राजस्थानी राजनीतिमा भगवान रामको ३१०औं पुस्ताको उदय, महारानीलाई राजकुमारीको डर – Nepal Press

राजस्थानी राजनीतिमा भगवान रामको ३१०औं पुस्ताको उदय, महारानीलाई राजकुमारीको डर

नयाँ दिल्ली । भारतका ५ प्रान्तमा भएको चुनावले सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)लाई उक्साएको छ र यसको असर ६ महिनापछि हुने आमनिर्वाचनमा देखिने विश्लेषण भइरहेका छन् ।

५ मध्ये ३ प्रदेशमा जीत निकालेको बीजेपीका लागि राजस्थानको जीतको महत्व बेग्लै छ । राजस्थानमा कांग्रेसको सत्ता ढालेर बीजेपी पुनः आउँदै गर्दा मुख्यमन्त्रीको टुंगो भने लागेको छैन ।

यस पटक राजस्थानमा महारानी र राजकुमारीबीच मुख्यमन्त्रीको प्रतिस्पर्धा चलेको चर्चा छ । महारानी बसुन्धरा राजे सिन्धिया र राजकुमारी दियाकुमारी सिंह दुवै जना मुख्यमन्त्रीको प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

हुन त मुख्यमन्त्रीका लागि बाबा बालकनाथदेखि लोकसभा सभामुख ओम बिडलासम्मका आधा दर्जन आकांक्षी देखिएका छन् । कतिपयले बसुन्धरा राजे सिन्धिया तेस्रो पटक मुख्यमन्त्री बन्ने आँकलन लगाएका छन् । तर, ४९ वर्षीया राजकुमारी दियाकुमारी अहिले भारतीय मिडियामा राजस्थानको मुख्यमन्त्रीमा सशक्त दाबेदारका रुपमा छाएकी छन् ।

को हुन् दियाकुमारी ?

महारानी दियाकुमारी जयपुरका अन्तिम राजा मानसिंह द्वितीयकी नातिनी हुन् । सन् १९७१ मा राजस्थानको जयपुरमा जन्मिएकी दियाकुमारीका पिता युवराज भवानी सिंह होटल व्यवसायी थिए । राजतन्त्र ढले पनि उनको जीवन र रहनसहन राजशाही तरिकाबाटै अघि बढ्यो ।

राजकुमारीको बिहे सामान्य चार्टर्ड एकाउन्टेन्ट नरेन्द्रसिंह रजावतसँग भएको भन्दै मिडियामा समाचारसमेत आएका थिए । उनले सन् २०११ मा पिता भवानी सिंहको निधनपछि प्रिन्सेस दियाकुमारी फाउन्डेसनमार्फत सामाजिक काम थालिन् ।

दियाकुमारीको राजनीतिक करिअर भने एक दशकभन्दा लामो छैन । उनी १० सेप्टेम्बर २०१३ मा भाजपामा सामेल भएकी थिइन् । उनले २ लाखभन्दा बढी मान्छे उत्रिएको भीडमा गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदी, भाजपाका तत्कालीन अध्यक्ष राजनाथ सिंह तथा बसुन्धरा राजे सिन्धियालगायत हस्तीहरुको उपस्थितिमा पार्टीको सदस्यता लिएकी थिइन् ।

उनी सोही साल राजस्थानको विधानसभा चुनावमा सवाई माधोपुरबाट सदस्य जित्न सफल भइन् भने सन् २०१९ मा लोकसभा सदस्य नै निर्वाचित भइन् ।

भगवान रामकी सन्तान !

दियाकुमारी आफ्नो राजवंश भगवान रामको खानदानबाट आएको दाबी गर्छिन् । उनका अनुसार उनीहरु रामका पुत्र कुशका खलक भएको पुष्टि गर्ने हस्तलिपि, वंशावली र दस्तावेजहरु छन् ।

वंशावलीअनुसार उनी भगवान रामको ३१०औं पुस्ताकी सदस्य हुन् । उनले यी दाबी पुष्टि गर्ने केही कागजातसमेत सार्वजनिक गरेकी थिइन् । जयपुरमा करिब ८ किलोमिटर क्षेत्रफलमा फैलिएको उनको घरको नाम नै रामबाग प्यालेस हो । उनका २३ वर्षीय छोरा पद्मनाभ सिंहले अहिले राज खानदानको नेतृत्व गर्छन् । उनीसँग करिब ८५५ मिलियन डलर सम्पत्ति रहेको बताइन्छ ।

महारानीलाई डर

मुख्यमन्त्रीकी मुख्य दाबेदार बसुन्धरा राजे पनि राज खानदानकै हुन् । उनी ग्वालियरकी राजमाता राज राजेश्वरी सिन्धियाकी छोरी हुन् । उनका दाइ माधवराव सिन्धिया कांग्रेस आईका नेता थिए । उनको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । माधवका छोरा ज्योतिरादित्य सिन्धिया कांग्रेस छाडेर अहिले बीजेपीमा छन् र उनी मध्य प्रदेशको मुख्यमन्त्रीका दाबेदारसमेत हुन् ।

बसुन्धराकी दिदी उषाराजे सिन्धिया राप्रपा नेता पशुपति शमशेरकी पत्नी हुन् । बसुन्धराका मावली नेपालकै राजखानदान महेन्द्र सिंह हुन् । पछिल्लो समय बसुन्धरा राजेको नरेन्द्र मोदीलगायत शीर्ष नेतृत्वसँग सम्बन्ध सुमधुर नभएकाले उनको ठाउँमा दियाकुमारी आउन सक्ने चर्चा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर