रुसी सैनिकमा भर्ना हुन नेपाल प्रहरीका बहालवालाहरुकै लर्को (भिडिओ) – Nepal Press

रुसी सैनिकमा भर्ना हुन नेपाल प्रहरीका बहालवालाहरुकै लर्को (भिडिओ)

काठमाडौं । रुसी सैनिकमा भर्ना हुन नेपाल प्रहरीका बहालवाला कर्मचारीहरु नै लाइन लागेको पाइएको छ ।

रुसमा सेनालगायत विभिन्न जागिरमा भर्ना गर्ने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका १२ जनामाथि अनुसन्धान गर्ने क्रममा उक्त तथ्य फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

‘बहालवाला र पूर्वप्रहरी तथा सेनासम्बन्धी सीप हुने भएकाले उनीहरु रुसी सैनिकमा भर्ना हुन सजिलो हुने गरेको अनुसन्धानमा खुलेको छ’, काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीले भने ।

प्रहरीका अनुसार पूर्वप्रहरी तथा सैनिकसहित बहालवालाहरु पनि रुसी सेनामा भर्ना हुन गएको देखिएको छ । केही नेपालसमेत फर्किसकेको अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

प्रहरीले रुस पठाउने तीन वटा समूहलाई पक्राउ गरेको छ । सुजाता दाहाल नेतृत्वको समूहका ५ जना र ईश्वर अधिकारी नेतृत्वको समूहका ६ जना पक्राउ परेका छन् ।

यस्तै म्यानपावरसँग आबद्ध हरि विक पनि पक्राउ परेका छन् । हरिले हालसम्म १८ जनालाई रुस पठाएको र तीमध्ये २ जना फर्केर नेपाल आएको बताएको अनुसन्धानमा खटिएका एक अधिकारीले बताए ।

विक नेपाली सेनाका पूर्वकर्मचारी हुन् । अन्य दुई वटा समूहले कति जनालाई पठाएको थियो भन्नेबारे केही खुलेको छैन । यसअघि रुसमा विद्यार्थी पठाउने कन्सल्टेन्सी चलाउँदै आएकी दाहालको कार्यालयबाट २७ वटा पासपोर्ट बरामद भएको छ ।

त्यस्तै अधिकारीको समूहबाट १६ वटा पासपोर्ट बरामद भएको प्रहरीले जनाएको छ ।

‘सुजताको समूहलाई दुई जना बहालवाला प्रहरीले रुस जान भनेर पैसा बुझाएको पनि भन्ने अनुसन्धानका क्रममा खुल्न आएको छ । हामी थप अनुसन्धान गरिरहेका छौं’, अनुसन्धानमा खटिएका अधिकारीले भने ।

प्रहरीका अनुसार रूसमा पठाउन नेपाल र भारत दुवै देशको बाटो प्रयोग भएको पाइएको छ । रुसी सेनामा भर्ना भएर ज्यान गुमाएका नेपालीहरुलाई यो गिरोहले पठाए/नपठाएको भन्नेबारे केही खुलेको छैन ।

‘मृतकका परिवार सम्पर्कमा आएमा केही खुल्नसक्छ । अहिलेसम्म उहाँहरु सम्पर्कमा आउनुभएको छैन’, काठमाडौं प्रहरी प्रमुख खत्रीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर