संसद सचिवालयका महासचिव गौतमको राजीनामा स्वीकृत
काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गौतमको राजीनामा स्वीकृत गरेका हुन् ।
गौतमले कार्यकाल सकिनु ८ महिनाअघि नै यही २४ गते राजीनामा दिएका थिए ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई आज कार्यवाहक महासचिव तोकेका थिए । प्रशासनिक नेतृत्वको अभावमा संसद दिवसलगायत संघीय संसदका कामकारबाही प्रभावित भएकोले सभामुखले राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा पाण्डेयलाई कार्यवाहकको जिम्मेवारी दिएको सचिवालयले जनाएको छ ।
गौतमको राजीनामापछि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिसमक्ष पाण्डेयलाई नियुक्तिको सिफारिस गरिसकेका छन् ।
सभामुखले महासचिव नियुक्तिमा भएको ढिलाइबारे चासोसहित राष्ट्रपतिसँग संवाद गर्न चाहेपनि सम्पर्क भइनसकेको बताइएको छ ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल सकिन लागेको र अब आउने अध्यक्ष सत्ता गठबन्धनको हुने भएकाले ८ महिनाअघि नै एमालेनिकट गौतमलाई राजीनामा गराएर आगामी ५ वर्ष पाण्डेयलाई महासचिव बनाउन लागिएको स्रोतले बताएको छ ।