प्रदेशलाई अधिकार नदिएर अलपत्र पारेको लुम्बिनीका मुख्यमन्त्रीको गुनासो
रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीय सरकारले संविधानको मूल मर्मअनुसार प्रदेशलाई अधिकार नदिँदा धेरै काम अस्तव्यस्त बनेको गुनासो गरेका छन् ।
‘अधिकार प्राप्त नहुँदा प्रदेश सरकार ‘पंगु’ बनेको छ, यो विषयमा धेरैपटक धेरै ठाउँमा आवज उठाएपनि सुनुवाई भएकै छैन’मंगलबार नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले भने । उनले प्रदेश सरकारले गर्नसक्ने कामहरु पनि संविधानको मूल मर्मअनुसार अधिकार नदिँदा अलपत्र परेको जनाए ।
मुख्यमन्त्री चौधरीले प्रदेश सरकारलाई अधिकार दिए प्रदेशको विकासका लागि कुनै समस्या नरहेको बताउँदै प्रदेशलाई अधिकार दिए संघीयताको कार्यान्वयनसँगै देशको विकास सजिलोसँग गर्न सकिने धारणा राखेका छन् ।
मुख्यमन्त्री चौधरीले प्रदेश सरकारलाई अधिकार दिए प्रदेश जति विकास गर्न सक्ने र जनतालाई सजिलै हेर्न सक्ने सरकार कुनै पनि बन्न नसक्ने दावी गरे । उनले प्रदेशलाई अधिकार दिएर प्रदेश प्रदेश बीचमा विकासमा प्रतिष्पर्धा गराउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री चौधरीले प्रधनमन्त्री प्रचण्ड भएकै कार्यक्रममा यो विषय धेरैपटक उठाइरहेका छन् । प्रदेश सरकारले बनाएका कानुनसमेत संघीय सरकारले नबनाउँदा अलपत्र परेको र त्यसको अपजस पनि प्रदेश सरकारलाई आइरहेको उनको गुनासो थियो ।