बालेन साहले गरे चन्द्रबिनायक जात्रा क्षेत्रको अवलोकन – Nepal Press

 बालेन साहले गरे चन्द्रबिनायक जात्रा क्षेत्रको अवलोकन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चन्द्रबिनायक तथा भैरवनाथ जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन गरेका छन् ।

जात्राको पहिलो दिन  सोमबार राति मेयर साहले चारुमती बिहार, गणेशस्थान, कुटुबहाललगायत क्षेत्रका बारेमा जानकारी लिएका हुन् ।

त्यस क्रममा वडा ७ का अध्यक्ष बिमल होडा, वडा नं ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगतले जात्रासँग सम्बन्धित ठाउँ, संस्कार, संस्कृति र सामाजिक जीवनका बारेमा जानकारी गराएका थिए।

जात्राको पहिलो दिन गुठीयार पूर्ण संगतको घरबाट भैरवको र सानुकाजी शाक्यको घरबाट गणेशको मूर्ति गणेशस्थान परिसरमा ल्याइ गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइएको थियो । यसका लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ ।

यसरी जगाइएको धुनी तापे चिसो नलाग्ने, चिसो लागिसकेको भए यसको असर हराउने, घुँडा दुख्ने, शरीर दुख्ने समस्या समाधान हुने जनविश्वास छ ।

धार्मिक आस्था र सामाजिक मान्यता 

चन्द्र विनायकको भाकल गरे शरीरमा आएका घाउ खटिरा निको हुने, हराएका सामान भेटिने विश्वासकासाथ पूजा गर्ने गरिएको पाइन्छ । यहाँका भैरवनाथ मन्दिरको नजिक चार किल्लामा बस्ने स्थानीयबासीमा कहिल्यै झाडा पखाला नलाग्ने विश्वास गरिन्छ ।

कुनै नयाँ कामको थालनी गर्दा, विदेश जाँदा वा नयाँ संकल्प लिँदा मनोकामना पूरा होस् भन्नका लागि यहाँ आउने श्रद्धालुहहरुको संख्या बढी पाइन्छ ।

मन्दिरसँग सम्बन्धित अर्को महत्वपूर्ण पक्ष भनेको परम्परागत वैद्यहरुलाई वैद्य विद्या तथा उपचार गणेशको पूजा गरेपछि मात्र सिकाउने गर्नु हो । वैद्यहरुको यो कार्यसँग जोडेर चन्द्रविनायकलाई गुरु गणेश पनि भन्ने गरिएको छ । यसबाहेक प्रत्येक दिनको उमंग र सफलताका लागि मन्दिर आउने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य पाइन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *