रास्वपामा नीतिगत ‘ब्रेक थ्रु’, महामन्त्रीको प्रतिवेदन पारित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी छ । यो बैठकले पार्टीमाथि लाग्दै आएको ‘विचारहीनता’ को आरोपलाई चिर्दै आफ्नो राजनीतिक कित्ता स्पष्ट गरेको छ ।
बैठकमा महामन्त्री डा. मुकुल ढकालले राजनीतिक तथा वैचारिक प्रतिवेदन हिजो पेश गरेका थिए । राति एक बजेसम्म र आज दिउँसोसम्म भएको छलफल पश्चात महामन्त्रीको प्रतिवेदन पारित भएको स्रोतले जानकारी दियो । महामन्त्रीपछि सभापति रवि लामिछानेले बेग्लै राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।
महामन्त्री ढकालको प्रतिवेदनले पार्टीको वैचारिक धु्रव स्पष्ट गरेको छ । उनले आफ्नो प्रतिवेदनमा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक पार्टीका रुपमा परिभाषित गरेका छन् ।
‘पार्टीको ध्इेय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो,’ प्रतिवेदनमा भनिएको छ ।
रास्वपाले शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरु संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य संचालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गरेको छ । सबैप्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्वोधन गर्न अवसरहरुको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइने प्रतिवेदनमा जनाइएको छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधनिता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहने प्रतिवेदनको प्रस्तावनामा उल्लेख छ ।
यसै प्रस्तावनाको सारतत्वभित्र रहेर रास्वपाले आफ्ना सबै नीति–नियमहरु तय गर्नेछ ।