राष्ट्रियसभा निर्वाचन: सत्ता गठबन्धन कायम रहे एमाले हुन्छ खाली हात (मतभारसहित)
मतभारमा कोशीबाहेक ६ वटा प्रदेशमा कांग्रेस पहिलाे
काठमाडौं । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशित हुन बाँकी छ । यद्यपि राष्ट्रियसभा निर्वाचनमा ७५३ स्थानीय तहका १ हजार ५०३ र प्रदेशसभा सदस्यतर्फ ५४९ गरी २ हजार ५२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
७५३ स्थानीय तहतर्फ १ हजार ५०६ मतदाता हुनुपर्नेमा अहिले नगरपालिकाका मेयर र गाउँपालिका अध्यक्ष गरी तीन पद रिक्त छ । यस्तै प्रदेशसभा सदस्यतर्फ एक पद रिक्त छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार सातवटै प्रदेशबाट सात जना अन्य, सात जना नै महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय ३, दलित २ र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एकसहित २० जना राष्ट्रियसभा सदस्य चुनिनेछन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशमा चार जना निर्वाचित हुनेछन् । जसमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय, दलित र अन्य निर्वाचित हुनेछन् ।
गण्डकीमा निर्वाचित हुने ३ मध्ये महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्यतर्फ एकएक जना रहेका छन् ।
सुदूरपश्चिममा पनि तीन जना निर्वाचित हुनेछन् । जसमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्यबाट एकएक जना छन् । कर्णालीमा महिला, दलित र अन्यबाट एकएक जना निर्वाचित हुनेछन् ।
लुम्बिनी, कोशी र मधेशमा दुईदुई जना निर्वाचित हुनेछन् । तीन वटै प्रदेशमा महिला र अन्यबाट एकएक जना चुनिएर आउनेछन् । सरकारको सिफारिसमा राष्ट्रपतिले एक जना महिला सदस्य मनोनीत गर्नेछन् ।
स्थानीय तहका मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्ष तथा प्रदेशसभा सदस्य राष्ट्रियसभा निर्वाचनमा मतदाता हुने कानूनी व्यवस्था छ । निर्वाचन आयोगले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका मेयर र उपमेयरको १९ तथा प्रदेशसभा सदस्यको ५३ मतभार निर्धारण गरिसकेको छ ।
हरेक प्रदेशका मतदाताबाट राष्ट्रियसभा सदस्य निर्वाचित हुने भएकाले प्रत्येक प्रदेशको मत संख्या र मतभार फरक फरक छ । मुलुकभरका १ हजार ५०३ स्थानीय तहका मतदाताको २८ हजार ५५७ मतभार छ । ५४९ प्रदेशसभा सदस्यको मतभार २९ हजार ९७ छ । जसअनुसार राष्ट्रियसभा निर्वाचनको कुल मतभार ५७ हजार ६५४ छ ।
यो मतभारले सातै प्रदेशमा वर्तमान सत्ता गठबन्धन अगाडि छ । यही गठबन्धनले निर्वाचनसम्म निरन्तरता पाए उसले प्रत्यक्ष निर्वाचन हुने १९ जनामा क्लिन स्वीप गर्ने निश्चित देखिन्छ । जसले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले खाली हात हुनेछ । सबै क्षेत्रमा आफ्नो उम्मेदवार विजयी बनाउन सत्ता गठबन्धनले भागबन्डाको लागि गृहकार्यसमेत थालिसकेका छन् ।
कोशीमा सत्ता गठबन्धनसँग ५४ प्रतिशत मतभार
कोशीका १३७ स्थानीय तहका २७४ र प्रदेशसभा सदस्य ९३ गरी ३६७ जना मतदाता छन् । स्थानीय तहको ५ हजार २०६ र प्रदेशसभाको ४ हजार ९२९ गरी १० हजार १३५ मतभार हुन्छ ।
कोशीमा सबैभन्दा बढी नेकपा एमालेसँग १५० मतदाता छन् । जसमा स्थानीय तहतर्फ ११० र प्रदेशसभातर्फ ४० जना छन् । एमालेसँग स्थानीय तहको २ हजार ९० र प्रदेशसभाको २ हजार १२० गरी कुल मतभार ४ हजार २१० छ ।
दोस्रोमा नेपाली कांग्रेससँग ११४ जना मतदाता छन् । जसमा स्थानीय तहतर्फ ११५ र प्रदेशसभातर्फ २९ जना छन् । कांग्रेससँग स्थानीय तहको २ हजार १८५ र प्रदेशसभातर्फ १ हजार ५३७ गरी जम्मा मतभार ३ हजार ७२२ छ ।
तेस्रोमा नेकपा माओवादी केन्द्रसँग ४४ जना मतदाता छन् । जसमा स्थानीय तहतर्फ ३१ र प्रदेशसभामा १३ जना छन् । माओवादीसँग स्थानीय तहमा ५८९ र प्रदेशसभामा ६८९ गरी जम्मा मतभार १ हजार २७८ छ ।
यहाँ नेकपा एकीकृत समाजवादीसँग स्थानीय तहमा ७ र प्रदेशसभामा ४ गरेर ११ जनाात्रै मतदाता छन् । स्थानीय तहको १३३ र प्रदेशसभाको २१२ गरेर जम्मा मतभार ३४५ छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग स्थानीय तहमा ४ र प्रदेशसभामा ६ गरेर १० जना मतदाता छन् । स्थानीय तहको ७६ र प्रदेशसभाको ३१८ गरेर राप्रपाको जम्मा मतभार ३९४ छ ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा)सँग स्थानीय तहमा ४ र प्रदेशसभामा एक गरेर ५ जनामात्रै मतदाता छन् । स्थानीय तहको ७६ र प्रदेशसभाको ५३ गरी जसपाको जम्मा मतभार १२९ छ । कोशीमा स्थानीय तहमा मात्रै तीन जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरुको मतभार ५७ छ ।
राष्ट्रियसभा निर्वाचनमा कोशीमा सत्ता गठबन्धन कायम रहेमा उनीहरुको मतभार ५ हजार ४७४ पुग्नेछ । सत्ता बाहिर रहेका दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको भने मतभार ४ हजार ६६१ मात्रै पुग्छ ।
मधेशमा पनि सत्ता गठबन्धन अगाडि
मधेशमा १३६ स्थानीय तह छन् । जसमा स्थानीय तहबाट २७२ र प्रदेशसभाबाट १०७ गरी ३७९ जना मतदाता छन् । यहाँ स्थानीय तहको ५ हजार १६८ र प्रदेशसभाको ५ हजार ६७१ गरी जम्मा मतभार १० हजार ८३९ हुन्छ । सात वटै प्रदेशमध्ये मधेशमा सबैभन्दा बढी मतभार छ ।
मधेशमा सबैभन्दा बढी कांग्रेससँग १२४ जना मतदाता छन् । जसमा स्थानीय तहमा १०८ र प्रदेश सभामा २२ जना छन् । कांग्रेससँग स्थानीय तहको २ हजार ५२ र प्रदेशसभाको १ हजार १६६ गरी ३ हजार २१८ मतभार छ ।
दोस्रोमा नेकपा एमाले स्थानीय तहमा ५७ र प्रदेशसभामा २३ गरी ८० जना मतदाता छन् । एमालेसँग स्थानीय तहको मतभार १ हजार ८३ र प्रदेशसभाको १ हजार २१९ गरी २ हजार ३०२ मतभार छ ।
तेस्रोमा जसपासँग स्थानीय तहमा ५१ र प्रदेशसभामा १६ गरेर ६७ जना मतदाता छन् । स्थानीय तहको ९६९ र प्रदेशसभाको ८४८ गरी जसपासँग १ हजार ८१७ मतभार छ ।
मधेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग ३३ जना मतदाता छन् । जसमा स्थानीय तहमा २४ र प्रदेशसभामा ९ जना छन् । लोसपासँग स्थानीय तहको ४५६ र प्रदेशसभाको ४७७ गरी जम्मा ९३३ मतभार छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रसँग स्थानीय तहमा १८ र प्रदेशसभामा ८ गरी २६ जना मतदाता छन् । माओवादीसँग स्थानीय तहको ३४२ र प्रदेशसभाको ४२४ गरी जम्मा ७६६ मतभार छ । नेकपा एकीकृत समाजवादीसँग स्थानीय तहमा ११ र प्रदेशसभामा ७ गरेर १८ जना मतदाता छन् । स्थानीय तहको २०९ र प्रदेशसभाको ३७१ गरेर उससँग जम्मा ५८० मतभार छ ।
यहाँ राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग प्रदेशसभामा एकएक जनामात्रै मतदाता रहेका छन् । जसको मतभार ५३-५३ मात्रै हो । जनमत पार्टीसँग स्थानीय तहतर्फ ३ र प्रदेशसभातर्फ १३ गरेर १६ जना मतदाता छन् । जसअनुसार स्थानीय तहको ५७ र प्रदेशसभाको ८४८ गरेर जम्मा मतभार ९०५ छ ।
मधेशमा विवेकशील साझा पार्टीसँग स्थानीय तहतर्फ २ जना मतदाता रहेका छन् । जसको मतभार ३८ छ । तराई मधेश लोकतान्त्रिक पार्टीको पनि स्थानीय तहमा एक मत छ । जसको मतभार १९ हुन्छ । प्रदेशसभामा एक मत रहेको नेपाल संघीय समाजवादी पार्टीसँग ५३ मतभार छ ।
मधेशमा स्वतन्त्रबाट तीन स्थानीय तह र प्रदेशसभामा ६ गरेर ९ जना मतदाता छन् । स्थानीय तहको ५९ र प्रदेशसभाको ३१८ गरेर स्वतन्त्रहरुको मतभार ३७७ हुन्छ ।
राष्ट्रियसभा निर्वाचनमा मधेशमा पनि सत्ता गठबन्धन अगाडि छ । उनीहरुको मतभार ८ हजार २७२ पुग्छ । सत्ता बाहिर रहेका दल नेकपा एमाले, राप्रपालगायत अन्य दल र स्वतन्त्र गरेर जम्मा मतभार २ हजार ५६७ मात्रै पुग्छ ।
बागमतीमा सत्ता गठबन्धनको मतभार ६५ प्रतिशत
११९ स्थानीय तह रहेको बागमतीमा स्थानीय तहका मतदाता २३८ हुनुपर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको पद रिक्त छ । त्यस्तै ११० प्रदेशसभा सदस्य जोड्दा यहाँ मतदाताको संख्या ३४७ हुन्छ । स्थानीय तहमा ४ हजार ५०३ र प्रदेशसभामा ५ हजार ८३० गरी बागमतीमा १० हजार ३३३ मतभार छ ।
बागमतीमा पनि मतदाता र मतभारमा कांग्रेस अगाडि छ । उससँग १४५ जना मतदाता छन् । जसमा स्थानीय तहमा १०८ र प्रदेशसभामा ३७ जना छन् । स्थानीय तहको २ हजार ५२ र प्रदेशसभाको १ हजार ९६१ गरी यहाँ कांग्रेसको मतभार ४ हजार १३ हुन्छ ।
दोस्रोमा रहेको नेकपा एमालेसँग स्थानीय तहमा ६० र प्रदेशसभामा २७ गरी ८७ जना मतदाता छन् । एमालेसँग स्थानीय तहको १ हजार १४४ र प्रदेशसभाको १ हजार ४३१ गरी जम्मा मतभार २ हजार ५७५ छ ।
तेस्रोमा नेकपा माओवादी केन्द्रसँग स्थानीय तहमा ५७ र प्रदेशसभामा २१ गरी ७८ जना मतदाता छन् । माओवादीसँग स्थानीय तहको १ हजार ८३ र प्रदेशसभाको १ हजार ११३ गरी जम्मा मतभार २ हजार १९६ छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीसँग स्थानीय तहमा ९ र प्रदेशसभामा ७ गरेर १६ जना मतदाता छन् । स्थानीय तहको १७१ र प्रदेशसभाको ३७१ गरेर उससँग जम्मा मतभार ५४२ छ ।
राप्रपासँग स्थानीय तहमा एक र प्रदेशसभामा १३ गरेर १४ जना मतदाता छन् । स्थानीय तहको १९ र प्रदेशसभाको ६८९ गरेर राप्रपासँग ७०८ मतभार छ । नेपाल मजदुर किसान पार्टीसँग स्थानीय तहमा २ र प्रदेशसभामा ३ गरेर ५ जना मतदाता छन् । स्थानीय तहको ३८ र प्रदेशसभाको १५९ गरेर उसको जम्मा मतभार १९७ हुन्छ ।
त्यस्तै हाम्रो नेपाली पार्टीको प्रदेशसभामा २ जना मतदाताको मतभार १०६ हुन्छ । बागमतीमा स्वतन्त्रबाट स्थानीय तहमा एक जनामात्रै निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेनको मतभार १९ छ ।
बागमतीमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको सत्ता गठबन्धन स्पष्ट बहुमतमा छ । उनीहरुको मतभार ६ हजार ७५१ पुग्नेछ । प्रतिपक्ष नेकपा एमालेसहित सत्ता बाहिर रहेका दल दलको मतभार ३ हजार ५५२ मात्रै हुन्छ ।
गण्डकीमा पनि सत्ता गठबन्धनलाई सहज
गण्डकीमा ८५ स्थानीय तह छन् । यहाँ स्थानीय तहका १७० र प्रदेशसभाका ६० गरी २३० जना मतदाता छन् । स्थानीय तहतर्फ ३ हजार २३० र प्रदेशसभातर्फ ३ हजार १८० गरी गण्डकीमा ६ हजार ४०० मतभार छ ।
गण्डकीमा पनि कांग्रेस पहिलो शक्ति हो । उससँग स्थानीय तहमा ६७ र प्रदेशसभामा २७ गरी ९४ जना मतदाता छन् । स्थानीय तहको १ हजार २७३ र प्रदेशसभाको १ हजार ४३१ गरी यहाँ कांग्रेससँग जम्मा मतभार २ हजार ७०४ छ ।
दोस्रोमा नेकपा एमालेसँग स्थानीय तहमा ६८ र प्रदेशसभामा २२ गरी ९० जना मतदाता छन् । एमालेसँग स्थानीय तहको १ हजार २९२ र प्रदेशसभाको १ हजार १६६ गरी २ हजार ४५८ मतभार छ ।
तेस्रोमा नेकपा माओवादी केन्द्रसँग स्थानीय तहमा ३० र प्रदेशसभामा ७ गरी ३७ मतदाता छन् । माओवादीसँग स्थानीय तहको ५७० र प्रदेशसभाको ३७१ गरी जम्मा मतभार ९४१ छ ।
गण्डकीमा राष्ट्रिय जनमोर्चासँग स्थानीय तहका ३ जना मतदाताको मतभार ५७ छ । नेकपा एकीकृत समाजवादीसँग भने स्थानीय तहमा रहेको एकमात्रै मतदाताको मतभार १९ छ । राप्रपाका प्रदेशसभातर्फ २ जना मतदाताको मतभार १०६ छ । स्वतन्त्रबाट स्थानीय तह र प्रदेशसभामा एकएक गरेर २ जना मतदाताको मतभार ७२ छ ।
गण्डकीमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको सत्ता गठबन्धनलाई राष्ट्रियसभा निर्वाचन सहज छ । उनीहरुको मतभार ५७ प्रतिशत अर्थात ३ हजार ६६४ पुग्छ । सत्ता बाहिर रहेका दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको जम्मा मतभार २ हजार ७३६ मात्रै पुग्छ ।
लुम्बिनीमा सत्ता गठबन्धनलाई ५६ प्रतिशत मतभार
लुम्बिनीमा १०९ वटा स्थानीय तह छन् । यहाँ स्थानीय तहका २१८ र प्रदेशसभाका ८७ गरी ३०५ जना मतदाता छन् । जसमा स्थानीय तहको ४ हजार १४२ र प्रदेशसभाको ४ हजार ६११ गरी ८ हजार ७५३ मतभार हुन्छ ।
लुम्बिनीमा पनि कांग्रेस ११९ जना मतदातासहित पहिलो शक्ति छ । कांग्रेसका स्थानीय तहमा ९२ र प्रदेशसभामा २७ जना मतदाता छन् । स्थानीय तहको १ हजार ७४८ र प्रदेशसभाको १ हजार ४३१ गरी कांग्रेससँग ३ हजार १७९ मतभार छ ।
दोस्रोमा रहेको नेकपा एमालेसँग स्थानीय तहमा ६७ र प्रदेशसभामा २९ गरी ९६ जना मतदाता छन् । एमालेसँग स्थानीय तहको १ हजार ३६९ र प्रदेशसभाको १ हजार ५३७ गरी २ हजार ९०६ मतभार छ ।
तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रसँग स्थानीय तहमा ४० र प्रदेशसभामा ९ गरी ४९ जना मतदाता छन् । माओवादीसँग स्थानीय तहको ७६० र प्रदेशसभाको ४७७ गरी १ हजार २३७ मतभार छ ।
जनमोर्चासँग स्थानीय तहमा ४ को ७६ र प्रदेशसभामा १ को ५३ गरेर ५ जनाको १२९ मतभार छ । नेकपा एकीकृत समाजवादीसँग प्रदेशसभातर्फ एक जनाको मतभार ५३ छ ।
त्यस्तै राप्रपासँग स्थानीय तहमा ३ र प्रदेशसभामा ४ गरेर ७ जना मतदाता छन् । स्थानीय तहको ५७ र प्रदेशसभाको २१२ गरेर राप्रपासँग २६९ मतभार छ ।
लुम्बिनीमा जसपासँग स्थानीय तहमा ६ र प्रदेशसभामा ३ गरेर ९ जना मतदाता छन् । स्थानीय तहको ११४ र प्रदेशसभाको १५९ जोड्दा उसको मतभार २७३ हुन्छ । लोसपासँग स्थानीय तहमा ४ र प्रदेशसभामा ३ गरेर ७ जना मतदाताको मतभार २३५ छ । नागरिक उन्मुक्तिसँग प्रदेशसभाका ४ जना मतदाताको मतभार २१२ छ ।
जनमतका प्रदेशसभातर्फ ३ जना मतदाताको मतभार १५९ छ । जनता प्रगतिशील पार्टी नेपालको स्थानीय तहका २ जना मतदाताको मतभार ३८ छ । यहाँ प्रदेशसभामा ३ जना स्वतन्त्र मतदाता रहेका छन् । उनीहरुको मतभार १५९ छ ।
सत्ता गठबन्धन कायमै रहेको अवस्थामा लुम्बिनीमा पनि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका उम्मेदवारले नै बाजी मार्ने निश्चित देखिन्छ । उनीहरुको मतभार ६१ प्रतिशत अर्थात ५ हजार ३४८ पुग्छ । सत्ता बाहिर रहेका दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको जम्मा मतभार ३ हजार ४०४ मात्रै पुग्छ ।
कर्णालीमा सत्ता गठबन्धनको मतभार ७१ प्रतिशत
कर्णालीमा ७९ स्थानीय तहका १५८ मतदाता छन् । जसमा दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाका उपमेयरको पद रिक्त छ । स्थानीय तहका १५६ र प्रदेशसभाका ४० गरेर यहाँ १९६ जना मतदाता रहेका छन् । स्थानीय तहको २ हजार ९६४ र प्रदेशसभाको २ हजार २४० गरी कर्णालीमा कुल मतभार ५ हजार २०४ छ ।
कर्णालीमा पनि कांग्रेस पहिलो दल हो । कांग्रेससँग स्थानीय तहमा ५९ र प्रदेशसभामा १४ गरी ७३ जना मतदाता छन् । स्थानीय तहको १ हजार १२१ र प्रदेशसभाको ७४२ गरी कांग्रेसको मतभार १ हजार ८६३ हुन्छ ।
दोस्रो दल बनेको नेकपा माओवादी केन्द्रसँग स्थानीय तहमा ४८ र प्रदेशसभामा १३ गरी ६१ जना मतदाता छन् । माओवादीसँग स्थानीय तहको ९१२ र प्रदेशसभाको ६८९ गरी १ हजार ६०१ मतभार छ ।
तेस्रो रहेको नेकपा एमालेसँग स्थानीय तहमा ३५ र प्रदेशसभामा १० गरी ४५ जना मतदाता छन् । जसअनुसार स्थानीय तहको ६६५ र प्रदेशसभाको ५३० गरी एमालेसँग जम्मा मतभार १ हजार १९५ छ ।
कर्णालीमा नेकपा एकीकृत समाजवादीसँग स्थानीय तहमा १० र प्रदेश सभामा १ गरेर ११ जना मतदाता छन् । स्थानीय तहको १९० र प्रदेशसभाको ५३ गरेर उससँग २४३ मतभार छ ।
त्यस्तै राप्रपासँग जना प्रदेशसभातर्फको मतदाताको मतभार ५३ छ । स्वतन्त्रतर्प स्थानीय तहमा ६ र प्रदेशसभामा १ गरेर ७ जना मतदाताको मतभार १६७ हुन्छ ।
कर्णालीमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको सत्ता गठबन्धन राष्ट्रिय सभा निर्वाचनमा सहज स्थितिमा छ । सत्ता गठबन्धन कायम रहेमा उनीहरुको मतभार ७१ प्रतिशत अर्थात ३ हजार ७०७ पुग्छ । प्रतिपक्षी दलहरु नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको जम्मा मतभार १ हजार ४९७ मात्रै पुग्छ ।
सुदूरपश्चिममा झनै सहज स्थितिमा सत्ता गठबन्धन
सुदूरपश्चिममा ८८ वटा स्थानीय तहका १७६ र प्रदेशसभाका ५३ जना मतदाता रहे पनि बझाङको प्रदेशसभा ‘क’ सदस्य छ । यहाँ स्थानीय तहको ३ हजार ३४४ र प्रदेशसभाको २ हजार ७५६ गरी कुल ६ हजार १०० मतभार छ ।
सुदूरपश्चिममा पनि पहिलो रहेको कांग्रेससँग स्थानीय तहमा ८६ र प्रदेशसभामा १९ गरी १०५ जना मतदाता छन् । स्थानीय तहको १ हजार ६३४ र प्रदेशसभाको १ हजार ७ गरी कांग्रेससँग २ हजार ६४१ मतभार छ ।
दोस्रो रहेको नेकपा एमालेसँग स्थानीय तहमा ५० र प्रदेशसभामा १० गरी ६० जना मतदाता छन् । एमालेसँग स्थानीय तहको ९५० र प्रदेशसभाको ५३० गरी १ हजार ४८० मतभार छ ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रसँग स्थानीय तहमा २५ र प्रदेशसभामा ११ गरी जम्मा ३६ जना मतदाता छन् । माओवादीसँग स्थानीय तहको ४७५ र प्रदेशसभाको ५८३ गरी १ हजार ५८ मतभार छ ।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिसँग स्थानीय तहमा ७ र प्रदेशसभामा ७ गरेर १४ जना मतदाता छन् । जसअनुसार स्थानीय तहको १३३ र प्रदेशसभाको ३७१ गरेर उससँग ५०४ मतभार छ । नेकपा एकीकृत समाजवादीसँग स्थानीय तहमा ५ र प्रदेशसभामा ४ गरेर ९ जना मतदाता छन् । स्थानीय तहको ९५ र प्रदेशसभाको २१२ गरेर उससँग ३०७ मतभार छ ।
त्यस्तै राप्रपासँग प्रदेशसभातर्फ एक जनाको ५३ मतभार छ । स्वतन्त्रतर्फ स्थानीय तहमा ३ र प्रदेशसभामा १ गरेर ४ जना मतदाता छन् । उनीहरुसँग स्थानीय तहको ५७ र प्रदेशसभाको ५३ गरेर ११० मतभार छ ।
सुदूरपश्चिममा पनि सत्ता गठबन्धनलाई झनै सहज छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको सत्ता गठबन्धन राष्ट्रियसभा निर्वाचनसम्म कायम रहेमा उनीहरुको मतभार ७३ प्रतिशत अर्थात ४ हजार ५१० पुग्छ । सत्ता बाहिर रहेका दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको मतभार १ हजार ५९० मात्रै पुग्छ ।