उदेकलाग्दो गरी आउट भए मुस्फिकर, आखिर किन गरे यस्तो मूर्खता ? – Nepal Press

उदेकलाग्दो गरी आउट भए मुस्फिकर, आखिर किन गरे यस्तो मूर्खता ?

काठमाडौं । क्रिकेटमा ब्याट्सम्यान आउट हुने धेरै वटा विधिहरू छन्, जसमा एक हो- अब्स्ट्रक्ट द फिल्ड । अर्थात्, जानाजान विपक्षी टीमलाई व्यवधान पुर्‍याउन खोजेको खण्डमा अम्पायरले ब्याट्सम्यानलाई आउट दिन सक्छन् ।

‘अब्स्ट्रक्ट द फिल्ड’ क्रिकेटमा नौलो होइन । तर, हिजो न्यूजिल्यान्डविरुद्धको खेलमा बंगलादेशका मुस्फिकर रहिम जुन तरिकाले आउट त्यो चाहिँ निकै उदेकलाग्दो थियो । आफ्नै मूर्खताले गर्दा उनी पेभेलियन फर्किन बाध्य भए ।

भएको के थियो त ?

घरेलु मैदानमा जारी टेस्ट शृङ्खला अन्तरगतको दोस्रो टेस्ट आजबाट सुरु भएको हो । पहिलो टेस्ट बंगलादेशले जितिसकेको छ । टस जितेको बंगलादेशले पहिले ब्याटिङ रोजेको थियो ।

खेलको ४० औँ ओभरमा बङ्गलादेश ४ विकेट गुमाएर १०४ रन बनाउँदै संघर्ष गरिरहेको थियो । ब्याटिङमा थिए मुस्फिकर रहिम र सहादत हुसेन ।

३५ रन बनाएर खेलिरहेका अनुभवी ब्याट्सम्यान मुस्फिकरको विकेट बंगलादेशका लागि निकै महत्त्वपूर्ण थियो ।

४० औँ ओभरको तीन बल किल जेमिसनले मुस्फिकरलाई लगातार डट फ्याँके । चौथो बल पनि मुस्फिकरले डिफेन्ड गरे । तर, त्यसपछिको घटना भने आश्चर्यलाग्दो थियो ।

ब्याटले सहज रुपमा डिफेन्ड गरेको बल भुईँमा ठोक्किएर माथि उफ्रिएपश्चात् मुस्फिकरलाई के सुर चढ्यो, एउटा हात लम्काए र बल रोकिदिए । स्टम्पबाट निकै पर रहेको बल उनले किन यसरी रोक्न खोजे कसैले बुझ्न सकेन । डिफेन्ड गरिसकेको त्यो बलले उनलाई कुनै खतरा पैदा गर्नेवाला थिएन ।

क्रिकेटमा यसरी खाली हातले बल छुन पाइँदैन । यसो गर्नु भनेको ‘ह्यान्डलिङ द बल’ हो जुन ‘अब्स्ट्रक्ट द फिल्ड’ अन्तरगत पर्छ । यदि ब्याट्सम्यानले नियतवश खाली हातले बल समातेमा वा छोएमा अम्पायरले आउट दिन सक्छन् । यो सामान्य नियम ८० भन्दा बढी टेस्ट खेलिसकेका अनुभवी मुस्फिकरलाई थाहा नहुने कल्पना गर्न सकिन्न ।

त्यसो त उक्त सेसनको सुरुमै पनि मुस्फिकरले एकपटक यस्तै प्रयास गर्न खोजेका थिए । तर, त्यसबेला उनी आफैँ सम्हालिए । तर, यसपालि चाहिँ उनको दिमागले नै सायद काम गरेन ।

मुस्फिकरले हातले बल रोक्नासाथ न्यूजिल्यान्डका खेलाडीले आउटको अपिल गरे । अन फिल्ड अम्पायरहरुले आपसी परामर्शपछि निर्णयका लागि थर्ड अम्पायरमा पठाए । थर्ड अम्पायरले पहिलो दृष्टिमै त्यसलाई नियतवश गरिएको ठहर्‍याएर आउट करार गरिदिए ।

मुस्फिकरले यसरी मूर्खता देखाएको यो पहिलोपटक भने होइन । यसै वर्ष उनी न्यूजिल्याडविरुद्धकै वान डेमा अस्वभाविक आउट भएका थिए । फरक चाहिँ के थियो भने त्यो बल उनले डिफेन्ड गरेपश्चात स्टम्पमा लाग्नेवाला थियो । मुस्फिकरले एउटा खुट्टा उचालेर बललाई हिर्काउने प्रयास गरे । तर, यसो गर्दा खुट्टाले लागेर स्टम्प ढलेको थियो । उनी हिट द स्टम्प भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *