मेयरकै रोजाईमा आएका पार्टी निकटकै कर्मचारी उनीसँगकै खटपटमा टिकेनन् – Nepal Press

मेयरकै रोजाईमा आएका पार्टी निकटकै कर्मचारी उनीसँगकै खटपटमा टिकेनन्

बुटवलमा लामो समय कार्यालय प्रमुख नहुँदा सेवा प्रभावित

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयसँग विवाद भएपछि हाजिर भएको डेढ महिनामै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले उपमहानगर छाडेको एक महिना पूरा हुँदा पनि अहिलेसम्म अर्को कोही प्रशासकीय अधिकृत आएका छैनन् ।

बुटवलमा हाजिर भएको डेढ महिनामै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काठमाडौं फर्केपनि त्यसपछि मन्त्रालयले अहिलेसम्म कसैलाई पठाएको छैन । लामो समय कार्यालय प्रमुखबिहीन बनेपछि उपमहानगरको कारकारवाहीमा गम्भीर असर परेको छ ।

कुरा नमिलेर काठमाडौं फिर्ता भएको एक महिना बढी हुँदा पनि नयाँ प्रशासकीय अधिकृत नपठाएपछि उपमहानगरको आर्थिक कामकारवाहीमा असर परेको हो । नगरप्रमुख खेलराज पाण्डेयले आफूलाई ऐन, कानून र कार्यविधिभन्दा बाहिर गएर काम गर्न दबाब दिएको भन्दै उनी आएको ४४ दिनमै उनी काठमाडौं फर्किएका हुन् ।

भुसाल उद्योग मन्त्रालयबाट सरुवा भएर असोज ७ गते उपमहानगरमा हाजिर भएका थिए । भुसालको गृहमन्त्रालयमा सरुवा भएको कागज उपमहानगरमा आएपनि अहिलेसम्म उपमहानगरको वेभसाइडमा उनी नै प्रमुख कार्यकारी अधिकृत रहेको उल्लेख छ । यसअघि ६ वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका भुसाल कम्तीमा एक आर्थिक वर्ष एउटा पालिकामा काम गर्नुपर्ने बताउँदै आएका थिए । भुसालले आफूलाई ‘सिस्टम’ र कानूनभन्दा बाहिर गएर काम गर्न अनावश्यक दबाब बढेपछि काठमाडौं फर्किएको पत्रकारसँग बताएका थिए ।

बुटवल छाड्नु अघि भुसालले निमित्त तोकेका कारण केही दिन अर्का अधिकृत मित्रमणी खनालले आर्थिक गतिबिधि संचालन गरेपनि भुसालले काठमाडौं पुगेपछि खनाललाई आर्थिक कारोबारको अधिकार खोसेपछि उपमहानगरको आर्थिक गतिबिधि ठप्प भएको हो । योजना सम्झौता, सम्पन्न भएका योजनाको भुक्तानी, निर्णय भएर भुक्तानी गर्न बाँकी कार्यहरु रोकिंदा उपमहानगरको समग्र कार्यसम्पादनमा नकारात्मक असर परेको उपमहानगरको कर्मचारी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार वडाहरुबाट सिफारिस भएर आएका आधा दर्जन बढी योजनाहरु सदर हुन नसकेर अलपत्र परेका छन् भने ठेक्कामा गएका फाइलहरु पनि प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर नभएका कारण अलपत्र परेको छ । करार र ज्यालादारी कर्मचारीको तलवसमेत रोक्का भएको छ । अघिल्लो महिनाको तलव बुझेपनि नयाँ प्रमुख नतोकिएकाले चालु महिनाको तलव रोकिनसक्ने एक कर्मचारीले अनुमान गरे ।

मेयर पाण्डेयले अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै प्रमुख प्रशासकीय भुसाल गएको कार्तिक २१ गते काठमाडौं फिर्ता भएका थिए । मेयर पाण्डेले आफू निकटका व्यक्तिहरुलाई कानून विपरीत करारमा नियुक्ति गर्न दबाब दिएको तथा आर्थिक अपारदर्शिता हुने खालका निर्णयहरुमा हस्ताक्षर गर्न दबाब सिर्जना गरेको उपमहानगरका उच्च स्रोतले दाबी गरेको छ । भुसाल आफैले पनि काम गर्ने वातावरण नभएको प्रतिक्रिया दिएका थिए ।

यसैबीच मेयरसँग कुरा नमिलेर फिर्ता गएका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाललाई गृहमन्त्रालयमा पदस्थापन गरिएको छ । संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भुसाललाई गृहमन्त्रालय वा सो अन्तरगत रहनेगरी पदस्थापन गरेको हो ।

मन्त्रालयले २०८० कार्तिक २० गतेको मितिमा चलानी नम्बर ११८४ को पत्रमार्फत बुटवल उपमहानगरलाई समेत बोधार्थ दिँदै भुसालको पदस्थापनबारे जानकारी गराएको छ । नगरप्रमुख पाण्डेयकै रोजाईमा भुसाललाई गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा गराई बुटवल उपमहानगरमा ल्याइएको थियो । नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका मेयर पाण्डेयले कांग्रेसबाट बलियो पहँुच भएका भुसाललाई ल्याएपनि व्यक्तिगत टकराबका कारण उनी लामो समय टिक्न सकेनन् ।

पूर्वीनवलपरासीको देवचुली नगरपालिकाका स्थायी बासिन्दा भुसाल गत स्थानीय तहको निर्वाचनअघि नेपाली कांग्रेसबाट मेयरका बलियो दावेदार थिए । उनले टिकट पाए सेवाबाट राजीनामा दिने तयारीका साथ लागेपनि टिक नपाएपछि यतिकै रोकिएका हुन् । कांग्रेसको त्यति बलियो पात्रलाई बुटवलमा रोक्न नसक्नु मेयरको कमजोरी रहेको कांग्रेस कार्यकर्ताको गुनासो छ । मेयर पाण्डेकै रोजाईमा यसअघि आएका बुटवलमै स्थायी घर भएका कांग्रेस निकट टेकराज पन्थीपनि मेयर पाण्डेकै खटपटका कारण काठमाडौंको गोकर्णेश्वर सरुवा भएका गएका छन् ।

उनकी श्रीमति गंगा पन्थी कांग्रेस बुटवलको सचिव हुन् भने मेयर पाण्डे नगर सभापति हुन् । भुसाल बुटवल आउनुअघि पन्थी प्रमुख प्रशासकीय अधिकृत थिए । उनी २०७९ साउनमा हाजिर भएर २०८० असोज ४ गते काठमाडौंको गोकणेश्वर नगरपालिकामा सरुवा भएका हुन् । बुटवलमा १६ महिना बिताएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले पनि कानूनले गर्न नमिल्ने काममा कर्मचारीलाई काम गर्न ठूलो दबाब दिने गरिएको र बुटवल घरपाई मिलेको मान्छे सरुवा भएर जान रहर नभएको बताएका थिए ।

मेयर पाण्डेको रोजाईमा ल्याइएका र अन्य स्थानीय तहमा राम्रै काम गरेका दुवै कार्यकारी अधिकृत उनीसँगकै खटपटमा बाहिरिएपछि नयाँ ल्याउन पनि समस्या परेको हो । मेयर पाण्डेसँग अहिले उपमहानगरभित्र रहेका अन्य कर्मचारीबीच पनि ठूलो खटपट सुरु भएको छ । उनको पद बहालीसँगै बुटवलमा लामो समय काम गरेका पुराना कर्मचारीले काम छाडेका छन् ।

मेयर पाण्डे निकट कर्मचारीहरु भने यसअघि लामो समय एमालेको नेतृत्वकालमा रमाएका र अहिले काग्रेसको नेतृत्वमा त्यो अनुसार चल्न नपाएर यसो गरेको दावी गरेका छन् । तर कांग्रेस निकट र सत्तारुढ माओवादी निकट कर्मचारी नै असन्तुष्टि भएपछि मेयर निकटका केही कर्मचारीको भनाइ प्रमाणित हुँदैन ।

तर मेयर पाण्डेयले कसैलाई अनुचित काम गर्न नलगाएको बताउँछन् ।

‘उहाँ आफ्नो इच्छाले सामान्य प्रशासन मन्त्रालयको अनुमतिमा बिदामा बस्नुभएको थियो, नगर प्रमुख पाण्डेय भन्छन्- यति धेरै समय प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्दा नगरको काममा प्रभाव परेको थियो, उहाँको गृह मन्त्रालयमा सरुवा भयो भन्ने पत्र आएको छ।’

उनले भुसालको सरुवा भएपछि अर्को प्रमुख प्रशासकीय अधिकृत आउनका लागि खुला भएको र छिटै नै प्रमुख प्रशासकीय अधिकृत आउनेमा आफू विश्वस्त रहेको बताए।

‘उहाँसँग हाम्रो कुनै दुखेसो थिएन, उहाँलाई गैरकानुनी र अनियमित काम गर्नुस् भन्ने सवाल नै रहँदैन, उनले भने,’जनप्रतिनिधिले नीति कार्यक्रम ल्याउने र त्यसको कार्यान्वयनका लागि कर्मचारीले नियमसंगत काम गर्ने हो, कसैलाई पनि अनुचित र गैरकानुनी काम गर्नुस् भन्ने कुरा हुँदैन, कसैले गलत प्रचार गर्ने नियतले अनावश्यक कुराको प्रचार गर्छ भने त्यसमा हाम्रो टिप्पणी रहँदैन।’

उनले वार्षिक बजेट र नीति कार्यक्रमअनुसार कर्मचारीले काम गर्नुपर्ने र तय गरिएको लक्ष्य हासिल गर्नका लागि प्रतिबद्ध हुनुपर्ने बताए।

 


प्रतिक्रिया

One thought on “मेयरकै रोजाईमा आएका पार्टी निकटकै कर्मचारी उनीसँगकै खटपटमा टिकेनन्

  1. काँग्रेसलाई लुटनुपर्छ । अन्यत्र पनि यस्तै छ हालत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर