विप्लव-प्रकान्डसहितका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी के हो ?
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकान्ड) सहितका नेताहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी भएको सूचना निकालेको छ ।
गोरखापत्र दैनिकमा ३५ दिनभित्र अदालतमा हाजिर हुन उनीहरूलाई सूचना जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले मुद्दाको फैसला प्रयोजनार्थ यसरी पक्राउ पुर्जी जारी गरिने बताए ।
‘कुनै मुद्दामा व्यक्तिलाई फरार बनाएर अभियोग पत्र दायर गरिएको अवस्थामा त्यस्ता व्यक्ति पक्राउ नपरे फैसलै नहुने भन्ने हुँदैन । त्यसैले यसरी पक्राउ पुर्जी जारी गरिन्छ’, प्रवक्ता दाहालले भने ।
उनका अनुसार फरारको हकमा अदालतले उपस्थितिका लागि दुईपटक समेत म्याद तामेली गर्न पठाउँदा पनि बेपत्तै भनेर आएपछि अदालतले त्यस्ता प्रतिवादीका हकमा यसरी राष्ट्रिय दैनिकमा सूचना निकाल्ने गर्छ । उनले यसरी तोकिएको अवधिभित्र पनि अदालतमा उपस्थित नभएमा अदालतले मुद्दाको फैसला प्रकृयामा जाने बताए ।
‘त्यसमा पनि ३ वर्षभन्दा माथिको कैद सजाय हुने कसुर रहेछ भने त्यस्ता व्यक्तिको हकमा मुद्दा मुल्तबीमा जान्छ । ३ वर्षभन्दा कम सजाय हुने कसुरमा अदालतले फैसला गर्छ’, दाहालले भने ।
विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएका बेलामा उनीहरूका गतिविधीलाई लिएर कार्यकर्तादेखि पार्टी प्रमुखसम्मलाई प्रतिवादी बनाएर राज्यविरुद्धको अभियोग लगाइएको थियो ।
यसबीचमा सरकारले विप्लव समूहविरुद्धका सबै मुद्दा फिर्ता लिने र बन्दीहरू रिहा गर्ने सहमति गरेपनि धेरै मुद्दा अदालतमा विचाराधीन छन् । यद्यपि यसबीचमा विप्लव समूह अधिकांश नेता कार्यकर्ता थुनामुक्त भइसकेका छन् ।
उनीहरुविरुद्ध २०७६ असोज ९ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।