अफगानिस्तानविरुद्ध नेपाललाई चौथो सफलता
काठमाडौं । एसिसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले चौथो सफलता पाएको छ । नेपालका लागि दीपेश कँडेलले चौथो सफलता दिलाएका हुन् ।
कँडेलले २८औं ओभरको अन्तिम बलमा रहिमुल्लाह जुर्मतीलाई ३५ रनमा सुवास भण्डारीको हातबाट क्याच आउट गराएका हुन् । रहिमुल्लाह र जमशिद जद्रानले अफगानिस्तानका लागि १३४ बलमा ८४ रनको साझेदारी गरे । जमशिद ४७ रन बनाएर क्रिजमा छन् ।
हेमन्त धामीले सातौं ओभरको दोस्रो बलमा खालिद तानिवाललाई १० र तेस्रो बलमा अक्रम मोहम्मदजाईलाई शून्य रनमा आउट गरेका थिए । नेपालका लागि गुल्सन झाले पहिलो सफलता दिलाएका थिए । गुल्सनले अफगानिस्तानका वफिउल्लाह तराखिललाई १५ रनमा आउट गराएका हुन् ।
अफगानिस्तानले २८ ओभर ४ बलको खेल सकिँदा ४ विकेट गुमाउँदै ११८ रन बनाएर खेलिरहेको छ ।