ओलीको टिप्पणी- कथा हालेर मेलम्चीको पानी काठमाडौं पुग्दैन (भिडि‌ओ) – Nepal Press

ओलीको टिप्पणी- कथा हालेर मेलम्चीको पानी काठमाडौं पुग्दैन (भिडि‌ओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

अध्यक्ष ओलीले मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौंवासीका लागि पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने बताए ।

पार्टीको झुलाघाट-चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राको क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था नै नहुने दाबीसमेत गरे ।

एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले भने, ‘यस यात्राको क्रममा अहिलेसम्म लाखौं जनताको सहभागिता, आत्मीयता, माया, स्नेह, सम्मान हामीले प्राप्त गर्‍यौं । मैले मालाहरु हेरें । म यहाँहलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । यस ठाउँको विकास, निर्माणको कुरा हामीलाई थाहा छ । मेलम्ची आयोजनाको कुरा हामीलाई थाहा छ । नेकपा एमालेको सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन । हामी यसलाई तुरुन्तै सफा गरेर हेडलाई सार्नुपर्ने सार्नुपर्‍यो, यसमा कथा हालेर हुन्छ ? सार्नपर्ने हो भने सार्ने, नसार्ने हो भने त्यसलाई तयार पार्ने । मर्मत, सम्भार जे गर्नुपर्छ गर्ने । त्यस ढंगले जाने र जहाँ पानी पस्ने मूल गेट छ, त्यसलाई कतिबेर बन्द गर्ने, कतिबेर खोल्ने भन्ने कुरा पनि सञ्चालकहरुले थाहा पाउनुपर्‍यो ।’

उनले गठबन्धन बन्ने र भत्किने कुनै ठूलो कुरा नभएको जिकिर गरे । ‘तर हामी देश बिग्रन दिँदैनौं । देश अहिले ओरालो लागेको छ । यसलाई रोक्छौं र फेरि सकारात्मक बाटोमा फर्काउँछौं । तपाईंहरु ढुक्क भएर अगाडि बढ्नु भए हुन्छ’, अध्यक्ष ओलीले भने, ‘किनभने देशमा नेकपा एमाले छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएर हिँडेको नेकपा एमाले छ । यहाँको विकास, निर्माण हामीले बुझेका छौं ।’

उनले पार्टीको संकल्प यात्राको क्रममा लाखौं जनताको साथ, माया र सम्मान पाएको भन्दै आभारसमेत व्यक्त गरे । यात्राको क्रममा सोमवार ओलीले दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर