रामेछाप थातथलोका टिपनटापन – आत्मनिर्भर पितृलाई परनिर्भर सन्ततिको श्रद्धासुमन – Nepal Press

रामेछाप थातथलोका टिपनटापन – आत्मनिर्भर पितृलाई परनिर्भर सन्ततिको श्रद्धासुमन

प्रधानाध्यापक भगवान कार्की, महेशलाल प्रधान, भुवनेश्वर प्रधानहरूले शारदा उमावि ठोसे रामेछापका लागि एउटा रचना पठाइ दिन आग्रह गर्नुभयो । लेख्न विषय चाहिन्छ । ठोसे के हो ? मैले त्यसलाई कसरी चिनेको छु ? अनेक कोणबाट खोजें । विषय पाउन मुश्किल पर्‍यो । केहिनकेहि त लेख्नै पर्‍यो भनेर घोरिएँ । पुर्खाले के के गरे, अनि हामी के गर्दै छौं ? समयको गतिसँगै दौडन सकिएन भने त्यस्ता सन्तानले टेकेको भू-खण्ड असन्तुष्ट रहन्छ । पितृको श्रद्धा नगर्ने सन्तानको अग्रगति सम्भव छैन, भन्ने ठानेर ‘ठोसे बजार नेवाः पुच काठमाण्डौ’द्वारा बिजुली बजारमा आयोजित कार्यक्रमा आफैंले बोलेका विषयलाई लिएर इतिहास र अनुभवका खानी अग्रजहरूबाट तथ्यहरू उत्खनन् गर्ने विचार गरे ।

२०३४ साल असारमा उपचारको सिलसिलामा जिरी अस्पताल पुगेर फर्कदा सर्वप्रथम ठोसे टेकेको थिएँ । त्यसबेला साँघुटारमा कक्षा दसमा पढ्थें । दाजु हरिप्रसाद पौडेल डि.भक्तबहादुरले बनाएको (पुष्प-लता वेष्ठित) घरमा डेरा गर्नु हुँदोरहेछ । चार रात दाजु-भाउजुको अतिथि भएर त्यहाँ बिताएँ । छन्दमा कविता लेख्ने केहि सूत्रहरू दाजुसँग त्यहि घरमा सिकेको थिएँ ।

वि.सं. २०३८ मा म शिक्षक भइसकेको थिएँ । चण्डेश्वरी निमावि प्रितीमा पढाउँथें । त्यसबेला शिक्षक आन्दोलन चर्किएको थियो । श्यामलाल प्रधान, गोपाल कोइराला सरहरू आन्दोलनको औचित्य बताउँदै म भए ठाउँसम्म आउनु भयो । म पनि संगसंगै हिडें । श्यामलाल सरसँग जिज्ञासाहरू मेट्दै ठोसेसम्म पुगें । त्यसबेला ठोसेलाई चिन्ने थप अवसर मिलेको थियो । कलेजमा तुलसीभक्त प्रधान र ललित श्रेष्ठ मेरा अभिन्न मित्र हुनुहुन्थ्यो । उहाँहरूबाट पनि पर्याप्त जानकारी पाएको थिएँ । पछि धेरै पटक ठोसे पुगें अनि विभिन्न कोणबाट यस ठाउँलाई चिन्ने थप अवसर पाएँ । ठोसे मुलुककै इतिहासमा महत्वपूर्ण स्थान ओगटेको ठाउँ भएर पनि पछि पारिएको जस्तो लागिरहेको थियो/छ ।

पुर्खाका पालामा फलामको खेती फष्टाएको यो मात्र यस्तो गाविस हो, जहाँ एक गावो मात्र पनि धान खेती हुँदैन । मान्छेलाई हिंस्रक बनाउने बन्दुक र विवेक बढाउने विद्याको संयोजन ठोसेमा छ । राजधानी काठमाण्डौ देखि पूर्व ४ नं. भोजपुरसम्म फाली, कोदाला, कोदाली, हँसिया, खुर्पा, खुकुरीजस्ता घरेलु कृषि औजार अनि झोलुङ्गे पुलका साङ्ला यहि ठोसे खानीबाट लगेर चलन गरिन्थ्यो । दुम्जा देखि हलेसीसम्मका धार्मिक जात्रा-बजारमा ठोसेको फलामले कब्जा जमाएको थियो । पूर्वतर्फ दिङ्लासम्म पनि पुर्‍याइन्थ्यो । बन्दुक कारखाना सञ्चालन भएपछि दक्ष कालिगढको सिपले कलात्मक ताल्चा, पानस, चरिबत्ती जस्ता घरेलु प्रयोगका सामानहरू बन्न थाले पछि ठोसेको कला मुलुकभर फैलियो ।

त्यसबेला सोलुको फाप्लु, काँगेल, मुक्ली, देउसा, जुँगु, ऐँसेलुखर्कमा सरकारी गोठखुवा रहेछ । त्यहाँ उत्पादन भएको घीउ प्रधान सेनापतिको दरवारमा बुझाउनु पर्थ्यो । घिउ ठेक्काको जिम्मेवारी लिखुखोलाका खप्तडी बस्नेतहरूले पाएका थिए ।

वि.सं. १९८७ सालमा सुवेदार इन्द्रबहादुर कार्की (बाम्ती) र सुवेदार लालबहादुर बस्नेत (सिरुवा)ले भीम शमशेसँग बक्साएर बाम्तीमा भाषापाठशाला स्थापना गरेका थिए । यो पहिलो शैक्षिक सस्थाका प्रथम अध्यापक हैबारका कुलनाथ अधिकारी र अन्तिम अध्यापक गैराथोकका सोमनाथ घिमिरे हुनुहुन्थ्यो । नौ बर्ष बाम्तीमा रहेर उक्त पाठशाला १९९६ मा ठोसे‌ सर्‍यो । अध्यापक सोमनाथ घिमिरे पनि सँगसँगै ठोसे सर्नुभयो । संयोगवस बुद्धिको कारखाना पाठशाला र विकास निर्माणको पूर्वाधार फलामखानी २००७ सालमा एकैपटक बन्द भए । त्यसको दुई वर्ष पछि २००९ सालदेखि ठोसेमा आधुनिक विद्यालयको स्थापना भयो । त्यसवेला स्थापित सारदा प्राईमरी स्कुल आज उमावि हुँदै कलेजमा विकास भएको छ । यो नै रामेछापको पहिलो आधुनिक विद्यालय हो । यसका पहिलो अध्यापक भागवत प्रधान रामेछाप जिल्लाकै पहिलो आधुनिक शिक्षक पनि हो ।

ठोसेसँग संबन्धित भएर त्यस आसपासको इतिहास खोतल्दा भीम आले र राम आले मगरले कोतपर्वमा क्रमशः जनरल अभिमानसिंह रानामगर र मुख्तियार फत्यजङ्ग शाहको हत्या गरेकाले उनिहरू दुवै भाइलाई जङ्गबहादुरको उदय हुनासाथ कप्तानको पगरी दिएछन् । त्यसपछि आले दाजुभाई रामेछापको तिल्पुङमा बसोबास गरे । राम आलेलाई तिल्पुङ अमाल प्रमुखको जिम्मेवारी दिइयो भने नाम्दु-काभ्रेका रामचन्द्र उपाध्यायलाई डिठ्ठाको जिम्मेवारी सुम्पिए । डिठ्ठा रामचन्द्रका सन्तान मन्थली र खिम्तीमा छन् ।
रामेछापका अर्का लडाकु बाम्तीका जवरसिंह कार्कीले कोतमा जङ्गबहादुर कुँवरको हुँदो गरे वापत त्यसैगरि कप्तान दर्जा पाएछन् । मिल्दो कुटुम्व समेत भएकाले उनका छोरा कर्णेल गुमानसिंहलाई राणा प्रधानमंत्री बमबहादुरकी छोरी भुवनेश्वरीसंग विवाह समेत गरिदिए । हात्ती दाइजो दिए, बाम्तीसम्म पुर्‍याए । समय वित्दैजाँदा हात्ती मर्‍यो, त्यहिँ गाडियो । चिनोको रुपमा अब समाधिस्थल हात्तीटारको प्रसिद्धि कायम छ ।

उता रोसीमा जन्मिएर सिरुवा तर्फ बसोवास भएका जीतमान र उनका छोरा वीरबहादुर बस्नेत पनि सेनामा कप्तान थिए । वीरबहादुरले कप्तान जवरकी छोरीसँग विवाह गरेका थिए । श्री ३ वीरशमशेरका भाई डम्बरशमशेरको विवाह छिपिटार निवासी मोहनबहादुर बस्नेतकी बुढीफुपुसँग भएको रहेछ । भुवनेश्वरी र कप्तान जीतमानको सिफारिसमा डम्बरशमशेरको विवाहको कुरा छिनिएछ । केटीका बुवा भारत बस्नेतलाई कप्तान दर्जा र काठमाण्डौ ज्ञानेश्वरमा घर समेत बनाई दिएर मात्र विवाह गरेछन् । त्यसबेला बस्नेत परिवार सिरुवामा बस्थ्यो ।

त्यसबेला सोलुको फाप्लु, काँगेल, मुक्ली, देउसा, जुँगु, ऐँसेलुखर्कमा सरकारी गोठखुवा रहेछ । त्यहाँ उत्पादन भएको घीउ प्रधान सेनापतिको दरवारमा बुझाउनु पर्थ्यो । घिउ ठेक्काको जिम्मेवारी लिखुखोलाका खप्तडी बस्नेतहरूले पाएका थिए । गर्जाङ र जिरीको गाईगोठ त्यसैको निरन्तरता रहेछ ।बाम्ती, सिंगटी, भित्रीखानी, खरिखोला, बेताली, गर्जाङ, घुन्सा, गोबे्रटार, शिवालय, कात्तिके, छाँगे, सिरुवानी, जफे, नाम्दु, निमकोट, पाइले, भीरकोट आदि ठाउँमा जवरसिं कार्की परिवारको नाममा जमिन थियो । कुनैमा बसोवास र कतै खर्कको रुपमा प्रयोग गर्ने गर्थे । पाइले, छाँगे, सिरुवानी, कात्तिकेमा जवरका सन्तान आजसम्म बसोवास गरिरहेकै छन् ।

मेक्चनको बन्दुक कारखानाको सुरक्षार्थ तैनाथ सैनिक टुकडिको नेतृत्व पनि कप्तान जीतमान बस्नेतले नै पाएछन् । जो बन्दुक कारखानाका प्रमुख हाकिम हुन् । पछि ठोसेका समाजसेवी भुवनबहादुर कार्की र लक्ष्मीलाल श्रेष्ठका हजुरबुवा क्रमशः भक्तबहादुर र पूर्णमानले खानीअड्डामा डिठ्ठा र सुब्बाको जिम्मेवारी पाएछन् ।

पुरानो बस्ती बेतालीबाट जोजन कार्की चुचुरे सरे । मरणघाटमा शिवालय स्थापना गरे । उनका दुई भाई छोरा बाम्ती र एक भाई तिङ्ला सरे । हालको बेताली, रस्नालु, चुचुरे र ठोसे एउटै गाउँ जस्ता थिए । बाम्ती पुगेर पनि कार्कीहरूको मरणघाट शिवालयमा नै कायम थियो । मृत्यु सय्या या मृत्यु पछि शिवालयमा लाने र पवित्र गोकुलगङ्गा (खिम्ती)मा दाहसस्कार गर्ने चलन धेरै पछिसम्म रह्यो । खिम्तीखोलामा एकाङ निवासी बस्नेतहरूको खर्क हुनाले एकाङेहरूको फेदी भन्दाभन्दै एकानफेदी वा एकामफेदी भन्ने गरिएकोछ । यसरी लिखु र खिम्ती दुवैतर्फ बरावर सम्वन्ध देखिन्छ । यिनै कार्की र बस्नेतहरूको राणाहरूसंग सम्बन्ध सुमधुर हुनाका कारण ठोसेमा कारखाना चलाउन सजिलो भएको रहेछ । यो राणाकालीन दरबार र लिखु, खिम्तीखोला बिचको सैनिक र वैवाहिक सम्वन्धको महत्वपूर्ण उपलब्धि हो ।

भोटसंगको युद्ध पछि वि.सं. १९१२ मा थापाथली सन्धि भयो । त्यसपछि नेपालले सैनिक शक्ति बलियो बनाउनु पर्ने आवस्यकता महशुस गर्‍यो । विदेशीले नदेख्ने ठाउँमा लुकेर बन्दुक कारखाना खोल्नु पर्ने भएर राजधानी छेउको फूलचोकी आकर्षित हुनसकेन । त्यतिवेला राणासँग पारिवारिक सम्वन्ध कायम गरेका जवरसिंह, जीतमान, गुमानसिंहहरू वारीपारी नाताका मान्छे हुन् । आफ्नो खर्कमा फलाम निकालेर घरेलु औजार त्यस अघिनै बनाइदै आएको अवस्था छँदैथियो । बन्दुक कारखाना सञ्चालन हुनु अगाडिनै जवरसिंले भोट जाने बाटामा तामाकोसीको मौरे भन्ने ठाउँमा ठोसेको फलाम लगेर साङ्लेपुल र नाम्दुस्थित बैतेश्वर महादेवस्थानको छानो स्थानीय खानीबाट तामा लगेर हालिसकेका थिए ।

पुरानो सदरमुकाम रामेछाप आसपास गोल्माटार र ठोसेमा फलाम खानी अनि सैपु, विजुलीकोट, साँघुटार, देउराली, तिल्पुङ, खिम्ती, गेलु, चनखु, पिङ्खुरी, भदौरे, पकरवास, टोकरपुर, लखनपुर आदि गाउँमा तामाखानी राणाकालपूर्व देखिनै संचालन हुँदै आएका थिए । आफ्नै खर्क आसपासको फलामखानीको ज्ञान उनिहरूलाई छँदै थियो । अनकण्टार ठाउँमा बन्दुक कारखाना बनाएमा दुनियाँको आँखा छल्न सकिन्छ भन्ने निष्कर्ष पनि निस्किएकै थियो । यहि मौकामा ठोसेखानीलाई कारखानामा विकसित गर्न यीनै कार्की र बस्नेतहरूले सरकारलाई प्रेरित गरेछन् । यो बन्दुक कारखाना जङ्गबहादुर कालको महत्वपूर्ण उपलब्धि हो ।

मेक्चनको बन्दुक कारखानाको सुरक्षार्थ तैनाथ सैनिक टुकडिको नेतृत्व पनि कप्तान जीतमान बस्नेतले नै पाएछन् । जो बन्दुक कारखानाका प्रमुख हाकिम हुन् । पछि ठोसेका समाजसेवी भुवनबहादुर कार्की र लक्ष्मीलाल श्रेष्ठका हजुरबुवा क्रमशः भक्तबहादुर र पूर्णमानले खानीअड्डामा डिठ्ठा र सुब्बाको जिम्मेवारी पाएछन् ।

फलामखानी माथि विदेशी कोदाला र फालीले खन-जोत गर्नुपर्दा नेपाली माटो चहर्‍याई रहेको छ । पुराना खानी-मजदुरका सन्तानहरू कोहि सिक्किम, कोहि बंगाल कोहि राजस्थानको फलाम त कोहि सिलाङको कोइला खानीतिर पलायन हुन बाध्य भएकाछन् ।

जब ठोसे फलामखानीमा सरकारको आँखा पर्‍यो । त्यसपछि सिंगटी, हिले, कपासे, चुचुरे, लिसे, कोप्चे, झोरेनी, झगरे, रोटे, पात्ले, आरुबोटे, दाँगरदिगर, सोत्रे, भित्तरी, डडुवा, बञ्चरे, विगुजस्ता खानीहरू पहिचान गरियो । खानीहरूमा अभूतपूर्व चहलपहल सुरु भयो । सुमेरु पर्वतलाई मदानी मानेर समुद्र मन्थन गरेको पौराणिक कथाझैं, घना जंगलले घेरिएको तामेलाई ‘सुमेरु पर्वत’ मानेर ठोसे, चुचुरे, रस्नालु, प्रिती र गुप्तेश्वरका भूभागमा फलामको खोजीमा खनेल (खँदेल)हरूका बलिष्ट पाखुराहरू अहोरात्र भुँई खोस्रन तल्लिन भए । धाउको उरुङ लाग्यो । जङ्गलमा रहेका बङ्सेट, गुराँस, खस्रु, फलाँटजस्ता खरो प्रजातीका रुखहरू क्रमशः समाप्त हुँदैगए । ठोसेमा दैनिक नौ नौ नालका दरले बन्दुक तयार हुन थाल्यो । मुलुक बन्दुक र फलाममा आत्मनिर्भर भयो । औद्योगिक केन्द्र ठोसे धपक्कै बल्यो । स्थानीयले रोजगारी पाए ।

कारखाना सञ्चालनको सिलसिलामा विभिन्न किसिमका कालिगड, ब्यापारी, उद्योगपतिको आवस्यकता पर्‍यो । सरकारले सुन्दरीजल आर्सनल गोस्वाराबाट कालिगड झिकायो । गुल्जार बजार बसाइयो । बजारले उपभोग गरेको हालको जग्गा कार्की परिवारले उपलब्ध गरायो । ठोसे चम्कदै गएपछि काठमाण्डौ, भादगाउँ, बनेपा, साँखु आदि ठाउँबाट नेवारहरू प्रवेश गर्दैगए । त्यस पछि विभिन्न मठ मन्दिर निर्माण र साँस्कृतिक झाँकीहरू प्रचलनमा ल्याए । काठमाण्डौबाट गएकाहरूले घोडेजात्रा, बनेपालीले चण्डिपूर्णियाँ, भादगाउँलेले विस्केट र नवदुर्गा, साँखुलेले माघमहात्म्य ठोसेसम्म पुर्‍याए । हिलेजात्रा र लाखेनाच चाहिँ सबै मिलेर मनाउने गरे । प्राकृतिक रुपमा भूस्वर्ग जस्तो यो सानो भूखण्ड साँस्कृतिक विविधताले समेत आलङ्कारिक हुन पुगेर ‘ठोसे-सस्कृति’को भिन्नै पहिचान बन्यो । कलातर्फ पानस, भाले आकृतिका बत्तिहरू, मेक्चने गोल्चे-ताल्चा इत्यादि पनि ठोसेका परिचय बने ।

अभावै अभावमा पुर्खाले तामा, फलाम निकालेर मुलुकलाई आत्मनिर्भर बनाए । आज शिक्षा, सञ्चार, यातायात, विद्युतीकरण जस्ता विकासका सम्पूर्ण पूर्वाधारहरू उपलब्ध छन् । जङ्गल सकिए पनि कोइला ल्याउन यातायात उपस्थित छ । वि.सं. १९६३ मा बन्दुक कारखाना बन्द भए पनि २००७ सालसम्म स्थानीय रुपमा फलाम उत्पादन भने भइनै रहेको थियो । जङ्गल सकिए पछि इन्धनको विकल्प नपाएर थलापरेको खानी आजसम्म पनि उठ्न नसकेर सहारा खोज्दै टुलुटुलु हेरिरहेको छ ।

फलामखानी माथि विदेशी कोदाला र फालीले खन-जोत गर्नुपर्दा नेपाली माटो चहर्‍याई रहेको छ । पुराना खानी-मजदुरका सन्तानहरू कोहि सिक्किम, कोहि बंगाल कोहि राजस्थानको फलाम त कोहि सिलाङको कोइला खानीतिर पलायन हुन बाध्य भएकाछन् । कोहि चाहिं अरवको टण्टलापुर घाममा पुर्पुरो सेकाइ रहेका छन् । सोचनीय छ, मुलुकको बागडोर समातेका त्यस यताका साशकहरूलाई मातृभूमिले के भनिरहेको हुँदोहो ? संग्रहालयसम्म पनि बनाउन नसकेको देखेर ठोसे खलङ्गामा यत्रतत्र छरिएर रहेका; सातसमुद्र पारी (स्वीडेनमा) निर्मित यन्त्रहरूका भग्नावशेषले भने गिज्याइरहेको छ । मुलुक जुर्मुरायो भने ठोसेको पनि पुनर्जागरण अवस्यम्भावी छ । प्राकृतिक स्रोत र साधनको दोहन विना ‘नयाँ नेपाल’ बन्नु सम्भव छैन । ‘आत्मनिर्भर’ मुलुक सुम्पिएर जाने श्रद्धेय पितृहरूलाई ‘परनिर्भर’ सन्तानको तर्फबाट ढिलै भए पनि हार्दिक श्रद्धासुमन अर्पण गरौं !
सन्दर्भ ब्यक्ति/सामाग्रिहरूः
स्व.जयप्रसाद दाहाल (मन्थली), कृपाचार्य दाहाल (एकाङ), हिक्मतबहादुर कार्की (बाम्ती), नरेन्द्रबहादुर बस्नेत (सिरुवा), श्रीबहादुर कार्की (बाम्ती), ललितबहादुर कार्की (ठोसे), टोपबहादुर कार्की (बाम्ती), भागवत प्रधान (ठोसे), श्री ३ हरूको तथ्य वृत्तान्त, लेखवीरसिं बस्न्यात (नेपाल राष्ट्रको ऐतिहासिक झलक)
(पौडेल रामेछापका पूर्व सांसद हुन्)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर