एलपीएल: क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली क्याम्पस विजयी – Nepal Press

एलपीएल: क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली क्याम्पस विजयी

कैलाली । जिल्लामा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को बुधबार सम्पन्न दुई खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन् ।

समूह ‘डी’ अन्तर्गतको खेलमा एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स-११ सुपर स्टार्सलाई तथा समूह ‘बी’ अन्तर्गतको खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई पराजित गरेका छन् ।

पहिलो खेलमा क्रिकेट एक्सिलेन्सले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई ३ विकेटले पराजित गर्‍यो । जेएस स्पोर्ट्स-११ ले दिएको १३२ रनको लक्ष्य क्रिकेट एक्सिलेन्सले ७ विकेट गुमाएर १८.५ ओभरमा पुरा गर्‍यो ।

क्रिकेट एक्सिलेन्स सेन्टरको लागि योगेश भाटले सर्वाधिक ३० रन बनाए । अर्जुन घर्तीले २२, राजकुमार शाहले २० र सचिन लेखकले १९ रन बनाए ।

जेएस स्पोर्ट्स–११ का बलर साजन बिटालुले ३, विकास सुनारले २ तथा भरत बिस्ट र खगेन्द्र महराले १-१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको जेएस स्पोर्ट्स-११ सुपर स्टार्सले २० ओभरमा ९ विकेटको क्षतिमा १३१ रन बनायो । उसको लागि राज बमले अर्धशतकीय योगदान दिने क्रममा ६१ रन बनाए । उनले ४९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । विकास सुनारले २२, सुनिल चन्दले १६ र साजान बिटालुले १४ रन बनाए ।

प्लेयर अफ द म्याच घोषित क्रिकेट एक्सिलेन्स सेन्टरका बलर अभिनाश बस्यालले ४ विकेट लिए । उनले ४ ओभरमा १ मेडन ओभर खेल्दै ११ रन खर्चिए । मनोज यादवले २ तथा दयानन्द मण्डल र राजकुमार शाहले १-१ विकेट लिए ।

समूह ‘डी’ बाट यसअघि तीन वटै खेलमा जीतको साथ सत्यवती एकेडेमी समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । क्रिकेट एक्सिलेन्स सेन्टर दोस्रो चरण प्रवेश गर्न असफल रह्यो । उसले ३ खेलमा २ जीत र १ हार व्यहोर्‍यो ।

आजको दोस्रो खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई २ रनले पराजित गर्‍यो ।

कैलाली मल्टिपलले दिएको १५० रनको लक्ष्य पछ्याएको शारदा सेकेण्डरी स्कुलले २० ओभर ब्याटिङ गर्दै १४७ रन बनायो ।

शारदा सेकेण्डरी स्कुलको लागि दुई ब्याट्सम्यान शङ्कर बोहरा र सुशान्त कार्कीले अर्धशतक बनाए पनि जीतको लागि पर्याप्त भएन । शंकरले ४३ बलमा ६ चौकाको मद्दतले ५० तथा सुशान्तले २८ बलमा ५ चौका र २ छक्का मद्दतमा अविजित ५१ रन बनाए ।

कैलालीको बलिङमा दीपक कपडेल, लोकेन्द्र खनाल र पारस रोकायाले १-१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको कैलाली मल्टिपल क्याम्पसले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो । कैलालीको लागि अभिषेक कुँवरले सर्वाधिक ५१ रन बनाए । प्लेयर अफ द म्याच घोषित उनले ३९ बलमा ५ चौका र १ छक्कासमेत प्रहार गरे । रोशन रावलले २९, लोकेन्द्र खनालले २१ र प्रवीणसिंह ठकुरीले १५ रन बनाए ।

शारदा सेकेण्डरी स्कुलका सुनिलबहादुर सिंहले ३, अभिषेक मल्लले २ तथा सुनिल सिंह, विश्वास पन्त र सलिन बोहराले १-१ विकेट लिए ।

समूह ‘बि’ बाट यूथ अफ टीकापुर ३ जीत दर्ता गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । कैलाली मल्टिपल क्याम्पसले तीन खेलमा एउटामात्र जीत हात पार्न सक्यो । शारदा सेकेण्डरी तीन वटै खेलमा पराजित भयो ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने तीन टीमको टुङ्गो लागिसकेको छ । सेमिफाइनल पुग्ने अन्तिम टीमको टुङ्गो धनगढी स्पोर्ट्स क्लब र खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरबीचको खेलपछि लाग्नेछ।

उक्त खेलमा धनगढी स्पोर्ट्स क्लब विजयी भए सेमिफाइनल प्रवेश गर्नेछ भने धनगढी पराजित भएको खण्डमा धनगढी र शुक्लाफाँटा ब्ल्याक बक्सबीच नेट रनरेटमा अघि हुने टीम सेमिफाइनल पुग्नेछ ।

समूह ‘ए’ का अन्य दुई टीम कैलाली जिल्ला क्रिकेट क्लब र खप्तड खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भैसकेको छ । लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौं संस्करण हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *