एपीएफले सुनसरी र मोरङमा पनि सुरू गर्‍यो सीमा स्तम्भ मर्मत सम्भार (भिडिओ) – Nepal Press

एपीएफले सुनसरी र मोरङमा पनि सुरू गर्‍यो सीमा स्तम्भ मर्मत सम्भार (भिडिओ)

विराटनगर । सुनसरी र मोरङमा पनि सीमा स्तम्भहरूको मर्मत सम्भार थालिएको छ । सशस्त्र प्रहरीले सीमा स्तम्भ मर्मत सम्भार, रंगरोगन र पुन:स्थापनाको काम सुरू गरेको हो ।

नेपालतर्फ सुनसरी देवानगंज गाउँपालिका-३ पाचौसिमर इलाका तथा भारततर्फ अररिया मणिकपुर ग्राम पञ्चायत-७ सरदार टोलस्थित नेपाल-भारत दशगजा इलाकामा रहेको १८९ नम्बरको मुख्य सीमा स्तम्भको मर्मत गरी कामको शुभारम्भ गरिएको डीएसपी सुधीर खतिवडाले जानकारी दिए । सन् २०१४ पछि जोर नम्बरको सीमा स्तम्भहरू एसएसबी र बिजोर नम्बरको सीमा स्तम्भ एपीएफ टोलीले मर्मत सम्भार गर्ने निर्णय अनुसार उक्त कार्य सुरूवात गरिएको हो ।

एपीएफ सुनसरी ४ नम्बर गणका गणपति एसपी लकेशकुमार तुम्वाहाङ्गफेका अनुसार सीमा मर्मतसम्भारमा दुवैतर्फका अधिकारीको उपस्थिति थियो ।

त्यस्तै विराटनगर महानगरपालिका-१८ दामादिगी स्थित १७७ नम्बरको पिलर मेयर नागेश कोइरालाले मर्मत सम्भार सुरू गरेर मोरङमा पनि सीमा स्तम्भ मर्मत कार्य थालिएको छ । मेयर कोइरालाले सीमा क्षेत्रको सुरक्षा गर्न स्थानीयको पनि महत्वपूर्ण भूमिका हुने बताए ।

सशस्त्र प्रहरी बल बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले स्थानीयको सहयोगविना सीमा सुरक्षा सम्भव नभएको बताए ।

सशस्त्र प्रहरी बल ३ नं कंकालिनी गणले मोरङका ३७ वटा बिजोर नम्बरका पिलरहरु मर्मत सम्भार र रंगरोगन गर्ने जिम्मा पाएको हो । मोरङको भारतसँग रहेको ६३ किलोमिटर सिमा क्षेत्रमा १ सय २३ वटा साना ठूला पिलरहरु रहेकोमा ६५ वटा जोर नम्बरका पिलरहरु भारतिय सशस्त्र सुरक्षा बल एसएसबीले मर्मत सम्भार र रंगरोगन गरिसकेका छन् । मोरङको सीमाक्षेत्रका २३ वटा पिलरहरु भने हराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर