रुपनीका अध्यक्ष दिनेश यादवसहित चार जनामाथि चोरी-डाँका मुद्दा दर्ता गर्न अदालतको आदेश
जनकपुरधाम । सप्तरीको रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादव र निवर्तमान वडाध्यक्ष पीताम्बर यादवसहित चार जनामाथि चोरी डाँका मुद्दा दर्ता हुने भएको छ ।
उच्च अदालत जनकपुर, राजविराज इजलासले गाउँपालिका अध्यक्ष दिनेश र निवर्तमान वडाध्यक्ष पीताम्बर, वडा २ का सरोज यादव र वडा १ का राम यादवमाथि चोरी डाँका मुद्दा दर्ता गर्न परमादेश जारी गरेको हो ।
गाउँपालिका अध्यक्ष दिनेश वडा १ का हुन् । पीताम्बर सोही वडाका निवर्तमान वडाध्यक्ष छन् ।
उनीहरुविरुद्ध रुपनी गाउँपालिका १ कै किरण कुमार जयसवाल जिल्ला प्रहरी कार्यालय सप्तरीमा चोरी डाँका सम्बन्धी जाहेरी दिएका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि उनी उच्च अदालत जनकपुर, राजविराज इजलास पुगेका थिए ।
अदालतका न्यायाधीशद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासले परमादेश जारी गरेको अदालतका सूचना अधिकारी इन्द्रकुमार योङहाङ्गले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, प्रहरी उपरीक्षक, जिल्ला सरकारी वकिल कार्यालय र कार्यालय प्रमुखको नाममा परमादेश जारी गरेको हो ।
गाउँपालिका अध्यक्ष दिनेश, वडाध्यक्ष पीम्बरसहितका चार जनाले हातपात गर्दै मोबाइल र २५ हजार रुपैयाँ चोरी-डाँका गरेको जयसवालको आरोप छ ।
गाउँपालिका अध्यक्ष दिनेशले कमिसन लिएको प्रमाण जयसवाल मोबाइलमा राखेका थिए । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरेका छन् ।
‘आयोगमा उजुरी गर्दा पटक पटक गाली-गलौच गर्दै मार्ने धम्की दिएको तथा गत असार २३ गते राति गाउँपालिकाको स्कार्पीओ दुर्घटना हुँदा सामाजिक सञ्जालमा लेखेकै निहुँमा असार २४ गते बिहान हातपात गर्दै मोबाइल र २५ हजार रुपैयाँ चोरी डाँका गरेको’ जयसवालले अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ ।
सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धी बज्राचार्यले कानून उल्लङ्घन गर्ने जो–कोहीमाथि कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् ।