अनेरास्ववियु ताप्लेजुङका सह-संयोजक बानियाँमाथि खुकुरी प्रहार
विराटनगर । अनेरास्ववियु ताप्लेजुङका सह-संयोजक विवेक बानियाँमाथि खकुरी प्रहार भएको छ । एमाले भ्रातृ संगठन अनेरास्वियुका नेता तथा कोशी प्रदेशसभा सदस्य तीलकुमार मेन्याङ्वोका स्वकीय सचिवसमेत रहेका उनलाई फुङ्लिंग नगरपालिकास्थित पाथिभरा होटलमा खुकुरी हानिएको हो ।
स्थानीय ठेकेदार प्रेम मावोले लेनदेनको विषयमा एमाले नेता तथा कार्यकर्ताहरूको अगाडि नै बानियाँमाथि खुकुरी प्रहार गरेका हुन् । मावोले दिनुपर्ने ९ लाख २० हजार रूपैयाँ बानियाँले ताकेता गरिरहेकोमा मावोले दिएको चेक नसाटिएपछि उनले केही दिनअघि चेक बाउन्सको मुद्दा दायर गरेको बताइएको छ ।
मुद्दा दायर गरेपछि हिजो सो विषयमा दुई पक्षबीच छलफल भएको थियो । आज भने होटल अगाडि खेदाईखेदाई खुकुरी हानिएको प्रहरीले बताएको छ ।
बानियाँको जिल्ला अस्पताल ताप्लेजुङ्गमा उपचार भइरहेको छ ।