कलेजको शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र’ लेखिएपछि विवाद, राष्ट्रगान पनि बजाउन दिइएन
झापाका सीडीओ भन्छन्– श्री ५ महाराजाधिराज लेखिएको भए तत्काल मेटाउन लगाउँछौं, कलेजका सीइओ भन्छन्– राजाको सचिवालयबाटै त्यस्तो आयो अब सच्याउँछौँ
बिर्तामोड । तामझामका साथ झापाको बिर्तामोड-१ स्थित इकम कलेजमा अनावरण गरिएको पृथ्वीनारायण शाहको सालिकसँगैको शिलालेखको कारण विवादित बनेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले शनिवार सालिक अनावरण गरेका हुन् । सोही क्रममा इकम कलेजको समेत उद्घाटन गरेका थिए । शिलालेखमा ज्ञानेन्द्र शाहलाई श्री ५ महराजाधिराज भनेर उल्लेख गरिएकोमा कलेजले त्रुटि भएको जनाएको छ ।
इकम कलेजले राजतन्त्रको अन्त्य भएको १५ वर्षपछि पूर्व राजाको नाम शिलालेखमा बहालवाला राजा सरह लेखेपछि विरोध सुरु भएको छ । नेपाल सरकारको नीति नियम बमोजिम दर्ता भई सञ्चालनमा रहेको इकमले शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह’ लेखेको छ ।
शिलालेखको लेखाई अनुसार कार्यक्रम आयोजक संस्थाले संविधानको ठाडो उल्लंघन गरेको जनप्रतिनिधिले बताएका छन् । कलेजले राजतन्त्रकै हवाला दिने गरी शिलालेख बनाएर पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिमा उद्घाटन गरेको थियो भने बिर्तामोडका मेयरलगायत जनप्रतिनिधि अनुपस्थित थिए ।
कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले शिलालेखमा त्रुटि भएको स्वीकार गरेका छन् । उनले पूर्वराजाको सचिवालयबाट प्राप्त फर्म्याट अनुसार शिलालेख तयार गरिएको जानकारी दिए ।
उनले भने, ‘शिलालेख तयार भइसकेपछि हामीले पनि महसुस गरेका थियौँ । तर, समय अभावले सच्याउन सकेनौँ । आज बिदा छ, २ दिनभित्र पूर्व राजा लेखेर अर्को शिलालेख राख्नेछौँ । उनले आफूहरू संविधानविरुद्ध नरहेको स्पष्ट पारेका छन् ।’
पूर्व राजाको सचिवालयले भने उनलाई श्री ५ महाराजाधिराज भनेरै सम्बोधन गर्छ र सचिवालयबाट जारी हुने वक्तव्यमा पनि सोही व्यहोरा राखिने गरेको छ । तर संविधानमै नभएको श्री ५ को पदवी सार्वजनिक शिक्षण संस्थाले दिन नमिल्ने प्रष्ट छ ।
कार्यक्रममा राष्ट्रिय गान ‘सयौँ थुँगा फुलका हामी, एउटै माला नेपाली’ समेत बजाइएको थिएन । पूर्वराजाको सचिवालयबाटै राष्ट्रिय गान नबजाउन अनुरोध आएको कलेजले जनाएको छ ।
सो सन्दर्भमा जिज्ञासा राख्दा कार्कीले भने, ‘राष्ट्रिय गान नबजाउन अनुरोध थियो । हामीले बजाउन नपाएकोमा खल्लो लागेको छ ।’
पूर्व कानूनमन्त्री अग्नी खरेलले राजतन्त्र नभएको देशमा कलेजले राजा छन् भन्ने सन्देश दिन खोजेर गम्भीर त्रुटि गरेको बताएका छन् । उनले उक्त कलेजलाई तत्काल त्रुटि सच्याउन भनेका छन् । संविधानविपरीत जान कसैलाई छुट नभएको उनको धारणा छ ।
कलेजले शिलालेखमा लेखेको पद मुलुकमा नरहेको बताउँदै उनले संविधानले राजा नचिन्ने बताए ।
यो गणतन्त्रात्मक देश हो, यहाँ कुनै राजा महाराजा छैनन्, खरेलले भने- पूर्व राजा वा तत्कालीन राजा लेख्न मात्रै पाइन्छ ।
पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलले ‘श्री ५ महाराजधिराज’ लेख्दा पनि नेपाल सरकारले के हेरेर बसिरहेको छ भन्दै प्रतिप्रश्न गरेका छन् । उनले राजतन्त्र अन्त्य भइसकेको अवस्थामा राजा छन् भन्ने सन्देश दिनु शैक्षिक संस्थाको ठुलो कमजोरी भएको बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले हुँदै नभएको पद लेख्न नपाइने बताएका छन् । उनले भने- ‘यो विषयमा जानकारी लिइरहेको छ, लेख्न नमिल्ने विषय लेखेको भए तत्कालै मेटाउन लगाइने जानकारी दिए ।’
यहाँ कलेजका पदाधिकारी र प्रमुख जिल्ला अधिकारीले काइते भाषा बाेलेका छन् । देशमा राजा रहेकाे सन्देश जबर्जस्ति दिन खाेजेकाे देखिन्छ र प्रमुख जिल्ला अधिकारीले आँखा चिम्लेकाे र पाेल खुलेपछि जीब्राे चपाएर कुरा गरेकाे देखिन्छ । दुवै कानूनी कारवाहीकाे भागी देखिन्छ ।