रास्वपामा स्वर्णिमभन्दा डीपी अर्याल माथिल्लो वरीयतामा, मलेसिया जानुअघि रविले दिए कार्यवाहक – Nepal Press

रास्वपामा स्वर्णिमभन्दा डीपी अर्याल माथिल्लो वरीयतामा, मलेसिया जानुअघि रविले दिए कार्यवाहक

पदाधिकारी मनोनयनमा पार्टीभित्र मौन असन्तुष्टि !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको वैठकले हालै डा. स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापतिमा मनोनीत गर्‍यो । यसअघि डीपी अर्याल उपसभापति रहेकोमा अब दुईजना भएका छन् ।

रास्वपाको विधानमै दुई उपसभापतिको व्यवस्था रहेको छ । त्यसबमोजिम अर्थशास्त्री डा. वाग्लेलाई मनोनीत गरिएको हो । यद्यपि सभापति रवि लामिछानेपछिको वरीयतामा भने डीपी अर्याल नै रहनेछन् । दुई उपसभापतिमध्ये डीपीलाई वरीयतामा अगाडि राखिएको पार्टी स्रोतले बतायो । पार्टीको वेबसाइटमा पनि स्वर्णिमभन्दा डीपीलाई माथि राखिएको छ । यद्यपि, यो विषयमा पार्टीभित्र कुनै औपचारिक छलफल भने भएको छैन ।

रवि हिजो विदेश यात्राका क्रममा मलेसिया गएका छन् । उनको यो तीन दिनको भ्रमण हो । जानुअघि उनले आफ्ना विश्वासपात्रसमेत रहेका अर्याललाई कार्यवाहक दिएर गएका छन् । मलेसिया भ्रमणपछि लामिछाने २१ गते कतार जाने कार्यक्रम छ । उनी २३ गतेसम्म कतारमा रहनेछन् भने त्यसपछि फेरि २४ गते बेलायत जानेछन् । बेलायतबाट मंसिर २९ गते नेपाल फर्किने छन् । यतिञ्जेल पार्टीको कमाण्ड अर्यालको हातमा रहने छ ।

पदाधिकारी मनोनयनमा मौन असन्तुष्टि

सभापति लामिछानेले तजबिजी ढंगले गरेको पदाधिकारी मनोनयनलाई लिएर पार्टीभित्र मौन असन्तुष्टि छाएको छ । कोही पद नपाएर असन्तुष्ट छन् भने सभापतिको एकमना शैलीबाट निराश छन् । तर, कोही पनि खुलेर बोल्ने अवस्थामा छैनन् ।

सभापति लामिछानेले महोत्तरीमा भएको बैठकको अन्तिम दिन अन्तिम क्षणमा पदाधिकारी मनोनयनसम्बन्धी प्रस्ताव हठात् पेश गरेका थिए । त्यसअघि बैठकको एजेन्डामा यो विषय नै थिएन । तर, सभापतिले प्रस्ताव गरिसकेपछि त्यसमा विमति जनाउने हिम्मत कसैले गरेन ।

पार्टीकी सांसद डा. तोसिमा कार्कीले भने सामाजिक सञ्जालमा लाक्षणिक स्टाटस लेखेकी थिइन् । उनले फेसबुकमा प्रश्नवाचक चिन्हसहित दुई शब्द लेखेकी छन्, ‘विधिको शासन ?’

धेरैले यसलाई पार्टी निर्णयप्रति उनको घुमाउरो असन्तुष्टिका रूपमा बुझेका छन् । यद्यपि डा. कार्कीले आफ्नो स्टाटसलाई व्याख्या गरेकी छैनन् ।

रास्वपा बैठकमा पनि तोसिमाले पार्टीको महाधिवेशन चाँडै गर्नुपर्ने अवस्थामा पदाधिकारी मनोनयनमा धेरै जोड दिनु नहुने तर्क गरेकी थिइन् । अत्यावश्यक भए एक-दुई जना थप्न सकिने भए पनि एकैपटक धेरै पदाधिकारी मनोनयन गर्दा राम्रो सन्देश नजान सक्ने उनको भनाइ थियो ।

रास्वपाका एक केन्द्रीय नेताले पार्टीको महाधिवेशन नहुँदासम्म सभापतिले तजबिजीरूपमा निर्णयहरू गर्न सक्ने व्यवस्था विधानमा रहेको तर यतिधेरै पदाधिकारी अहिले आवश्यक नभएको बताए ।

उनले भने, ‘के-के पद क्रियट हुँदैछ भन्ने कसैलाई पनि जानकारी थिएन । अचानक प्रस्ताव आयो । महाधिवेशन हुनुअघि संक्रमणकालीन व्यवस्थामा सभापतिले वाधा अड्काउ फुकाउ गरेर स्वेच्छिकरूपमा मनोनयन गर्नसक्ने विधानमा व्यवस्था छ । त्यसैले यो सबैको जवाफदेही सभापति नै हुनुहुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर