इतर पक्षको बैठकमा नेताहरूको दबाब- राष्ट्रियसभामा चुनाव हारेका र समानुपातिकमा बसेकालाई ल्याउन हुँदैन
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले चुनावमा हारेका र समानुपातिक सूचीमा बसेकाहरूलाई राष्ट्रियसभामा लान नहुने निष्कर्ष निकालेको छ।
बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको इतर पक्षको भेलामा अधिकांश नेताहरूले यही अडानमा पार्टीमा प्रस्तुत हुन दबाब दिएका हुन्।
राष्ट्रियसभामा अहिलेको आवश्यकतालाई हेरेर निश्चित मापदण्ड बनाएर जानुपर्ने नेता अर्जुनसिंह केसीले बताए।
उनले भने, हिजो चुनाव लडेका, समानुपातिकमा बसेकाहरूलाई अवसर दिने कि नदिने भन्ने विषयमा पनि छलफल गर्नुपर्छ। तर, एउटा निश्चित मापदण्ड होस्। भागबन्डाको नाममा जजसलाई जोजो मन पर्छ त्यो राख्न हुँदैन। योग्य मान्छे नै चाहिन्छ। अहिले देशमा बढेको अराजकता र राजनीतिक सुधारको आवश्यक छ।
उनले आफ्नो समूहमा देखिएको समस्या समाधान गरेर अघि बढ्न नेताहरूले सुझाव दिएको बताए। उनले तोकिएको समयमै महासमितिको बैठक हुनुपर्नेमा जोड दिए।
अर्का नेता सुनिल शर्माले पनि राष्ट्रियसभा नयाँलाई ल्याउनुपर्ने मत राख्छन्।
उनी भन्छन्, पटक पटक मन्त्री भएकाहरू पटक पटक अवसर पाएकाहरूलाई अवसर दिनु हुँदैन। गत निर्वाचनमा टिकट लिएर हारेकाहरूलाई त झन् दिनै हुँदैन। अहिलेसम्म अवसरबाट वञ्चित भएका गाउँमा बसेका उत्पीडितहरूलाई अगाडि ल्याउनुपर्छ भनेका छौँ। नेताहरूले त्यही अनुसार प्रस्तुत हुनुहुन्छ।
उनले नेताहरूप्रति आफूहरूको विश्वासका साथै शंका पनि भएको बताए।
यस्तै अर्का नेता गुरुराज घिमिरेले पनि राष्ट्रियसभामा चुनाव हारेका व्यक्तिहरूलाई लान नहुने बताए।
कांग्रेसबाट यस पटक राष्ट्रियसभा सभापति शेरबहादुर देउवाले चुनाव हारेका कृष्णप्रसाद सिटौला र समानुपातिकमा बसेका गोपालमान श्रेष्ठलाई उम्मेदवार बनाउन लागेको चर्चा छ।
यही चर्चाकाबीच बसेको इतर पक्षको बैठकमा नेताहरूले चुनाव हारेका र समानुपातिकमा बसेकालाई नल्याउन पार्टीमा दबाब बढाउन भनेका छन्।