रवीन्द्र मिश्रलाई खुलापत्र
आदरणीय रवीन्द्रजी,
तपाईं र उज्ज्वल थापाजीले एउटै कालखण्डमा नेपालमा वैकल्पिक राजनीतिको बिजारोपण गर्नुभयो भन्नेमा सायद दुई राय छैन । नेपाली राजनीतिमा पहिलो पाइला राख्दा उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दललाई चुन्ने कि तपाईं नेतृत्वको साझा पार्टीलाई चुन्ने भन्दा मैले तपाईं नेतृत्वको साझा पार्टी चुनेको थिएँ । यसका केही आधारहरू थिए:
पहिलो, तपाईंले लोक कल्याणकारी राज्य अबको आवश्यकता हो भनेर भन्नुभएको थियो र आज नेपालको आवश्यकता पनि लोक कल्याणकारी राज्य र डेलिभरी नै हो ।
दोस्रो, तपाईंले भन्ने गरेको बटम टु टप अप्रोचको सांगठनिक संरचना हो, जसले विकेन्द्रीकरणको सिद्धान्तलाई आत्मसात गर्छ ।
तेस्रो, माथिका दुबै कुरा पूरा गर्न सक्ने क्षमता र ज्ञान भएको नेतृत्व तपाईं हुन सक्नुहुन्छ भन्ने विश्वास थियो ।
नेपाली राजनीतिले धेरै उतारचढाव व्यहोरेको छ । २००७ सालको क्रान्तिले जनताले चाहेको पूर्ण लोकतन्त्र नल्याए पनि निरंकुश राणा शासनको अन्त्य गरी जनताको शासन हुने व्यवस्था सुनिश्चित गरेको थियो । जनताको चाहनाले पूर्णता पाउनु त परै जाओस्, तत्कालीन राजा महेन्द्रले शिशु अवस्थामै रहेको प्रजातन्त्रको हत्या गरे । उनले स्वाभाविक रुपमा गर्नुपर्ने केही काम पक्कै गरेका थिए होलान् । तर, जनताबाट निर्वाचित संसद र सरकारको क्रूर हत्या गरेकै थिए, शिशु प्रजातन्त्रको घाँटी निमोठेकै थिए ।
त्यसपश्चात् भएको २०४६ सालको जनआन्दोलनले फेरि नेपाली जनताको शासन पुनःस्थापना गर्यो । यद्यपि तत्कालीन परिस्थितिमा जनताले चाहेको पूर्ण लोकतन्त्रको माग पूरा हुन सकेन । राजाका केही अधिकार कटौतीसहित बहुदलीय प्रजातन्त्र नेपालको शासन प्रणाली बन्न पुग्यो । राजा सेरेमोनियल रुपमा बसून् र शासन नेपाली जनता आफैंले गरुन् भन्ने नेपाली जनताको चाहना आत्मसात गरेकाले तत्कालीन राजा वीरेन्द्र सर्वस्वीकार्य भएका थिए । तर, एउटै वंशमा जन्म लिने सबै व्यक्ति समान रुपका कहाँ हुन सक्छन् र ?
दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र र उनको वंश नाश भएपश्चात् भने नेपाली राजनीतिले नयाँ मोड लियो । दाइको हत्यापछि राजगद्दीमा आसीन भाइ राजा ज्ञानेन्द्रले दाइको भन्दा बुबाको पदचापमा हिँड्ने निर्णय गरे । अनि फेरि जनताबाट निर्वाचित संसदको विघटन भयो । २१औं शताब्दीमा पूर्वराजा ज्ञानेन्द्रले लोकतन्त्रविरुद्ध चालेको त्यो कदम आजको दिनमा इजरायलले प्यालेस्टाइनका शिशुहरुको विभत्स नरसंहार गरे बराबरको थियो । नेपाली जनता दरबारबाट पटक पटक हुने यस किसिमको व्यवहारबाट आजित भइसकेका थिए । उनीहरू पूर्ण लोकतन्त्र र संविधानसभाको लागि फेरि एक पटक सडकमा ओर्लिए । परिणाम के भयो- राजतन्त्र इतिहास हुन पुग्यो । जनताले आफ्नो संविधान आफैं लेखे र व्यवस्था परिवर्तनको तिर्खा सम्भवतः मेटाए । त्यसपश्चात् नेपाली जनताको चाहना अवस्था परिवर्तनको रहँदै आएको छ ।
प्रिय रवीन्द्रजी,
यी सबै कुरा तपाईंलाई ज्ञात नभएको अवश्य होइन । तर, तपाईं नशामा युद्ध गर्न हिँडेको सेना जसरी बुझ्न नसक्ने अवस्थामा पुगिसक्नु भएको छ । वंशमा आधारित राजनीतिको केही सत्यता तपाईंलाई बताउन चाहन्छु । प्राचीनकालमा एक पुस्ताबाट अर्को पुस्तामा परिवारभित्रबाट सीप हस्तान्तरण हुन्थ्यो । त्यसकारण परिवारको पेसा नै हरेक पुस्ताले अवलम्बन गरेको पाइन्छ । आधुनिक युग र औपचारिक शिक्षाले अब सीप विकास परिवारभित्र सीमित रहेन । त्यसकारण वंशका आधारमा होइन, योग्यता र प्रतिस्पर्धाका आधारमा मानिसको पदस्थापन हुनुपर्छ भन्ने हो । आजको युग त्यसैको हो ।
अब तपाईंका पछिल्ला केही अराजक र अतिवादी अभिव्यक्तिहरूमा जाऔं । बहुलवादमा आधारित लोकतन्त्र स्वीकार्नेले अरु कसैले पुरातनवादी विचार राख्छ भने त्यो विचार राख्न पाउने अधिकारको सम्मान नै गर्छ । त्यसैको उपजको हिजो बोल्ने स्वतन्त्रतासम्म नदिने राजतन्त्रको तपाईंले वकालत गरिरहँदा त्यसबाट पीडित राजनीतिक दलहरूले भने तपाईंको स्वतन्त्रता छिनेका छैनन् । यी राजनीतिक दलले त्यो अधिकारको सुनिश्चितता गरेका छन् । अब डेलिभरी र अवस्था परिवर्तनको बहसमा राजनीति केन्द्रित हुनुपर्छ भन्नेमा जनताको चाहना छ । यो अकाट्य सत्य हो ।
श्रद्धेय रवीन्द्रजी,
तर, आज तपाईं आफैंले सुरु गरें भनेर दाबी गर्ने ‘कल्याणकारी लोकतन्त्र’को बहसबाट धेरै टाढा पुगिसक्नु भएको छ । कतिसम्म टाढा पुग्नु भयो भने आज तपाईंको राजनीतिक एजेण्डा केवल एउटामात्रै रहेको छ । त्यो हो- राजतन्त्र पुनःस्थापना । हालै तपाईंले लेखेका केही स्टाटस पढ्ने हो भने तपाईं र तपाईं आबद्ध पार्टीसँग अरु एजेण्डा नै नभएको र एकल एजेण्डा ‘राजतन्त्र’ रहेको पुष्टि हुन्छ ।
आजको दिनमा असान्दर्भिक भए पनि ‘राजतन्त्र’को एकल एजेण्डा बोक्न पाउनु तपाईं, तपाईं आबद्ध पार्टी या अन्य कसैको अधिकारको विषय हो । बहुलवादलाई स्वीकार्ने मलाई त्यसमा धेरै चासो रहने कुरा भएन । तर, आज यो खुलापत्र लेख्न बाध्य बनाएको तपाईंका केही खतरनाक र हानिकारक योजना देखेर हो ।
तपाईंले भनिरहनु भएको खोपीमा राख्ने राजा भ्रममात्र होइन, षड्यन्त्रपूर्ण अभिव्यक्ति हो । पहिलो त नेपालका राजाहरू शक्तिविना बस्नै सक्दैनन् भनेर माथि नै लेखिसकेको छु । दोस्रो जुन किसिमका समस्या तपाईंले औंल्याइरहनु भएको छ, त्यो शक्तिहीन राजाले कदापि समाधान गर्न सक्दैनन् । राजा जादुगर त पक्कै होइनन् । त्यसो त राजतन्त्र स्थापना गर्न संविधान संशोधन गर्न प्रयास गर्ने हो भने त्यसले यस्तो प्याण्डोरा बक्स खोलिदिनेछ, जसले के के प्रलय निम्त्याउने हो, त्यो यसै भन्न सकिँदैन । संविधानसभाताका आफ्नो एजेण्डा स्थापित गर्न शक्ति राष्ट्रहरू लागेको कुरा तपाईं आफैंले बारम्बार लेख्नु नै भएको छ । अहिले आएर संविधानको त्यसै स्तरको पुनर्लेखन गर्ने हो भने देशमा कुन तहको अस्थिरता सृजना हुन्छ ? त्यसको हेक्का तपाईंले राखेको पाइँदैन ।
तपाईंले पछिल्लो स्टाटसमा केसम्म लेख्न भ्याउनुभयो भने नेपालमा अब सुशासन दिए पनि हुँदैन रे ! अहिलेको व्यवस्थामा सुशासन, डेलिभरी र विकास जस्ता काम भएमा राजतन्त्रको बहस फितलो हुने देखेर अर्को भ्रमको एक्का फ्याँक्न खोज्नु भएको नबुझ्ने सायद कमै होलान् । शब्दको प्रयोग सायद निम्नस्तरको होला भनेर लेख्न चाहिनँ । तर, के चाहिँ पक्का हो भने तपाईं आजको दिनमा यो व्यवस्था रहँदा देशमा केही पनि राम्रो नहोस् भनी चाहने स्तरमा पुग्नु भएको छ । यो साह्रै दुःखद छ ।
तपाईं बारम्बार जनतालाई भावनात्मक ब्ल्याकमेलिङ गर्न खोजिरहनु भएको छ । त्यो साह्रै खेदजनक छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा आज नेपालीको छोरा राष्ट्र प्रमुख भएको तपाईंलाई असह्य छ । संवैधानिक अवस्थामा रहने राष्ट्रपति या कार्यकारी भूमिकामा रहेको सरकारलाई गुण र दोषको आधारमा जनताले पुरस्कृत या दण्डित गर्ने अधिकार त छँदैछ । हो, तपाईंले चुनाव जित्न सक्नुभएन होला । तर, हालैको चुनावमा जनताले मत परिवर्तन गरेकै हुन् । कुनै दल या विचारप्रति धेरै व्यक्तिको आस्था छ भन्दैमा त्यसलाई होच्याउने होइन, आफ्नो विचार सच्याउन पर्छ भनेर तपाईंलाई मैले भनिरहनु पर्ने विषय त होइन जस्तो लाग्छ ।
राम्रो काम जसले गरे पनि हुन्छ । अनि असल विचार जसले राखे पनि हुन्छ । म सक्दैन तर अनुभवहीन नै भए पनि कुनै अमुक वंशको एउटा ठिटोलाई राजगद्दीमा बसायोे भने देशले काँचुली फेर्छ भन्नेले कम्तिमा राजनीति भने गर्नुहुँदैन । तपाईं जब समाजमा जातीय र धार्मिक अतिवाद बढ्यो भन्नुहुन्छ तब तपाईंको आशय नेपालमा अतिवाद बढोस् भन्ने चाहना हुन्छ । जब तपाईं नेपाल असफल राष्ट्रउन्मुख भइरहेको छ भन्नुहुन्छ तब तपाईंको चाहना नेपाल असफल राष्ट्र भइदिओस् भन्ने हुन्छ । यस्तो देश र जनताविरोधी चाहना र सोच राख्ने व्यक्ति राष्ट्रवादी त के सामान्य नेपाली नागरिकसमेत हुन सक्दैन ।
यस्ता अराजक अभिव्यक्तिका बीच युवाहरू विदेश पलायनका कुरा पनि गलत मनसायका साथ उठाएको देख्छु । तर, तपाईंले के हेक्का राख्न जरुरी छ भने गोर्खा भर्तीकेन्द्रका नाममा युवालाई मर्न बेच्ने काम राजाकै पालामा सुरु भएको थियो । केही रकममा गैंडा बेच्ने, तस्करीका काण्डहरू र अन्य धेरै गैरकानूनी काम लोकतन्त्र नभएकै आडमा लुकाइएका हुन् । आज निर्मला हत्याकाण्ड भनेर उफ्रिने तपाईंलाई नमिता-समिता काण्डको बारेमा ज्ञान छैन भनेर म पत्याउँदिनँ ।
अन्तमा रवीन्द्रजी,
म राजतन्त्रलाई दानवीकरण या गणतन्त्रलाई देवत्वकरण गर्न यो खुलापत्र लेखिरहेको छैन । मेरो आशय के हो भने तपाईं आफू हतियार नबोकी जनतालाई हतियार बोक्ने अवस्थामा पुर्याउँदै हुनुहुन्छ । यदि तपाईंले यो बुझ्नुभएको रहेनछ भने आजैका मितिदेखि फेरि कल्याणकारी लोकतन्त्रको बहस सुरु गरेर आफूलाई सच्याउनुहुनेछ भन्ने सदीक्षा राख्छु । तपाईंका अर्थ-सामाजिक नीति सही भए र जनताले पत्याए भने तपाईं आबद्ध पार्टीले नै सत्ता चलाए भयो । राम्रा काम तपाईंहरूले नै गरे भयो । एजेण्डा केन्द्रित बहस र बहस केन्द्रित राजनीतितर्फ तपाईंको ध्यान जानेछ कि भन्ने झिनो आशाका साथ यो पत्र लेख्दैछु ।
तर, यदि त्यसो हुन सकेन भने हेक्का रहोस् इतिहास निर्मम हुन्छ । वर्तमान आग्रह पूर्वाग्रहपूर्ण हुनसक्छ । तर, इतिहास भने सदा निर्मम हुन्छ । यसको सानो उदाहरण पेस गर्दै यो चिठीको अन्त गर्न चाहन्छु । तपाईं आफैंले सुरु गरेको पार्टी र तपाईंसँग नजिक भएका साथीहरूले विवेकशील साझालाई अघि बढाउँदै गर्दा पूर्वअध्यक्षका हैसियतले तपाईंलाई बिर्सेका छन् भने उज्ज्वल थापा छोटो समयका लागि संयोजक भए पनि उनलाई हरेक पटक सम्झिएका छन् । तपाईं आफैं पनि आफ्ना सामाजिक सञ्जालमा आफ्नोबारेमा विवेकशील साझाको भूतपूर्व अध्यक्ष लेख्न नसक्ने अवस्थामा पुग्नुभएको छ ।
अरुलाई विचारको जञ्जिरमा फसेको भनेर आरोप लगाउँदालगाउँदै कतै आफैं राजतन्त्रको जडसूत्रतामा त फसिरहनु भएको छैन ? राजतन्त्र व्युँताउँदा भारतको वर्चश्व नेपालमा कायम रहन्छ भनेर लेख लेख्दा होस् कि राजतन्त्रको समर्थनमा आन्दोलन गर्ने भए दुर्गा प्रसाईंको तुच्छता पनि आशीर्वाद मान्ने अवस्था होस्, तपाईं शाही कुलिनताको यस्तो दलदलमा फसिसक्नु भयो, जहाँबाट बाहिर निस्कन तपाईंलाई फलामको चिउरा चपाएसरह हुनेछ ।
तर पनि सकारात्मक पक्षबाट के भन्न चाहन्छु भने तपाईंको ज्ञान र भाषाको विज्ञता नेपालको विकास र नीति निर्माणमा खर्च होस् ।
पशुपतिनाथले हामी सबैको कल्याण गरुन् !
नेपालको जय होस् !
हार्दिक अभिवादनसहित
तपाईंको प्रिय
आशिष रेग्मी