त्यस्ता राज्यमा मन्त्रणालाई गुप्त राख्ने तथा गुप्तचरको नियुक्तिका कार्य राज्यका प्रधान अधिकार प्राप्त व्यक्तिले गर्छन् । गणराज्यका मुख्य मुख्य व्यक्तिहरू आपसमा मिलेर समस्त राज्यको हित गर्नुपर्छ । यदि राज्यमा फुट भएर राज्यका प्रधानहरू अनेकौं दलमा विस्तारित भएका राज्यका मुख्य व्यक्तिका सबै कार्यमा बाधा आउँछन् र धेरै नै अनर्थ पैदा हुने हुन्छ ।
परस्परमा फुटेर अनेक भएकाहरूमध्ये जोजो मुख्य छन्, उनीहरूलाई राज्य प्रमुखले दमन गर्नुपर्छ । कुलमा कहल भएको अवस्थामा कुलको प्रमुख व्यक्तिले बेवास्ता गरेमा त्यो कलहले समस्त कुलको नै नाश गर्ने हुन्छ । आभ्यन्तरिक भयलाई पन्छाउँदै सामूहिक हितका लागि सदैव प्रयत्नशील रहनुपर्छ । राज्यमा एकता रहेमा बाहिरी भयले खासै फरक पार्दैन । आन्तरिक भय बलवान भएमा राज्य नै नष्ट हुने भय सदैव रहन्छ ।
अकस्मात पैदा हुने क्रोध र मोह तथा स्वाभाविक लोभले गर्दा संघीय गणराज्यका नागरिकमा समन्वयको अभाव भएमा उक्त राज्य नै विनाशको मुखमा पुग्ने हुन्छ । जाति तथा कुलमा एक समान हुन सक्ने भए पनि उद्योग, बुद्धि तथा सम्पत्तिमा सबै एकैनासको हुन सम्भव छैन । शत्रु पक्ष सदैव गणराज्यका व्यक्तिमा फुट ल्याउने कोसिस निरन्तर गर्ने हुन्छन् । उनीहरूमध्ये कसैलाई धन दिएर पनि समस्त गणराज्यमा फुट ल्याउन सक्ने हुन्छन् । संघात्मक गणराज्यमा जनस्तरमा एकताको अभाव ज्यादा देखिने हुँदा गणराज्यको अस्तित्व सदैव जोखिममा रहेको हुन्छ ।
युधिष्ठिरको प्रश्नमा भीष्म पितामहको यो संवाद आजको दिनमा निकै उपयोगी छ । हाम्रो शासन व्यवस्था के कस्तो छ ? हामीले कस्तो शासन व्यवस्था अपनाएका रहेछौं ? हाम्रो शासन व्यवस्था कुन धरातलमा चलिरहेको छ ? जस्ता प्रश्न पनि युधिष्ठिर-भीष्म संवादले स्पष्ट गर्छ । जहानियाँ शासन, सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्र, लोकतान्त्रिक गणतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आइपुगेका हामीले आजसम्म धेरैखाले पद्धतिको अभ्यास गरिसकेका छौं ।
जुनसुकै वाद वा तन्त्रमा गए पनि प्रयुक्त भएको व्यवस्थाका बारेमा फाइदा र बेफाइदा दुवैलाई उत्तिकै महत्त्वका दृष्टिले हेरिनुपर्छ । अधिकतर जनमतले स्वीकार गर्न नसकेको अवस्था छ भने त्यस्तो अस्वीकृत व्यवस्था फालेर देश, समय, परिवेश, परम्परा आदिलाई स्वीकार गरेर अघि बढ्न सक्नुपर्छ । शास्त्रहरूले विविध खालका शासन व्यवस्थाका स्वरूप प्रस्तुत गर्नुका पछाडि जनमत नै मुख्य रहन्छ भन्ने नै हेतु भएको बुझ्नुपर्छ । अहिले राजतन्त्र र गणतन्त्रको सवाल मुख्य रूपले पेचिलो बन्दै गएको छ । यथोचित निर्णयमा पुग्न नसकेको र शासकका मनपरीतन्त्र मौलाउँदै गएको छ । यस्तो अवस्थामा स्वस्थ दिमागले हाम्रो परम्परा र संस्कृति तथा आवश्यकता र भूराजनीतिलाई समेत बुझेर तदनुकूलको शासन व्यवस्थामा रहेर उन्नतिको शिखरतर्फ लम्कने कोसिस गर्न सक्यौं भने दुनियाँमा सर्वाधिक शासन पद्धतिको अभ्यास गर्ने र सर्वोत्तम शासन पद्धति भएको देश नेपाल हो भनेर सगौरव भन्न सक्ने अवस्था आउनेमा कसैको पनि दुईमत नहोला ।
भिष्मले उल्लेख गरेजस्तै जनताको हातमा शासन आइसकेपछि उनीहरुले पुरुषार्थ गरेर उन्नत देश बनायेको बेलायत् मात्र देखिन्छ । निमुखा , गरीब र सान्स्कृतिक रुपमा चेतनाको हिसाबले पछौटे नेपालको जस्तो जनता भयेको मुलुकमा काङ्ग्रेस , एमाले र माओवादी जस्ता जनताका प्रधान शत्रु रहेको मुलुकमा जन शत्रुहरुलाई दण्ड दिन राजा चाहिने रहेछ । यी माथि उल्लेखित जनशत्रुहरुले जनतालाई पुरुषार्थ गर्न पनि दिदारहेनछन ।