आजियाटाले बेलायती ‘प्रोक्सी’ कम्पनीलाई बेच्यो एनसेलको सबै शेयर : करिब डेर्ब खर्बमा किनेर साढे ६ अर्बमै बिक्री – Nepal Press

आजियाटाले बेलायती ‘प्रोक्सी’ कम्पनीलाई बेच्यो एनसेलको सबै शेयर : करिब डेर्ब खर्बमा किनेर साढे ६ अर्बमै बिक्री

काठमाडौं । एनसेलको माउ कम्पनी मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालमा रहेको आफ्नो ८० प्रतिशत शेयर बिक्री गरेको जनाएको छ ।

बुधबार मात्रै एनसेलको स्वामित्वमा रहेको ८० प्रतिशत शेयर बेचेर नेपालबाट निस्किने निर्णय गरेको आजियाटाले आज एक बेलायती कम्पनीलाई शेयर बेचेको हो ।

आजियाटाले बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको हो । सन् २०१६ मा स्विडेनको टेलियासोनेरासँग रेनोल्ड कम्पनीबाट १ खर्ब ४३ अर्बमा किनेर नेपाल भित्रिएको आजियाटाले साढे ७ वर्षपछि तुलनात्मक रुपमा निकै कममा शेयर रकममा बिक्री गरेको हो ।

आजियाटा ग्रुप बर्हद क्वालालम्पुरद्वारा जारी विज्ञप्तिमा आफ्नो शेयर ५ करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड)मा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको भनिएको छ ।

आफ्नो सम्पूर्ण बिक्री स्वामित्व र दायित्व नलिने गरी बिक्री गरिएको भने पनि सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आजिआटाले नै पाउने बिक्री सम्झौता भएको आजियाटाले जनाएको छ ।

पहिलो महिनामा ५ मिलियन डलर भुक्तानी हुने र बाँकी ४८ महिनामा अन्य रकम भुक्तानी हुने पनि कम्पनीले जनाएको छ ।

स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो जसमा नेपाली सतिशलाल आचार्य सञ्चालक छन् । हाल एनसेलमा २० प्रतिशत हिस्सा भएको सुनिभेरा क्यापिटल भेन्चर्स संलग्न रहेकै कम्पनीले आजियाटाको शेयर किनेको हो ।

आचार्य समूहले यो कम्पनी बेलायतमा ६ महिना अगाडि मात्रै दर्ता गरेको बताइएको छ । नेपालको कर छली गर्नकै लागि बेलायतमा कम्पनी दर्ता गरिएको जनाइएको छ । त्यही कम्पनीलाई आजियाटाले शेयर बेच्नु, सन् २०२९ सम्म मुनाफा आफैंले पाउने शर्तनामा गरिनुलाई अर्थविदहरुले शंकाको नजरले हेर्नुपर्ने बताएका छन् ।

आजियाटाले आफूहरुले नेपालमा सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रुपमा स्थापित भएकोदेखि संस्थागत सामाजिक उत्तरदायित्वमार्फत नेपालमा २८५ अर्बभन्दा बढी योगदान गरेको दाबी जनाएको छ भने प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २५ हजार बढीलाई रोजगार दिएको पनि जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *