एलपीएल टी-२० क्रिकेट: टीकापुरसँग शारदा ९४ रनले पराजित
कैलाली । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को आठौं संस्करणअन्तर्गतको आजको पहिलो खेलमा युथ अफ टीकापुरले विजयी सुरुवात गरेको छ । आजको पहिलो खेलमा टीकापुरसँग शारदा सेकेण्डरी स्कुल ९४ रनले पराजित भयो ।
टीकापुरले दिएको १९० रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा सबै विकेट गुमाएर ९५ रनमात्र बनायो ।
शारदाको ब्याटिङमा सुशान्त खत्रीले सर्वाधिक ३७ तथा सुवास सिंहले १६ रन योगदान दिए । टीकापुरका प्रकाश जैसीले ३ विकेट लिए भने मोहम्मद हुसेन, प्रेम शाह र सुमित महर्जनले १्१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको टीकापुरले १७.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो । टीकापुरका कप्तान प्रेम शाहले सर्वाधिक ४८ रन बनाए । प्लेयर अफ द म्याच घोषित शाहले ३७ बलमा ७ चौका प्रहार गरेका थिए ।
यस्तै सुमित महर्जनले ३४, हरि चौहानले २५, प्रदीप ऐरीले २४ तथा मोहम्मद हुसेनले २३ रन बनाए ।
शारदाको बलिङमा विश्वास पन्त एक्लैले ६ विकेट लिए । ३.५ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए । अभिषेक मल्लले २ तथा सुशान्त कार्कीले १ विकेट लिए ।
प्रतियोगिताको विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता छ ।