ओलीको दाबी- सरकारको कामबाट कांग्रेस नै आजित भइसक्यो (भिडिओ)
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी शक्तिको षड्यन्त्र लगाएर नेकपा एमालेलाई सरकारबाट बलजफ्ती हटाइएको टिप्पणी गरेका छन् ।
मध्यपहाडी संकल्प यात्राको १५औं दिन भोजपुरको पौवादुङ्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित जनभेटघाटमा बोल्दै उनले एमाले सरकारबाट हटेसँगै देश बर्बादीतर्फ गएको जिकिर गरे ।
प्रचण्ड नेतृत्व सरकारको कामबाट गठबन्धनको घटक कांग्रेस नै आजित भइसकेको उनको दाबी छ । देशको अवस्था देखेर कांग्रेसकै नेताहरू ८४ सालको चुनाव पर्खन नसक्ने बताउन थालेको उनको भनाइ छ ।
ओलीले भने, ‘देशको अवस्था नाजुक देखेर, देशको राजनीति बिग्रिएको देखेर, अर्थतन्त्र बिग्रिएको देखेर ,जनताले दु:ख पाएको देखेर सबैमा चिन्ता छाउने स्थिति बनेको छ ।’
उनले विकासको सम्भावनाको खोजीका लागि मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रामा आफूहरू हिँडेको बताएका छन् ।
‘कुनै पनि ठाउँ पछाडि पर्यो, कोही पनि गरिब भयो भने समृद्ध नेपाल सुखी नेपाली हुन सक्दैन । त्यसैले सबैको समस्या र सम्भावनाको प्रत्यक्ष अवलोकन गर्न एमाले यो यात्रामा निस्किएको हो ।’