अन्तर्राष्ट्रिय क्रिकेटमा चम्किरहेका नेपाली खेलाडीप्रति विदेशी फ्रेन्चाइजले देखाएनन् रुचि – Nepal Press

अन्तर्राष्ट्रिय क्रिकेटमा चम्किरहेका नेपाली खेलाडीप्रति विदेशी फ्रेन्चाइजले देखाएनन् रुचि

आईपीएलको ड्राफ्टमै परेनन् नेपालका क्रिकेटर, पीएसएलमा पनि अनसोल्ड

काठमाडौं । पछिल्लो समय नेपाली क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय म्याचहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

टी-२० विश्वकपमा स्थान बनाएको तथा एसोसियट राष्ट्रहरूमा दबदबा देखाइरहेको नेपाललाई क्रिकेटको उदीयमान शक्तिका रूपमा हेर्न थालिएको छ ।

नेपाली क्रिकेटले यसरी ख्याति कमाइरहँदा खेलाडीहरूले भने त्यसअनुसारको एक्सपोजर पाउन सकेका छैनन् । खासगर विभिन्न देशका चर्चित फ्रेन्चाइज लिगहरूले अझै पनि नेपाली खेलाडीको उपेक्षा गरिरहेका छन् । यसले नेपालका क्रिकेटप्रेमीलाई निराश बनाएको छ ।

नेपालको सबैभन्दा निकट छिमेकी देश भारतले आयोजना गर्ने टी-२० फ्रेन्चाइज लिग आइपीएल विश्वमै सर्वाधिक चर्चित छ । विश्वभरका खेलाडीहरू आइपीएल खेल्नका लागि लालायित हुन्छन् ।

नेपाली खेलाडीहरूको पनि सपना हो आइपीएल खेल्ने । तर, अहिलेसम्म एकजना सन्दीप लामिछानेबाहेक कसैले पनि आइपीएलको ढोका ढकढकाउन सकेका छैनन् ।

आइपीएल २०२४ का लागि आधा दर्जनभन्दा बढी नेपाली क्रिकेटरले नाम लेखाएका थिए । तर, उनीहरूमध्ये कसैलाई पनि ड्राफ्टमा राखिएन । यो पटकको आइपीएलमा ३३३ खेलाडीहरू ड्राफ्टमा छन्, जसमध्ये २१४ जना भारतीय र अन्य ११९ जना विदेशी हुन् । विदेशी खेलाडीको सूचीमा कोही पनि नेपाली अटाएनन् । आइपीएलको अक्सन १९ डिसेम्बरमा हुँदै छ ।

नेपालबाट आइपीएल खेलेका एक मात्र खेलाडी सन्दीप लामिछाने पनि पछिल्ला संस्करणहरूमा अनुपस्थित छन् । अन्तर्राष्ट्रिय म्याचहरूमा नेपालका तर्फबाट निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आए पनि सन्दीपलाई आइपीएल फ्रेन्चाइजले ध्यान दिन छोडेका छन् । यसपालि त उनी अक्सनको ड्राफ्टमा समेत परेनन् । दिल्ली क्यापिटल्समा ३ सिजन खेलेका सन्दीपलाई त्यसयता कुनै पनि टिमले खरिद गरेका छैनन् ।

अर्को दक्षिण एसियाली क्रिकेट पावरहाउस पाकिस्तानमा हुने लिगमा पनि नेपाली खेलाडीहरूलाई मौका दिइएको छैन । यसपालिको पीएसएलका लागि ८ जना नेपाली खेलाडी अन्तिम ड्राफ्टमा परेका थिए । तर, हिजो भएको अक्सनमा कोही पनि सोल्ड भएनन् ।

सन्दीप लामिछाने प्लाटिनियम क्याटेगोरीमा, गुल्शन झा गोल्डमा तथा देव खना, आसिफ शेख, आरिफ शेख, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी सिल्भर क्याटेगोरीमा थिए । तर, कुनै पनि खेलाडीले उनीहरूमाथि रुचि देखाएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *