चार महिना नपुग्दै ‘फ्लप’ भयो एमालेको त्यो निर्णय, मञ्चमा पहिले जस्तै तामझाम – Nepal Press

चार महिना नपुग्दै ‘फ्लप’ भयो एमालेको त्यो निर्णय, मञ्चमा पहिले जस्तै तामझाम

काठमाडौं । नेकपा एमालेको साउन ३० गते बसेको सचिवालय बैठकले एउटा ‘लोकप्रिय’ निर्णय गर्‍याे, ‘मञ्चमा उद्घोषकबाहेक कसैलाई नराख्ने, मुख्य वक्ता र वक्ताबाहेक कसैलाई अतिथि नबनाउने, खादा-ब्याच केहीको पनि प्रयोग नगर्ने । यो निर्णयले सामाजिक सञ्जालमा निकै चर्चा पायो ।

सचिवालय बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले तल्लो तहका पार्टी पङ्क्तिमा सर्कुलरसमेत जारी गरेका थिए । निर्णयपछि ओलीले भनेका थिए, ‘अब उप्रान्त हामी यो आशन ग्रहणको झन्झट गर्दैनौं । नो आसन । सबै अघिपट्टि बस्ने, बोल्ने मान्छे आएर पोडिएमबाट बोल्छ, अरू सबै अगाडि बस्ने । त्यो तरिका हामीले अपनाउनुपर्छ ।’

उनले फेसबुकमा पनि लेखेका थिए, ‘अब अनुहारै छोपिनेगरी खादा-माला र कोटभन्दा ठूला व्याच लगाउने प्रचलन पनि बन्द गर्नुपर्छ । कार्यक्रमहरुमा औपचारिकताका लागि धेरैलाई आसन ग्रहण गराउने र खादा-मालाले पुर्ने भद्दा चलनहरु हटाएर समयलाई काममा लगाउने विषयमा केन्द्रित हुनुपर्छ ।’

तर, पार्टीले औपचारिक बैठकबाट गरेको तथा अध्यक्षले उत्साहसात प्रचार गरेको निर्णय चार महिना नपुग्दै फ्लप भएको छ । अहिले पनि एमालेका कार्यक्रमहरु पहिलेभन्दा फरक देखिँदैनन् । अध्यक्ष ओली आफैं सहभागी कार्यक्रममा पनि निर्णयबमोजिमको अभ्यास भएको छैन । न अतिथिको लस्कर कम भएको छ न त खादा-मालाको थुप्रो हटेको छ ।

एमालेले आजबाट १९ दिने मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान थालेको छ । अभियानलाई ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको छ । यो अभियानको पहिलो दिनमै तामझामपूर्ण कार्यक्रम गरियो । झुलाघाटमा अभियान उद्घाटनपछि बैतडीको गोठालापानीमा आयोजित आमसभामा पुरानै परिदृश्य देखिएको छ ।

सभालाई पार्टी अध्यक्ष ओलीले मात्रै सम्बोधन गरे । तर, मञ्चमा नेताहरुको भीडभाड थियो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु विष्णु पौडेल, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, पद्मा अर्याल, रघुवीर महासेठलगायत शीर्ष नेताहरु पनि मञ्चमा आसिन थिए । उनीहरुले गलामा सयपत्री फूलको माला भिरेका थिए ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पार्टीले गरेको निर्णयबाट आफूहरु ब्याक नभएको दाबी गर्छन् ।

उनी भन्छन्, ‘हामीले वक्ता र प्रमुख नेताहरुलाई मात्रै मञ्चमा राखेका छौं । अरुलाई चाहिँ भीड लम्बेतान गर्न हामीले रोकेका छौं । कार्यक्रमलाई छिटो छरितो बनाउन आजको वक्ता र प्रमुख नेतामात्रै मञ्चमा राखेका हौं ।’

उनले अरु कार्यक्रममा पार्टीको निर्णय कार्यान्वयनमा गएको भए पनि आज पार्टीको विशेष अभियान भएकाले नेताहरु मञ्चमा धेरै देखिएको बताए ।

नेता गौतम भन्छन्, ‘यो त पार्टीको अभियान हो । त्यसैले धेरै देखिएको छ । अध्यक्षले सम्बोधन गर्नुहुन्छ । अरु बस्नेमात्रै हो । यहाँ आफ्नो कुरा राख्नेमात्रै होइन, हामी जनताको कुरा सुन्ने हिसाबले हिँडेका छौं ।’

यद्यपि, गौतमको भनाइसँग पार्टी कार्यक्रमहरुको तादात्म्य देखिँदैन । सचिवालयको निर्णयपछि एकाध कार्यक्रमहरुमा एमालेले फरक अभ्यास गरेको थियो । तर, त्यसपछि पुरानै ढर्रामा फर्किएको छ । एमालेले गरेका सबै प्रदेश अधिवेशनहरु पहिले झैं तामझामयुक्त नै थिए । मञ्चमा अतिथिहरुको भीड नै थियो । ती अधिवेशनहरुमा अध्यक्ष ओली आफैं प्रमुख अतिथि बनेर गएका थिए । आजको कार्यक्रममा उनले दुबोको निकै आकर्षक माला लगाएका थिए ।

एमालेका कार्यक्रममा खादा र ब्याचको प्रचलन केही कम भएको छ । तर, निमिट्यान्न भएको छैन । अध्यक्ष ओलीले आफ्नै हकमा पनि खादा र ब्याचलाई पूर्ण निषेध गर्न सकेका छैनन् ।


प्रतिक्रिया

One thought on “चार महिना नपुग्दै ‘फ्लप’ भयो एमालेको त्यो निर्णय, मञ्चमा पहिले जस्तै तामझाम

  1. एमालेको अभियान अघि बढ्यो भनेर दलालहरूलाई उकुसमुकुस भएको छ । अनि यस्तै समाचार बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर