अर्जुनधाराको आवधिक नगर विकास योजना सार्वजनिक – Nepal Press

अर्जुनधाराको आवधिक नगर विकास योजना सार्वजनिक

झापा । सभामुख देवराज घिमिरेले झापा अर्जुनधारा नगरपालिकाको ४ आवधिक योजना सार्वजनिक गरेका छन् । सभामुखका स्वकीय सचिव एवं योजना तर्जुमा विज्ञ केशवराज ढुंगेलले उक्त योजना नि:शुल्क निर्माण गरिदिएका हुन् ।

नगर विकास योजना सार्वजनिक कार्यक्रममा ढुंगेलले आर्थिक वर्ष २०७९/८० मा योजना निर्माणका लागि ४० लाख रूपैयाँ विनियोजन गरे पनि आफूले निःशुल्क निर्माण गरेको जानकारी गराए ।

‘नगरपालिकाले नगर विकास योजना निर्माणका लागि विगत २/३ वर्षदेखि हरेक वर्ष बजेट विनियोजन गरे पनि काम हुन सकेको थिएन,’ उनले भने, ‘६ महिनाको प्रयासपछि कार्ययोजना नगरपालिकालाई हस्तान्तरण गरेको छु ।’

ढुंगेल नेतृत्वको कञ्चनजंघा परामर्श सेवा प्रालिले विभिन्न स्थानीय तहमा नीति तथा कार्ययोजना निर्माण गर्दै आएको छ । उहाँले आवधिक योजनाहरु तयारी गर्ने तर कार्यान्वयनमा नलैजाने प्रवृत्ति देखिएको भन्दै अर्जुनधारा नगरपालिकाले भने कार्यान्वयनका लागि तदारुकता देखाउने विश्वास जनाए ।

नगर विकास योजना आगामी दिनमा विकास योजना बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे ।

मेयर बलदेवसिंह गोम्देन तामाङले आवधिक योजनालाई केन्द्रमा राखेर दीर्घकालीन लक्ष्य, नतिजा, रणनीति तथा प्राथमिकता तय गरिने जानकारी गराए । हरेक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट आवधिक योजनामा आधारित हुने उनले प्रतिवद्धता जनाए ।

उपमेयर खड्गमाया पराजुलीले नगरपालिकाको विकास र समृद्धिको लागि सहभागितात्मक प्रक्रियाबाट आवधिक योजना तर्जुमा गरिएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर