दुर्गा प्रसाईँको आन्दोलनदेखि तर्सिएका हुन् ठूला दल ? – Nepal Press

दुर्गा प्रसाईँको आन्दोलनदेखि तर्सिएका हुन् ठूला दल ?

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंको आन्दोलनले ठूला दलहरूलाई ‘चस्का’ पसेको छ । प्रसाईंले बिहीबारदेखि बल्खुबाट थालेको आन्दोलनले सत्ताको नेतृत्व गरिरहेका मुख्य दलहरूलाई टाउको दुखाइको विषय बनेको छ ।

नयाँ दलहरू पनि उदाउँदै गर्दा प्रसाईँको आन्दोलनले पुराना दलहरूलाई सच्चिने कि सकिन्ने भन्ने भन्ने ठाउँमा पुर्‍याएको छ । व्यवस्था नै नउल्ट्याएसम्म आफ्नो अभियान नरोक्ने दाबी गर्दै होमिएका प्रसाईंले हिजो बल्खुमा शक्ति प्रदर्शन गरे ।

निरन्तर आन्दोलन गर्ने घोषणा गरेका प्रसाईंलाई राज्यले आज घरमै नजरबन्द गरेर राखेको छ । भने प्रदर्शनस्थल तोकिएको तीनकुने आउने समर्थकलाई प्रहरीले पक्राउ गरिरहेको छ । उनले भोलि पनि कार्यक्रमले निरन्तरता पाउने घोषणा गरिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पूर्वराजा पछिल्ला गतिविधि लक्षित गर्दै इतिहासको मञ्चबाट गलहत्याइएका तत्व फेरि फर्कने जमर्को गरेको टिप्पणी गरे ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भनेका थिए, ‘यो उपलब्धि सानो दु:ख, त्याग र बलिदानले प्राप्त गरेको होइन । अहिले इतिहासको मञ्चबाट गलहत्याइएका तत्वहरूले फेरि फर्कने जमर्को गर्छन् । निरंकुशतावादी तत्वहरू फेरि पुनरागमन गर्ने षड्यन्त्र गर्दैछन् ।’

उनले राजतन्त्र फेरि फर्काउन चाहने शक्तिको प्रयास पूरा नहुने दाबी गरे।

व्यवस्था परिवर्तन गर्ने अभियानले उग्र रूप लिँदैगर्दा सरकारले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन । यद्यपि, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रश्न व्यवस्थामाथि नभई राज्य सञ्चालकको काम गर्ने शैलीमा उठेको तर्क गर्छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘प्रश्न व्यवस्थामा उठेको होइन । प्रश्न हाम्रो काम गर्ने शैलीमा उठेको हो ।’

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो बल्खुमा पाँच-सात हजार मान्छे ल्याउँदा सरकार थर्कमान भएको टिप्पणी गरे ।

युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हिजो बल्खुमा भोलि उठी कहाँ जाने थाहा छैन भन्ने खालका । कहाँ हिँड्या हुन् थाहा छैन । केका लागि हिँड्या थाहा छैन । के माग हो ? के नारा हो ? थाहा छैन । तर, सरकार थर्कमान छ । हुन त सरकारको जग नै छैन । गठबन्धन छ । जरा छैन ।

उनले राजसंस्थालाई ‘मरेको प्रेत’ संज्ञा दिँदै जनताले काम नलाग्ने भनेर फ्याँकेको फेरि फर्किन नसक्ने दाबी गरे ।

प्रसाईंको आन्दोलन पनि सरकार भन्दापनि ओली र एमाले आक्रमक छ । उनलाई चुनौती दिन युवा संघले पनि जनप्रर्दशनको कार्यक्रम राखेको थियो । जसकारण प्रसाईंले पनि एमालेलाई तारो बनाइरहेका छन् ।

प्रसाईंले व्यवस्था परिवर्तन गरेर नागरिकको रक्षाका साथ राजतन्त्र फर्काउने उद्घोष गरेका छन् । तर, राजतन्त्रको एजेण्डा बोकेको प्रमुख दल राप्रपाले उनलाई साथ दिएको छैन । राप्रपाका केही नेताहरुले आन्दोलनमै गएर समर्थन जनाएपनि औपचारिक कुनै धारणा सार्वजनिक गरेको छैन ।

अध्यक्ष राजेन्द्र लिङ्देन भोलि झापामा हुने कार्यक्रमको तयारीमा छन्। झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितीमा भोलि राप्रपाले शक्ति प्रदर्शन गर्दैछन् । कार्यक्रमका लागि ज्ञानेन्द्र पनि झापा पुगिसकेका छन्। उनले पनि प्रसाईंको आन्दोलनबारे मुख खोलेको छैनन्। यद्यपी, प्रसाईंको अभियानको झापाबाटै पूर्वराजा ज्ञानेन्द्रले नै उद्घाटन गरेका थिए ।

प्रसाईंको अभियान ठूला दलहरुलाई चुनौती बनिरहेको बेलामा कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा कुनै पनि व्यक्तिले आफ्ना असन्तुष्टिहरू लोकतन्त्रमा सहज ढंगले राख्न पाउँने तर्क गर्छन् ।
उनी भन्छन्, सके आफू गर्ने नसके संसदमा पनि हामीले सरकारको विरोध गर्नको लागि विपक्षको बेञ्ज नै राखेका हुन्छन् । कहिलेकाहिँ संसदमा आफ्नो आवाज संसदमा विपक्षी मार्फत् राख्छन्, तर, विपक्षीसँग पनि विश्वास नभएपछि नागरिकहरू सडकमा आफैं आउँछन् । आफैं आउने क्रममा व्यक्ति वा समूह पनि आउनसक्छ । त्यसैले यो उनीहरूको नागरिक अधिकार हो ।

नागरिकको अधिकारमा अभिव्यक्ति स्वतन्त्रता हुने उनले बताए । संविधानले दिएको अधिकार प्रयोग गर्न सबैले पाउने उनको भनाइ छ । उनले अहिले प्रसाईं नेतृत्वको अभियानले गरिरहेको गतिविधि कानूनी, राजनीतिक र सामाजिक दृष्टिकोणले पनि उचित नभएको जिकिर गरे ।

विश्वकर्माले भने, ‘व्यवस्थाको विरोध सडकमा राख्नेभन्दा पनि संसदमा दुई तिहाइ बहुमत भयो भने व्यवस्था पनि बदल्नेसक्ने राखेको छौं । त्यसैले संवैधानिक बाटोबाट आउने प्रसस्त बाटो हुँदाहुँदै असंवैधानिक र अराजक गतिविधि गर्नु उचित होइन ।’

एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पनि प्रसाईंले आफ्नो आर्थिक असफलतालाई राजनीतिक आवरण दिएर उन्मुक्ति खोजिरहेको टिप्पणी गर्छन् ।

उनले भने, ‘अहिले समाजलाई अराजकतातिर लैजाने प्रयास भइरहेको छ। गणतन्त्र, लोकतन्त्र र वर्तमान व्यवस्थाकै विरुद्धको माध्यम बनाउन सकिन्छ कि भनेर पर्दापछाडि लागेको पनि देखिन्छन्। व्यवस्थाविरुद्ध उहाँलाई अगाडि ल्याएर पर्दा पछाडि बसेको मान्छेहरुले ट्रायल गर्न खोजेजस्तो देखिन्छ ।’

प्रसाईंको अभियानप्रति वर्तमान सरकार र गठबन्धन प्रतिक्रियाविहिन हुनुले आशंका पैदा भएको बताए ।

‘सरकार र गठबन्धनले यो चाहिँ एमालेको समस्या ठानेका हुन् कि ? तर, सरकारको रेक्सपोन्स राम्रो देखिँदैन । सरकारले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुपर्‍यो । पोलिटिकल्लि सामना गर्ने हो । यस विषयमा दलका नेता र प्रधानमन्त्रीको धारणा आवश्यक छ’, ज्ञवालीले भने ।

तर, माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल राजतन्त्र फर्काउने कुरालाई स्वीर्कान नसकिने बताउँछन् ।

उनी भन्छन्, ‘हामीले लडेर ल्याएको व्यवस्थाविरुद्ध राजतन्त्र फर्काउने कुरामा कुनै हालतमा स्वीकार्न सकिँदैन । राजतन्त्र फर्किने कुरा सम्भव पनि छैन। त्यस प्रकारका अराजक गतिविधिको माओवादीले सधैँ विरोध गर्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई अस्थिरतातर्फ धकेलेर देशमा अराजकता सिर्जना गर्ने तत्वहरूको प्रसाईंको पछाडि कहीँ न कहीँ समर्थन भएको उनको दाबी छ।

उनले भने, ‘उनी आफू सामान्य व्यक्ति हुन्। पूर्वराजावादीहरूले उचालेको देखिन्छ । पूर्वराजा ज्ञानेन्द्र शाहमात्रै नभएर सबै राजावादीहरूले उक्साएर भड्काउँदै अराजकता लिएर जाने पात्रको रुपमा दुर्गा प्रसाईंलाई अगाडि बढाएका छन् ।’

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारप्रति सांकेतिक असन्तुष्टि प्रकट गरे । मधेस पुगेका लामिछानेले भुइँमान्छेको आवाज उठाउनेलाई निषेध गर्न नमिल्ने तर्क गरे ।

‘आफूलाई लागेको कुरामा विरोध गर्न पाउनुपर्छ, प्रदर्शन गर्न पाउनुपर्छ, जनताको मुद्दा उठाउन पाउनुपर्छ । निषेधको राजनीतिक लामो समय टिक्दैन । जनतामा केन्द्रित मुद्दा उठाउनेमाथि कहीँकतै रोकटोक नहोस्’, लामिछानेले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *