संसदीय समिति बनाएर एनसेलको शेयर प्रकरण छानबिन गर्न अनेरास्ववियुको माग (भिडिओ) – Nepal Press

संसदीय समिति बनाएर एनसेलको शेयर प्रकरण छानबिन गर्न अनेरास्ववियुको माग (भिडिओ)

काठमाडौं । नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेल प्रकरणको उच्चस्तरीय संसदीय छानबिन गर्न माग गरेको छ ।

विहीबार सिंहदरबारमा सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै अखिलले एनसेलको गतिविधि देशहित विपरीत रहेको भन्दै प्रतिनिधिसभाअन्तर्गत उच्चस्तरीय संसदीय छानबिन समिति वा विशेष समितिमार्फत छानबिन गरी सत्यतथ्य पत्ता लगाई समस्या समाधान गर्न माग गरेको हो ।

अखिलले एनसेल शेयर खरिद बिक्री प्रकरण आफैंमा अपारदर्शी तथा अविश्वसनीय रहेको, पूँजीगत लाभ कर छली तथा नेपाल सरकारलाई स्वामित्व हस्तान्तरणमा आलटाल गर्न उद्देश्य राखेको जनाएको छ ।

अखिलको ज्ञापन पत्र बुझ्दै सभामुख घिमिरेले एनसेलका बिषयमा बाहिर आएका विषय हेर्दा छानबिन गर्नुपर्ने आवश्यकता देखिएको बताए । संसदीय समितिहरूले पनि यस विषयमा चासो दिइरहेको र यसमा देखिएको विवादलाई निष्कर्षमा पुर्‍याउनुपर्ने माग सकारात्मक नै रहेको उनको भनाइ छ । एनसेलको भौतिक क्षति नपुर्‍याउने गरी दबाबका कार्यक्रम गर्न घिमिरेको सुझाव छ ।

अखिलले यस विषयमा सत्यतथ्य छानबिनका लागि सरकारलाई दबाब सिर्जना गर्न विरोधलगायतका कार्यक्रमलाई निरन्तरता दिने कार्यवाहक अध्यक्ष गोविन्द गिरीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर