नक्कली शरणार्थी प्रकरण- तीनजनाले बुझाए धरौटी, अरुले के गर्दैछन् ? – Nepal Press

नक्कली शरणार्थी प्रकरण- तीनजनाले बुझाए धरौटी, अरुले के गर्दैछन् ?

धरौटी बुझाउने पैसा नभएको टेकनाथको गुनासो, रायमाझीपुत्र बैंकिङ प्रक्रियामा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा छुट्ने आदेश भएकामध्ये तीनजनाले धरौटी बुझाएको पत्र केन्द्रीय कारागार पुगेको छ ।

हरिभक्त महर्जन, शमशेर मिया र नरेन्द्र केसीले धरौटी बुझाएका हुन् । यस्तै साधारण तारेखमा छाड्ने आदेश भएका आशिष बुढाथोकी पनि आइतबार नै छुट्दैछन् । रामशरण केसीले अदालतमा धरौटी बुझाउने तयारी गरिरहेको बुझिएको छ । सन्दीप रायमाझीको भने बैङ्क ग्यारेन्टी राख्ने प्रकृयाका कारण आइतबार बुझाउने सम्भावना कम रहेको बुझिएको छ ।

टेकनाथ रिजालले भने कुनै प्रकृया सुरू गरेका छैनन् । कारागार प्रशासन स्रोतका अनुसार उनले जेलमा रहेका कैदीबन्दीसँग धेरै ठूलो रकम धरौटी तोकेको भन्दै कहाँबाट ल्याउनु त्यत्रो पैसा ? भन्ने गरेका छन् ।

यसअघि काठमाडौं जिल्ला अदालतबाट मुद्दा पुर्पक्षका लागि थुनामा गएकामध्ये नरेन्द्र केसी र शमशेर मियाँसँग १०/१० लाख तथा टेकनाथ रिजाल र हरिभक्त महर्जनसँग १५/१५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । यस्तै सन्दीप रायमाझीलाई ३० लाख र रामशरण केसीलाई १५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो ।

उनिहरू जिल्लाको आदेशविरुद्ध पुनरावेदन गर्दै उच्च अदालत पुगेका थिए । थुनामा रहेका ९ जनालाई भने उच्च अदालतले छाड्न मानेन । बालकृष्ण खाणको हकमा न्यायधीशबीच राय बाझिएपछि फेरि सुनुवाइ हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर