नेपाल एयरलायन्सको एयरबस ३२० ग्राउण्डेड, इन्जिन भाडामै जान्छ मासिक २ करोडभन्दा बढी
काठमाडौं । नेपाल वायु सेवा निगमका लागि नयाँ जहाज किन्न नागरिक उड्डयन मन्त्री सुदन किराती र निगम व्यवस्थापनले मरिहत्ते गरेका बेला निगमको एयरबस ३२० भने फेरि ग्राउण्डेड भएको छ ।
निगम स्रोतकाअनुसार इन्जिनमा खराबी देखिएपछि विहीबारदेखि एयरबस ३२० न्यारोबडी जहाज ग्राउण्डेड भएको हो । यसअघि अर्को न्यारोबडी जहाज लामो समय इन्जिन बनाउने क्रममा इजरायल पठाइँदा ग्राउण्डेड भएर निगमलाई आर्थिक क्षति भएको थियो ।
निगमले न्यारोबडी ग्राउण्डेड भएको औपचारिक जानकारी दिएको छैन । तर, निगमका एक उच्च अधिकारीका अनुसार बोरोस्कोप निरीक्षण गर्ने क्रममा इन्जिनमा धेरै ठाउँमा समस्या देखिएपछि ग्राउण्डेड भएको हो ।
मान्छेको शरीरीभित्र मेसिन लगाएर इण्डोस्कोपीमार्फत पेटको स्क्यान गरेजस्तै बोरोस्कोपले विमानभित्रको इन्जिनको स्क्यान गर्छ । अब इन्जिन मर्मत नगरेसम्म अर्को भाडामा लिने वा नयाँ किन्ने विकल्प निगमसँग छन् ।
निगमले अहिले इजरायली कम्पनीसँग भाडामा लिएर चलाएको छ । तर, भाडामा इन्जिन लिएर चलाउनु निगमको लागि घाटाको व्यवसाय हो । एउटा इन्जिन भाडाामा लिँदा दिनमा सरदर ६ हजार डलर वा त्यो भन्दामाथि तिर्नुपर्छ ।
उडान नभरे पनि दिनमा न्यूनतम २ हजार डलरका दरले भाडामा दिने कम्पनीलाई तिर्नुपर्छ । त्यसबाहेक प्रत्येक एक घण्टा उडानको २७८ डलर र प्रत्येक ल्याण्डिङको २३९ डलर निगमले भाडाबापत तिर्ने गरेको छ ।
यो भनेको निगमले पूर्ण उडान भरेको बेला दैनिक सरदर ६ हजार डलर हो । पूर्ण उडान दैनिक १३ घण्टासम्म र ल्याण्डिङ ४ पटक हुन्छ । यसरी मासिक २ करोडभन्दा बढी इन्जिनको भाडा पर्ने निगम स्रोतले जनाएको छ ।
नयाँ इन्जिन किन्नुपर्दा भने ४ मिलियन डलर पर्छ । निगमले एउटा स्पेयर इन्जिन राख्नुपर्ने सुझाव पहिलेदेखि नै दिइए पनि कार्यान्वयनमा आएको छैन ।
अहिले निगमसँग वाइडबडी २ वटा र न्यारोबडी २ वटा जहाज छन् ।
त्यो भाडामा कर्मचारीलाई कमिशन आउँछ । अनि कर्मचारीले मन्त्रीसम्म पुर्याउँछन् । यसरी कमाउन पाईएको छ । किन मर्मत गर्नु ?