बसाइ तराईमा, देउता छन् पहाडमा
डोटी । कैलालीको धनगढी उपमहानगरपालिका- २ मा बस्दै आएका गणेश ओझा कात्तिक शुक्ल एकादशीका दिन पूजा हुने डोटीको कालिकास्थान नमादेवको दर्शनार्थ सपरिवार पहाड चढे । तराईमा बसोबास गर्दै आएका उनी परिवारसहितै गाडी रिजर्व गरेर देउताको दर्शन गर्न डोटी पुगे ।
तराई बसेका व्यक्तिलाई देउताको दर्शन र पूजा गर्न किन पहाड उक्लिनुपर्ने बाध्यता पर्यो ?
‘धेरै वर्ष भयो ‘माल’ (तराई) बस्न लागेको ! अरु बेला त फुर्सद हुँदैन । यही कुल देउता पूजाको बेला हो पहाड उक्लिने’, डोटीको आदर्श गाउँपालिका- २ मा जन्मिएका ओझाको जवाफ थियो, ‘कुल देउता भएका कारण नियमित रुपमा वार्षिक पूजामा सहभागी हुन पहाढ उक्लिनैपर्छ ।’
लामो समयदेखि कैलालीकै टीकापुर नपा- ६ मा बस्दै आएका नरेश बिक पनिा लाटा मष्टाको पूजाका लागि पुर्ख्यौली गाउँ बोगटान फुड्सिल गाउँपालिका- ६ पुगे । कात्तिक शुक्ल पूर्णिमाका दिनलाटा मष्टा (मण्ठा)को जात्रा हुन्छ । त्यसै दिन पूजाका लागि गाउँ आएका उनी भन्छन्, ‘आफ्नो पुर्ख्यौली माटो पुज्नैपर्ने भएका कारण परिवारसहित पहाड आएका छौं ।’
धनगढी उपनगरपालिका- ९ मा बस्दै आएकी बोगटान फुड्सिल-७ की पवित्रा बम पनि माटो पुज्न पुर्ख्यौली थलो पुगिन् । ‘माटो पनि पुज्नैपर्ने र आफ्नो कुल देउताको दर्शन गरे सुख र शान्ति मिल्ने भएका कारण आएँ’, उनी भन्छिन्, ‘देउताको गाँज आफैं नाच्ने भएका कारण देउतामा शक्ति छ भन्ने विश्वास छ ।’
सोही विश्वासका कारण आफू दुःख गरेरै पहाड आएको पवित्रा बताउँछिन् ।
डाेटीकाे शिखर नगरपालिका- ४ मुड्भरामा जन्मे हुर्केका ६८ वर्षीय महेश शर्मा अचेल कैलालीको हसनपुरमा बस्दै आएका छन् । बाल्यकाल मुड्भरामै बिताएका महेश दुई वर्ष विविध कारणले कुल देउताको पूजामा पहाड आउन पाएनन् । यस पटक भने उनी मुड्भरा पुगे ।
‘हामी २०४० सालदेखि तराईतिरै बस्दै आएका छौं । तर, आफ्नो गाउँको काफली र पशुपतिलाई बिर्सेका छैनौं’, महेश भन्छन्, ‘मलाई मेरा कुल देउता काफली पशुपतिले गलत बाटोमा लाग्न दिएनन् ।’
लामो समयको तराई बसाइपछि कुल देउताको पूजा गर्न र जात्रा हेर्न पहाड आउनेहरुको संख्या कम छैन । कात्तिक शुक्ल पक्षमा हुने विभिन्न देवीदेवताका जात्रापर्वहरुको दर्शन गर्नेको संख्या पहाडमा बढ्दो छ । गत वर्षको तुलनामा यस वर्ष गाउँ बाहिर बस्नेहरु बढी आएको आदर्श गाउँपालिकाका तपराज ओझा बताउँछन ।
धार्मिक एवं पर्यटकीय हिसाबले सुदूरपपश्चिमकै उच्च स्थानमा रहेको डोटी शैलेश्वरीको जात्रा सोमबार भयो । जात्राका कारण सिलगढी बजारमा केही दिनयता चहलपहल बढेको छ । जात्राको अवसर पारी शैलेश्वरीको दर्शन गर्न पुस्तौंदेखि बसाइ सरी अन्यत्र बस्दै आएकाहरुको उल्लेख्य उपस्थिति देखिन्छ ।
शैलेश्वरी माताको दर्शन पनि हुने र आफन्तहरुसँग भेटघाट पनि हुने भएका कारण आएको उनीहरु बताउँछन् । बसाइ जहाँको भए पनि देउताप्रतिको आस्था नमर्ने उनीहरुको भनाइ छ ।
आफ्नो पुर्ख्यौली थलो छोडेर लामो समयसम्म बाहिर बस्दै आए पनि आआफ्नो कुल देउताको दर्शन गर्न पहाड चढ्नेहरु कम भएका छैनन् । सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट बसाइ सरी कैलाली र कञ्चनपुर पुग्ने दर तीब्र छ ।
डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको देहीमाण्डौंलगायतका स्थानमा कात्तिक शुक्ल पूर्णिमाका दिन र अन्य स्थानमा विभिन्न तिथिमा हुने जात्रा पर्वका कारण यात्रुको संख्या पनि बढेको यातायात व्यवसायीहरु बताउँछन् ।
‘तिहारयता गाडीहरु प्याक नै छन्’, धनगढी-सिलगढी चल्ने माइक्रो बसका चालक दीपक साउदले भने ।