नवराज विकसहित ६ जनाको हत्या कसुरमा २४ जनालाई जन्मकैदको फैसला
किशोरी, उनकी आमा र भाइलाई २ वर्षको कैद
काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम पश्चिमको सोती घटनामा संलग्न रहेको कसुरमा ३४ जनामध्ये २४ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ र बाहिर रहेका ११ जना मध्ये एक जना गरेर २४ जनालाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवाना जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमले जनाएको हो ।
आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्गबहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २४ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार ज्यान मुद्दामा प्रतिवादी बनाएका मृतक नवराज विककी प्रेमिका, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ । घटनामा संलग्न भएका आठ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको सूचना अधिकारी कोइरालाले बताए ।