लुम्बिनीमा ‘शान्ति घन्टी’ को उद्घाटन गर्दै पर्यटनमन्त्रीले भने- बुद्धको सन्देश विश्वरभर फैलाऔं – Nepal Press

लुम्बिनीमा ‘शान्ति घन्टी’ को उद्घाटन गर्दै पर्यटनमन्त्रीले भने- बुद्धको सन्देश विश्वरभर फैलाऔं

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले मंगलबार बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्राथना गर्न कोरियाली धर्मगुरुद्वारा निर्माण गरिएको ‘शान्ति घन्टी’ को उद्घाटन गरेका छन् । कोरिया नेपाल मित्रता पिस पार्कमा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा तयार पारिएको डेढ टनको घन्टी विश्व शान्तिको कामना गर्दै घन्टी बजाएर उद्घाटन गरिएको हो ।

१०८ बुद्ध समाज तीर्थयात्रा प्रार्थना समूका सदस्यहरु, नेपाल लुम्बिनी विकास समितिको आयोजनामा शान्तिका लागि प्रार्थना गर्न कोरियाली घन्टी बजाउँदै घण्टी उद्घाटन समरोह गरिएको हो । उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री किराँतीले बुद्धभूमिबाट घन्टी बजाएर विश्व शान्तिको सन्देश दिएको बताए ।

भिक्षुहरुले बुद्धजन्मस्थल लुम्बिनीमा चढाएको घन्टीले कोरिया र नेपालीहरुविचको निस्वार्थ सम्बन्धलमई थप प्रगाढ बनाएको समेत मन्त्री किराँतीले बताए । उनले बुद्धको सन्देश विश्वभर फैलाउन शान्ति घण्टीले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे ।

‘नेपाल कोरियाबीच इतिहासजस्तै पुरानो, समुन्द्रजस्तो शान्त र हिमालजस्तै अग्लो सम्बन्ध छ’, लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किराँतीले भने, ‘कोरियाले नेपालीहरुलाई रोजगारी दिएर र नेपालीहरुले पसिना दिएर सहयोग गरेका छौं, अब कोरियाली जनताले बुद्धभूमि लुम्बिनीको प्रचार गरेर सहयोग गर्नुपर्छ ।’

उनले संसारभरका बुद्धमार्गीहरुलाई लुम्बिनी जाऔं भन्ने अभियान कोरियामा चलाउन घन्टी उद्घाटन समारोहमा सहभागी हुन आएका बौद्ध गुरु, भिक्षु भिक्षुणी, उपासक, उपासिकाहरुसँग अनुरोध गरे । ‘नेपालीहरु पाहुनालाई भगवान मान्छौं, अब तपाईहरुले बुद्धभूमि लुम्बिनी जाऔं भन्ने अभियान चलाउनुहोला, परिवारसहित लुम्बिनीमा आउनुहोस्’, मन्त्रीले भने ।

उनले गौतमबुद्धलाई जन्म दिने आमा मायादेवीको चर्चा कम हुने गरेको बताउँदै अब लुम्बिनीमा आधुनिक प्रसुती गृह निर्माण गर्नुपर्ने बताए । बुद्धजस्तै सन्तान जन्माउनका लागि मायादेवी प्रसुती अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै विश्वका बौद्धधर्मालम्बीहरुलाई सहयोग गर्न मन्त्री किराँँतीले आग्रह गरे ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) का तर्फबाट सदस्यसचिव सानुराजा शाक्यले सन्देश वाचन गर्दै कोरियन शान्ति घन्टीको अनावरण र उद्घाटनको अवस्थासम्म ल्याउने भिक्षु गुरु सन्मुक हेजा र कोरियाका बौद्ध धर्मावलम्बीहरुलाई धन्यवाद दिए । उनले शान्ति घन्टीको अर्थ बुद्धको शान्ति र दयाको शिक्षाबाट विश्वमा द्वन्द्वको समाधान र शान्ति स्थापनाको सन्देशका रुपमा बुझ्नुपर्ने बताए ।

शान्ति घन्टी स्थापना गर्ने कोरियाली बौद्ध धर्म गुरु सन्मुक हेजाले बुद्धजन्मस्थल लुम्बिनीमा स्थापित शान्तिको घन्टीले विश्वमा शान्ति स्थापनाका लागि सन्देश दिने विश्वास व्यक्त गरे । ‘यो घन्टीको आवाज बुद्ध र बोधिसत्वको आवाज हो, बुद्धका ८४ हजार शिक्षाहरुले प्राणीहरुको पीडालाई राहत दिने प्रतिक हो’, धर्मगुरु हेजाले भने, ‘बुद्धको जन्मस्थलबाट बज्ने घण्टीले बुद्धत्वको अवस्थामा नपुगेका साधकहरुलाई साहस र शक्ति प्रदान गर्नेछ र प्राणीहरुको पीडालाई आनन्दको आवाज दिनेछ ।’

लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रो डा. सुवर्णलाल बज्राचार्य, कोरियाली बौद्ध धर्मका जोगे अर्डरका सचिव थेजुङसा नुङदकले बोल्दै बुद्धजन्मस्थलमा शान्ति घन्टी स्थापनाले धार्मिक वातावरण बनाउने बताए । उद्घाटन समरोहमा नेपालका लागि कोरियाली काउन्सीलर जीङ ही, वरिष्ठ पुरातत्वविद् बसन्त बिडारी, लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राईलगायतले आफ्ना धारणा राखेका थिए ।

यसअघि धर्मगुरु सन्मुक हेजाकै नेतृत्वमा २००७ मा कोरिया नेपाल मैत्री शान्ति पार्क, विश्व शान्तिका लागि प्रार्थना गर्ने स्मारकको निर्माण तथा अनावरण गरिएको थियो । यसअघि सोमबार बेलुका मायादेवी मन्दिर, घन्टी निर्माण स्थलमा कोरियाली धर्म गुरु, भिक्षु भिक्षुणी, उपासक उपासिकाहरुले पूजा गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *