लुम्बिनी विश्वविद्यालयलाई सुझाव : बौद्ध शिक्षा अध्ययन गर्नेको ध्यान केन्द्रित गरौं – Nepal Press

लुम्बिनी विश्वविद्यालयलाई सुझाव : बौद्ध शिक्षा अध्ययन गर्नेको ध्यान केन्द्रित गरौं

रुपन्देही । लुम्बिनीमा बौद्व शिक्षाबाट विश्वको ध्यान केन्द्रित गर्न सकिने र यसबाट धेरै क्षेत्रको विकास गर्न सकिने सुझाव लुम्बिनी विश्वविद्यालयलाई आएको छ । बौद्ध शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिने आधारबाट यहाँ विश्वका विभिन्न देशबाट अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई तान्न सकिने भएकाले सोही अनुसारको योजना बनाउन सरोकारवाले आग्रह गरेका छन् ।

बिहीबार लुम्बिनी बौद्व विश्वविद्यालयको १९ औ वार्षिकोत्सवमा बोल्ने वक्ताहरुले यस्तो धारणा राखेका हुन् । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्व शिक्षाको महत्व नेपालमा मात्रै नभएर विश्वभर महत्व भएकाले त्यही आधारमा योजना बनाउनुपर्ने सुझाए ।

बुद्ध धर्ममा आस्था मात्रै नभएर यो एउटा दर्शन र सिद्धान्तसमेत भएको बताए । ‘बुद्ध शिक्षा मार्गदर्शक हो, यसको अनुसरण र परिपालना सबैले गर्नुपर्छ’, उनले भने ।

बौद्वमार्गको विषयमा सबैले ध्यानदिन जरुरी रहेको छ रहेको भन्दै उनले बौद्व शिक्षाको माध्यमबाट देशमा पर्यटकिय क्षेत्रको समेत विकास गर्न सकिने बताए ।

एउटा राजाको सन्तानको रुपमा जन्मिएका बुद्धले मानव कल्याण र विश्वको कल्याणको लागि गरेको गृह त्याग साच्चिकै मानवले अनुशरण गर्नुपर्ने बताए । विश्व शान्तिको लागि विश्वको जीव रजगतको भलो हुने गरि विकास गर्न जरुरी रहेको बताए ।

विश्वमा २/३ महिनामा मात्रै हजारौंले ज्यान गुमाउनु परेको बताउदै उनले युद्धको बाटो सहि नभएको बताए । नेपालले पनि द्वन्द्वको सामाना गरेको कारण अहिले पनि समस्या रहेको बताउँदै प्रदेश प्रमख शेरचनले नेपालको बौद्व शिक्षालाई विश्वरभर फैलाएर लाभ मात्रै नभएर पुन्य समेत कमाउन सकिने बताए ।

अवको शिक्षा दर्शनसंगै प्रतिफलमा आधारित शिक्षा रहेको बताउदै उनले प्राविधिक ज्ञापन, सीप र धारणाको बिकास गर्नु पर्ने बताए । पछिल्लो समयममा देश प्राविधिकले जनशक्ति अभाव रहेको भन्दै उनले प्रविधिक शिक्षाले देशमा स्वरोजगार सृजना गर्नु पर्ने धारणा राखेका थिए । बुद्धको सन्देश मात्रै बिश्वभर फैलाउनमा सकेमा नेपालले धार्मिक पर्यटनमाफर्त आर्थिक कायापलट गर्न सकिने बताएका थिए ।

त्यस्तै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले विश्वविद्यालयको शैक्षिक विकासमा प्रदेश सरकारले काम गरिरहेको बताए । उनले प्रदेशका २ लाख युवाहरुलाई रोजगारी बनाउन प्रदेश सरकारले ४ अर्ब बजेट बिनियोजन गरेको भन्दै त्यसका लागि सबै नियकाले सहकार्यमा काम गर्नुपर्ने बताए ।

मन्त्री गुप्ताले बुद्ध स्थललाई शिक्षा र पर्यटकीय रुपमा विकास गरी यहाको जमिनलाई आर्थिक उपार्जनमा प्रयोग गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नका लागि उच्च शिक्षामा गुणस्तरबृद्धि आवश्यक रहेको बताए । ‘समयमा विद्यार्थी भर्ना गरी समयमै नतिजा प्रकाशन हुनुपर्छ, उनले भने, ‘विश्वविद्यालय प्रति अभिभावकको विश्वास टुटेको छ त्यसलाई जित्नुपर्छ ।’

उच्च शिक्षाका गुणस्तरीयता कायम गर्न यही मंसिरबाट शैक्षिक क्यालेण्डर लागू गरिएको भन्दै त्यसलाई कडाईकासाथ कार्यान्वयन गर्न उनले आग्रह गरे । उच्च शिक्षाका लागि बिनियोजन गरिएकै बजेट कम रहेको र विश्वविद्यालयहरु बढिरहेकाले पर्याप्त बजेट उपलब्ध हुन नसकिरहेको बताए ।

बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गरी विदेशी विद्यार्थीलाई आकर्षण गर्ने गरी योजना अघि बढाइएको बताए । आधुनिक शिक्षाा प्रणालीलाई अबलम्बन गर्दै अनलाइन परीक्षा प्रणाली, छोटो अबधीका कोषहरु सञ्चालन गरिने उनले बताए ।

उपकुलपति बज्राचार्यले कपिलवस्तुमा त्रिपिटक पार्क निर्माण बनाउने योजना अघि बढाइएको बताए । उनले अन्र्तराष्ट्रिय विश्वविद्यालय बनाउनका लागि ट्रष्टको निर्माण गर्ने कार्य अघि बढेको सकेको बताए ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले सातै प्रदेशमा अनुसन्धान केन्द्र निर्माण गरी विश्वविद्यालयलाई अनुसन्धानमै केन्द्रीत बनाउने योजना अनुरुप काम भइरहेको बताए । सानो संरचनाबाट विश्वविद्यालय देखिने चरणमा आइपुगेको भन्दै उनले बौद्ध शिक्षा अध्ययनका लागि अन्र्तराष्ट्रिय केन्द्रका रुपमा स्थापित गरिने बताए ।

विश्वविद्यालय लुम्बिनी, बुटवल र देवदहमा फैलिइसकेको भन्दै छिट्टै कपिलवस्तु र रामग्राम क्षेत्रमा पनि उपस्थिति हुने बताए । भौतिक संरचना निर्माण, कर्मचारी शिक्षक व्यवस्थापनमा बजेट कम हुँदा कठिन भइरहेको भन्दै उनले अन्य विश्वविद्यालयलाई जस्तै गरी नहेर्ने अनुदान आयोगलाई आग्रह गरे ।

विशिष्टकृत विश्वविद्यालयलाई सरकारबाट सोही अनुरुप स्रोत व्यवस्थापन हुनुपर्ने उनको भनाई थियो । वार्षिकोत्सवकै अवसरमा विश्वविद्यालयले बिहिबार बिहान स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिबिरमा करिव ३ सय जनाले सेवा लिएका छन् ।

कार्यक्रममा विश्वविद्यालयले कर्मचारीहरु सुरशराज आचार्य, विजयसिंह क्षेत्री, इमरान धुनिया र कामेश्वर यादवलाई सम्मान गरिएको विश्वविद्यालयका अधिकृत चुरामणि पोखरेलले जनाए । कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल, सम्मरीमाई गाउपालिका बिनोदकुमार श्रीवास्तव, बेल्ट एण्ड रोड इन्टरनेशनल अर्गनाइजेसनका सेक्रेटरी चु फेङले बोल्दै विश्वविद्यालयसंग सहकार्यमा अघि बढ्ने बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर